सोमबार नेप्से परिसूचक ५.८० अंक घटेर २५६०.२९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ४० हजार ५९१ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी सबै कम्पनीहरु हालै मात्र नेप्सेमा सूचीकृत कम्पनीहरु हुन्। त्यस्तै, यस दिन सिटि होटलको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४८ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ भने १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको ऋणपत्र किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको हो। लगानी र व्यापार उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।