बिहारमा जन सुरज पार्टीको पराजयले नेपालका राजनीतिक पार्टीहरुलाई दिएको सन्देश

Nov 14, 2025 05:37 PM mero lagani



सामाजिक संजालको होहल्ला, समाजिक लोकप्रियतावादको वाहवाही र चुनावी परिणामको बीचमा कति फरक हुन्छ भन्ने कुरा शुक्रबार सार्वजनिक भएको भारतको विहार राज्यको विधान सभा निर्वाचन परिणामले देखाएको छ ।

२०२५ को बिहार विधानसभा चुनावको एउटा मुख्य पात्र थिए, राष्ट्रिय राजनीतिक रणनीतिकार प्रशान्त किशोर (पीके) र उनको राजनीतिक पार्टी जन सुरज ।


पिके केवल विहारको लागि मात्र नभएर सिंगै भारतको लागि एउटा त्यस्तो चुनावी अनुहार मानिन्थे, जसकाे विश्लेषण र भविश्वाणी अकाट्य सत्य मानिन्थ्यो । त्यहीकारण यो चुनाव अगाडि उनले खोलेको पार्टीले चमत्कारिक परिणाम ल्याउने र पुराना भनिएका पार्टीहरुलाई गम्भिर धक्का दिने विश्लेषण गरिन्थ्यो । मतदान पछि सार्वजनिक गरिएका मत सर्भेक्षणहरुले पनि त्यस्तो देखाएका थिए ।

तर, व्यापक प्रचार र व्यापक आधारभूत कार्यको बावजुद, जन सुरजका उम्मेदवारहरूले एक ठाउँमा पनि जित्न सकेनन्, बरु २४३ सिटको लागि भएको निर्वाचनमा अधिकाँश स्थानमा उक्त पार्टीका उम्मेद्वारहरुको जमानत जफत भयो । विजेपी र जनता दल युनाइटेटको गठवन्धले दुई तिहाई सिटमा जीत हासिल गरेको छ ।

जन सुरज पार्टीले बिहारमा वैकल्पिक राजनीतिक मोडेल प्रस्तुत गर्ने प्रयास गरेको थियो । आफ्नो मुद्दा स्थापित गर्नको लागि पैदल मार्च, बुद्धिजीवीहरूसँगको बैठक र स्थानीय मुद्दाहरूमा केन्द्रित थियो। पार्टीका कार्यक्रमहरुमा मानिसहरुको ठूलो भिड पनि लाग्ने गरेको थियो ।

तर उनीसंग समाज बुझेका कार्यकर्ताहरुको संख्या कम थियो । उनी आफूले विहारको माटो बुझेको त बताउँथे, तर वास्तविक रुपमा कार्यकर्ता परिचालन गर्न सकेका थिएनन्, सबै उनी एकजनामा निर्भर थियो ।

प्रशान्त किशोरले धेरै पटक सार्वजनिक रूपमा घोषणा गरेका छन् कि यदि उनी बिहारको राजनीतिमा ठूलो परिवर्तन ल्याउन असमर्थ भए वा उनको प्रयासले सार्वजनिक समर्थन प्राप्त गरेन भने, उनी सक्रिय राजनीतिबाट अवकाश लिनेछन्।

‘यदि मेरो यो प्रयास असफल भयो र जनताले हामीलाई समर्थन गरेन भने, म राजनीतिबाट अवकाश लिनेछु,’ प्रशान्त किशोरले पटक पटक भनेका थिए ।

अब चुनावी परिणामले उनलाई आफ्नै प्रश्नको जवाफ खोज्ने स्थानमा पुर्याएको छ । यो चुनावी परिणामको स्पष्ट संन्देश के हो भने भारतमा गठबन्धनको राजनीति प्रबल छ । र, सामाजिक संजालको वाहवाही र लोकप्रियताले चुनावमा हल्ला मच्चाउन सक्छ, परिणाममा फरक पार्न सक्दैन ।

वर्षाैंदेखि स्थापित पार्टी र नेताहरुलाई विस्थापन गर्न सहज हुँदैन । जनतालाई विश्वासमा लिन र त्यसलाई भोटमा बदल्नको लागि स्पष्ट राजनीतिक एजेण्डासहित समस्या समाधानको ठोस खाका नभएमा राजनीतिमा टिक्न चुनौतिपूर्ण हुन्छ ।

नेपालमा पनि कुनै अमुक ‘ग्ल्यामरस पात्र’ को आडमा वैकल्पिक राजनीतिलाई अगाडि बढाउनको लागि अनेक पक्षबाट प्रयास भइरहेको बेला विहारको चुनावी परिणाम र जन सुरज पार्टीको नियतिले धेरै कुराको संकेत गर्ने देखिन्छ ।