वाणिज्य बैंकहरूले कात्तिकका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ५.७२ प्रतिशतमा झरेको छ । यो २०७८ साउन यताकै सस्तो हो । वाणिज्य बैंकहरुको औसत बेस रेट कोभिडकै समयमा पनि ६.५९ प्रतिशतभन्दा तल आएको छैन ।
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महगिँदै गएको थियो । सो बेला औसतमा ६.५३ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.८५ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ५.७२ प्रतिशतमा झरेको हो ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रुपमा डा. विश्वनाथ पौडेल आएपछि जारी गरेको पहिलो मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमा दुवै घटाए जसले गर्दा वाणिज्य बैंकहरुले पनि निक्षेपमा दिने ब्याज दर सोही अनुसार ०.२५ प्रतिशतले घटाए । निक्षेपको ब्याज दर घट्दा बैंकहरुको बेसरेट झन घट्न पुगि बेस रेट तल आएको हो ।
बैंकमा पैसा थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याज घटाउँदै आएका छन् । विगतमा तरलता अभावका कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकमा पुगेको थियो ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकको बेसरेट ६ प्रतिशत माथि छ । १० वटा बैंकको बेस रेट ५ देखि ६ को बीचमा छ भने ३ वटा बैंकको बेस रेट ५ प्रतिशतभन्दा पनि मुनि छ ।
सबैभन्दा सस्तो ऋण कुन बैंकबाट ?
बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधार दरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याज दर तोक्ने गरेका छन् । बेसरेट भन्दा पनि मुनि गएर बैंकले कर्जा प्रवाह गर्दैन ।
अहिले विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट सबैभन्दा कम ४.६० प्रतिशत रहेको छ । यो बैंकले सबैभन्दा सस्तोमा ऋण प्रवाह गर्न सक्दछ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेस रेट दोस्रो सबैभन्दा कम रहेको हुँदा यो बैंकले पनि सुलभ दरमै ऋण दिन सक्छ । राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ४.६४ प्रतिशत रहेको छ । अर्का विदेशी लगानी भएको एभरेष्ट बैंकको बेस रेट ४.८८ प्रतिशत मात्रै छ । बेस रेटमा अहिले १ देखि २ प्रतिशत प्रिमियम जोडेर नै ऋण प्रवाह गर्दा पनि ऋणी पाइरहेको छैन ।
५ देखि ६ प्रतिशतको हाराहारीमा बेस रेट रहेको नेपाल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, नबिल बैंक, सानिमा बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक र नेपाल एसबीआई बैंक रहेका छन् । बेस रेट ६ प्रतिशत भन्दा मुनि भएका यी बैकहरुमा न्यूनतम ७ प्रतिशतसम्म ऋण पाउन सक्ने अवस्था रहेको छ ।
पछिल्लो समय सबैभन्दा बेस रेट उच्च भएको बैंकमा एनआईसी एसिया बैंक परेको छ भने प्रभु बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंक क्रमशः उच्च बेस रेट भएका बैंकहरुमा परेको छ । यी बैंकहरुबाट ऋण लिँदा अहिले तुलनात्मक रुपमा अन्य बैंकमा भन्दा ऋण महँगो पर्ने गर्दछ ।
पछिल्लो समय बैकहरुले स्थिर ब्याज दर र लचक ब्याज दर दुई योजनामा ग्राहकलाई ऋण प्रवाह गर्ने गरेका छन् । अहिले स्थिर ब्याज दरमै कतिपय बैंकले ८ देखि १० प्रतिशत ब्याज दरमा घर कर्जा प्रदान गरिरहेका छन् जुन दीर्घकालीन प्रकृतिको हुने गर्दछ । स्थिर ब्याज दरमा ऋण प्राप्त गर्दा आगामी दिनमा बैंकको बेस रेट उच्च भए पनि बैकले सोही दरमा नै ब्याज लिने गर्दछ । लचकदार ब्याज दरमा योजनामा भने बैंकको बेस रेट अनुसार ग्राहकले तिर्ने ब्याज दर समेत फरक पर्ने गर्दछ ।