चिसोका कारण बढ्न थाल्यो विद्युत् खपत, उद्योग बन्द हुँदा हजार मेगावाटकै हाराहारीमा निर्यात

Nov 05, 2025 05:49 PM merolagani



पछिल्ला दिनहरुमा देशभर चिसो बढ्न थालेसँगै विद्युत् खपत क्रमशः बढ्न थालेको छ । गर्मी कम भइ क्रमशः चिसो बढ्न थालेसँगै स्वदेशमा विद्युतकाे खपत बढ्दै गएको हो ।

चाडपर्व सकिएसँगै उद्योग कलकारखाना खुल्ने र चिसोका कारण आम सर्वसाधारणले विद्युत्तीय उपकरणहरुको प्रयोगमा जोड दिँदा विद्युत खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, तिहार यता क्रमशः स्वदेशमा विद्युत् खपत बढ्न थालेको हो । तिहारको लक्ष्मीपूजाको दिनको साँझ देशभर १९५० मेगावाट बिजुलीको खपत भएको थियो । तर, पछिल्ला दिनमा विद्युत् खपत बढेर २१०० देखि २२०० मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले क्रमशः चिसो बढेकाले विद्युत् खपतसमेत बढ्न थालेको बताए । उनका अनुसार, हाल प्राधिकरणको विद्युत् जडित क्षमता ३ हजार ६०२ मेगावाट छ । तर, खोलानालामा पानीको बहाव उल्लेख्य रुपमा बढ्न सकेको छैन् । हाल प्राधिकरणको राष्ट्रिय प्रणालीमा ३ हजार मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको उनले बताए ।

उद्योगमा घट्दो खपतले निर्यातमा सहजता

स्वदेशमा विद्युत खपत बढे पनि प्राधिकरणले एक हजार मेगावाट हाराहारीको बिजुली भारत निर्यात गरिरहेको छ । बिहान र साँझको समयमा बिद्युत निर्यात केही तलमाथि भए पनि हजार मेगावाटकै हाराहारीमा विद्युत् निर्यात भएको ढकालले बताए ।

स्वदेशका उद्योगहरुले पर्याप्त विद्युत खपत नगर्दा सहज रुपमा निर्यात गर्न सकिएको प्राधिकरणले जनाएको छ । ट्रंक तथा डेडिकेटेड महशुल विवादका कारण कतिपय उद्योगमा प्राधिकरणले विद्युत् लाइन काटेको छ । २५ वटा उद्योगमध्ये १० वटा उद्योगमा विद्युत् लाइन पुनः जोडिए पनि अझै १५ वटा उद्योगमा विद्युत् लाइन जोडिएको छैन् ।

नेपालको औद्योगिक घरानाले कम्तीमा ३५० देखि ४०० मेगावाटसम्म विद्युत् खपत गर्ने गरेका छन् । सबैभन्दा बढी विद्युत् खपत गर्ने क्षेत्र उद्योग कलकारखाना बन्द हुँदा पनि बचत बिजुली भारत निर्यात भइरहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।