मुद्दती रित्याएर शेयर बजारमा खन्याउँदा पनि बढ्न सकेन म्युचुअल फन्डकाे न्याभ

Nov 06, 2025 06:17 AM Merolagani



नेप्से परिसूचक घट्दो क्रममा रहेसँगै म्युचुअल फन्डहरुको प्रर्दशन पनि खराब हुन थालेको छ ।म्युचुअल फन्डहरुले होल्ड गर्ने कम्पनीको शेयर मूल्यको घटबढको आधारमा मापन हुने म्युचुअल फन्डहरुको खुद सम्पत्ति मूल्य (न्याभ) भदौको तुलनामा असोज महिनामा औसतमा ०.६००४ विन्दुले घटेको छ ।

धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएका क्लोज इन्डेड र ओपन इन्डेड गरी कुल ५२ वटा म्युचुअल फन्डहरुको असोज महिनाको औसत न्याभ ९ रुपैयाँ ६८ पैसा मात्रै रहेको छ । म्युचुअल फन्डहरुमध्ये अधिकांश अंकित मूल्य १० रुपैयाँ भन्दा पनि तल रहेका छन् ।

भदौ महिनामा म्युचुअल फन्डको औसत न्याभ १० रुपैयाँ २८ पैसा थियो । ५२ वटा म्युचुअल फन्डमा ८ वटाको मात्रै न्याभ १० रुपैयाँ भन्दा माथि रहेको छ । यसको मतलब म्युचुअल फन्डमा लगानी गर्ने अधिकांश लगानीकर्ता अहिले घाटामै रहेका छन् । यद्यपि गत आवको नाफाबाट ३९ वटा म्युचुअल फन्डले न्यूनतम ५ देखि अधिकतम २१ प्रतिशतसम्म नगद लाभांश दिएका थिए। असोज महिनामा सबैभन्दा धेरै न्याभ प्रभु स्मार्ट फन्डको ११ रुपैयाँ ३० पैसा र सबैभन्दा कम न्याभ गरिमा समृद्धि योजनाको ८ रुपैयाँ ९५ पैसा रहेको छ।

म्युचुअल फन्डहरुले बजार घट्दै गए अनुसार लगानी पनि वृद्धि गरेको देखिंदैन । तथ्यांकअनुसार असोज महिनाको भदौ महिनाको तुलनामा २ दशमलब ७८ प्रतिशत कम लगानी नेप्सेमा सूचीकृत कम्पनीहरुमा गरेका छन् भने सूचीकृत नभएका कम्पनीहरुमा पनि म्युचुअल फन्डको लगानी १ दशमलब ७७ प्रतिशतले घटेको देखिएको छ ।

मुद्दतीमा लगानी शुन्य तिर, औसत बैंक ब्यालेन्स २२ प्रतिशतले बढ्यो

मुद्दती निक्षेपमा निरन्तरको गिरावटसँगै म्युचुअल फन्डहरुले मुद्दतीमा पैसा राख्न छोडेका छन् । ५२ वटा म्युचुअल फन्डमध्ये असोज महिनामा १७ वटा म्युचुअल फन्डले मात्रै १ अर्ब ३६ करोड ९० लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा राखेका छन जुन समयवाधि सकिएपछि नवीकरण हुने छैन । तथ्यांक अनुसार भदौ महिनाका म्युचुअल फन्डहरुको मुद्दती निक्षेपमा लगानी १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ थियो । असोज महिनामा अघिल्लो महिनाको तुलनामा यो १० दशमलब ९५ प्रतिशतले घटेको छ ।
असोज मात्रै एउटा नयाँ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको हुँदा असोज महिनामा म्युचुअल फन्डको बैंक मौज्दाज भदौ महिनाको तुलनामा २२ दशमलब ८४ प्रतिशतले बढेको देखिएको छ । 

म्युचुअल फन्डहरुले धमाधम शेयर नै किनेको भए पनि निररन्तर नेप्से परिसूचक घट्दा न्याभ समेत घटेको देखिएको एक क्यापिटलका कर्मचारीले बताए । असोज महिनाको तथ्यांक अनुसार ५२ वटा म्युचुअल फन्डमध्ये १७ वटाको मात्रै बैंक ब्यालेन्स बढेको छ भने बाँकी सबैको घटेको छ । सबैभन्दा धेरै बैंक ब्यालेन्स बढाउने म्युचुअल फन्डमा एनआईसी एसिया सेलेक्ट–३० को १ करोड बैंक ब्यालेन्स बढेर असोजमा ४ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंक ब्यालेन्स ह्वात्तै घटेको म्युचुअल फन्डमा भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ परेको छ । उक्त म्युचुअल फन्डको भदौमा १२ करोड ३४ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेकामा असोज मसान्तमा आउँदा घटेर १ करोड १० लाखमा सीमित भएको छ ।

क्लोज इन्डेड म्युचुअल फन्ड शून्य दशमलब ६ अंकले घट्यो

नेप्सेमा सूचीकृत ४० वटा म्युचुअल फन्ड मध्ये ७ वटा म्युचुअल फन्डको मात्रै असोजको न्याभ १० रुपैयाँ भन्दा माथि छ । सबैभन्दा धेरै न्याभ प्रभु सेलेक्ट फन्डको रहेको छ भने गरिमा समृद्धि योजनाको न्याभ सबैभन्दा कम ८ रुपैयाँ ९५ पैसा रहेको छ । भदौ महिनाको तुलनामा सबै नै म्युचुअल फन्डको न्याभ घटेको छ ।

एसआइपीको न्याभ पनि १० रुपैयाँ मुनि

निश्चित अवधिमा केही रकम जम्मा गरेर किनिने ओपन इन्डेड म्युचुअल फन्ड (एसआईपी)को न्याभ समेत १० रुपैयाँ मुनि नै रहेको छ । सेबोनबाट स्वीकृती प्राप्त १२ वटा एसआइपीमध्ये कुमारी सुनौलो लगानी योजनाको मात्रै न्याभ १० रुपैयाँ मात्रै भन्दा माथि रहेको छ । एसआईपीको न्याभ गत भदौको तुलनामा औसतमा शून्य दशमलब शून्य ५ अंकले घटेको छ । एसआईपीमध्ये सबैभन्दा न्यून न्याभमा प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको न्याभ ९ रुपैयाँ ४० पैसा रहेको छ । सबैभन्दा ठूलो फन्ड भएको एनआईबीएल सहभागिता फन्डको न्याभ ९ रुपैयाँ ४२ पैसा छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।