दोस्रो बजारमा सूचीकृत भएर इकाई कारोबार हुँदै आएका ४० म्यूचुअल फण्डहरु मध्येमा २० वटा फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरिसकेका छन् । यस वर्ष लाभांश वितरण गर्न सक्ने फण्डहरु सम्पूर्णले लाभांश वितरण गरिसकेका हुन् ।
नेप्सेमा सूचीकृत कम्पनीको तुलनामा म्युचुअल फण्डहरुको लाभांश वितरण छिटो हुने गरेको हो । म्युचुअल फण्डले फण्ड व्यवस्थापन बोर्डको स्वीकृति पछि वितरण गर्ने एनआईसी एसिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले बताए ।
आर्थिक वर्षको सुरुमा नै फण्डको लेखापरीक्षण हुन्छ । लेखापरीक्षण अनुसार खर्च र आम्दानी अनुसार लाभांश वितरण लागि पूँजी छुट्याई बोर्डबाट स्वीकृत गरिन्छ । सूचीकृत कम्पनीले जस्तो फण्डले वार्षिक सधारण सभाको स्वीकृती पर्खनु नपर्ने भएकाले छिटो हुने गरेको हो । सिधै बोर्ड भित्रको निर्णयबाट बुक क्लोज मिति तय गरेर लाभांश वितरण गर्ने गरेको रायमाझीको भनाइ छ ।
कम्पनीले वितरण गर्ने लाभांश वार्षिक साधारण सभाले स्वीकृत गर्नुपर्ने भएकाले ढिलो हुने गरेको उनकाे तर्क छ । तर चालु आर्थिक वर्ष सुरु भएको झण्डै चार महिना भइसेको छ । नेपाल स्टक एक्सचञ्जमा सूचीकृत भएका २७ वटा कम्पनीको मात्रै वार्षिक साधारण सभा आह्वान भएको छ । विगतका वर्षहरुमा पनि साधारण सभामा यसै गरि ढिला हुने गरेको थियो । कम्पनीहरुले यस वर्ष पनि सभा बोलाउन ढिलाइ गरेका हुन् ।

कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा सक्नु पर्ने हुन्छ । सो अवधिमा सभा नसके कम्पनी रजिस्ट्रारको कार्यालयले जरीवाना तिराउँछ । यता शेयर बजारमा सूचीकृत कम्पनीहरुले ६ महिनाम भित्र साधारण सभा नसके नेप्सेले संस्थागत सुशासन नभएको कम्पनीको सूची तल्लो वर्गमा वर्गीकरण गर्छ । कम्पनीले वार्षिक साधारण सभा बोलाउन ढिला गर्दा कम्पनीको लाभांश वितरणमा समेत ढिलाइ भएको हो ।
दोस्रो बजारमा सूचीकृत भएका ३४ वटा कम्पनीले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका छन् । जस मध्येमा ८ वाणिज्य बैक, १० वटा हाइड्रोपावर, ५ विकास बैंक रहेका छन् । त्यसैगरी लगानी समूहका नेपाल इन्फ्रास्टक्चर बैंक, हाथवेय इन्भेष्टमेन्ट कम्पनीले लाभांश वितरण गरिसकेका छन् । उत्पादन तथा प्रशोधन समूहका हिमालयन डिस्ट्रिलरी, यूनिलिभर नेपाल र नेपाल ल्यूबको प्रतिफल वितरण भइसकेको छ । आरएसडीसी लघुवित्त, गुँरास लघुवित्त मञ्जुश्री फाइनान्स, आइसीएफसी फाईनान्स, सोल्टी होटल र मुक्तिनाथ कृषि कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण गरेका हुन् ।
हालसम्म लभांश वितरण गर्ने कम्पनी लगानीकर्ताहरुले रुचाएका कम्पनीहरु हुन् । लाभांश वितरण गर्न सक्ने क्षमताका कम्पनीले लाभाश वितरण र वार्षिक साधारण सभा समयमा नै सम्पन्न गरी लगानीकर्ता प्रति उत्तरदायी हुने गरेको लगानीकर्ताहरुको बुझाई छ ।
दोस्रो बजारमा लगानीकर्तामा विश्वासको कमी भएको छ । सूचीकृत कम्पनीले समयमा लाभांश वितरणको घोषणा गरेर लगानीकर्तामा विश्वास बढाउने काम गर्नु पर्ने लगानीकर्ता ललित ढुङ्गानले बताए । मुलुकको राजनीति परिस्थितिले बजारको माहोल विगारेको छ । कम्पनीहरुको प्रगति विगतको जस्तो छैन । यद्यपि जति छ समयमा नै वितरण गर्ने हो भने लगानीकर्ताले समयमै प्रतिफल प्राप्त गर्ने थिए र कम्पनीसँगको विश्वास बढेर जाने ढुङ्गानाको बुझाई छ ।
सूचीकृत कम्पनीहरुमा अन्तिम समयमा मात्रै लाभांश घोषणा गर्ने र साधारणसभा गर्ने प्रचलन विगतका वर्षहरुदेखि नै चलिरहेको छ । हरेक वर्ष कम्पनीहरुले पुस अन्तिममा मात्रै साधारण सभा बोलाउने गरेका छन् । यस वर्षपनि कम्पनीहरु वार्षिक साधारण सभा गर्न पुसको अन्तिम मिति नै पर्खेरको बुझिन्छ । गत वर्ष पुस महिनामा मात्रै साधारण सभा परिपाटीले लगानीकर्ताको वार्षिक साधारण सभा भाग लिने हकको हनन भएको छ । एकैदिन धेरै कम्पनीको साधारण सभा हुँदा आफुले लगानी गरेको कम्पनीको साधारण सभामा भाग लिन नपाएका हुन् । समयमा नै लाभांश वितरणको घोषणा गरेर वार्षिक साधारण भएमा बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरुको बुझाई छ ।