तर राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सबै सीमा खारेज गरे पनि त्यसले भने दोस्रो बजारमा खासै फरक नपारेको विश्लेषण भइरहेको छ। खासमा बैंकले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै शेयर धितो कर्जा दिन सक्छन्। जसले गर्दा अहिले सीमा खोलिए पनि कोर क्यापिटलको सीमाले गर्दा खासै फरक नपारेको विश्लेषण हुन थालेको हो। “राष्ट्र बैंकले ऋणको सीमा खुला गरे पनि त्यसले फरक पार्दैन। कोर क्यापिटलको सीमाले गर्दा बैंक थप ऋण दिने स्थितिमा छैनन्। त्यसले गर्दा कोर क्यापिटलको सीमा पनि बढाउनु पर्छ,” लगानीकर्ता सुशील लुनियाले मेरो लगानीसँग भने।

लुनियाले मात्रै होइन सामाजिक सञ्जाल मार्फत पनि केही लगानीकर्ताले उही विषय उठाइरहेका छन्। के कोर क्यापिटलको सीमाले फरक नपारेकै हो ? मेरो लगानीले वाणिज्य बैंकहरुको कोर क्यापिटल, त्यसको ४० प्रतिशत हुन आउने रकम र अहिलेसम्म बैंकले प्रवाह गरेको मार्जिन कर्जालाई गणना गरेर हेरेको छ । यसरी हेर्दा केही बैंकको शेयर धितो कर्जा दिने क्षमता निक्कै कम देखिएको छ भने केही बैंकको क्षमता अझै पनि निक्कै धेरै देखिएको छ।
दोस्रो बजारमा सबैभन्दा बढी शेयर धितो कर्जा दिने बैंक नबिल हो। उसले अहिलेसम्म १६ अर्ब ७६ करोड रुपैयाँ ऋण दिइसकेको छ। उसको कोर क्यापिटल अनुसार बैंकले २० अर्ब ४१ करोड रुपैयाँसम्म दिन सक्छ। त्यस अनुसार अब बैंकले तीन अर्ब ६४ करोडको हाराहरीमा मात्रै ऋण प्रवाह गर्न सक्छ। जुन कुल क्षमताको १७.८७ प्रतिशत मात्रै हो।
यसैगरी आफ्नो क्षमताको सबैभन्दा बढी शेयर धितो कर्जा दिएको बैंक सिद्धार्थ हो। उसको कुल क्षमता १० अर्ब ५५ करोड हो। बैंकले अहिलेसम्म ९ अर्ब २८ करोड रुपैयाँ प्रवाह गरिसकेको छ। अब बैंकले कुल एक अर्ब २७ करोड रुपैयाँ मात्रै दिन सक्छ। त्यो भनेको १२.०५ प्रतिशत हो।
सबै वाणिज्य बैंकको कोर क्यापिटल ६ खर्ब रुपैयाँ छ। त्यसको ४० प्रतिशत मात्रै बैंकले शेयर धितो कर्जा दिन सक्छन्। त्यस अनुसार बैंकहरुले दुई खर्ब ४० अर्ब रुपैयाँसम्म शेयर धितो कर्जा दिन सक्छन्। अहिलेसम्म वाणिज्य बैकहरुले कुल एक खर्ब १६ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह गरेका छन्। त्यस अनुसार अझै पनि वाणिज्य बैंकहरुले एक खर्ब २३ अर्ब रुपैयाँ थप ऋण दिन सक्छन्। त्यो भनेको ५१.३५ प्रतिशत हो।
तल फोटोमा हेर्नुहोस् कुन वाणिज्य बैंकको कति क्षमता ?

औसतमा हेर्दा बैंकहरुले अझै आधा भन्दा बढी रकम प्रवाह गर्न बाँकी नै देखिन्छ। तर सबै वाणिज्य बैंकले शेयर धितो ऋण दिँदैनन्। केहीले निक्कै सहज तरिकाले दिन्छन् भने केही बैंकको प्रक्रियागत झन्झट हुने गर्छ। जसले गर्दा ती बैंकहरुमा मार्जिन कर्जा लिने निक्कै कम ग्राहक छन् भने सहजै ऋण दिनेमा औसत भन्दा बढी ऋण माग्ने ग्राहक पुग्ने गरेका छन्।
शेयर धितोमा ऋण नदिने बैंक स्टयाण्डर्ड चार्टर्ड बैंक हो। उसले शेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन। त्यसैगरि नेपाल एसबिआइ बैंकले सबैभन्दा थोरै ऋण प्रवाह गरेको छ। उसले आफ्नो क्षमताको ९१ प्रतिशत भन्दा बढी थप ऋण प्रवाह गर्न सक्छ।
केन्द्रीय बैंकका अनुसार सम्पूर्ण बैंक वित्तीय संस्थाले असोजसम्म मार्जिन प्रकृतिको कर्जा मात्रै कुल एक खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ प्रवाह गरेका छन्। गत असार मसान्तसम्म उक्त प्रकृतिको कर्जा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ मात्रै थियो। जुन तीन प्रतिशतको वृद्धि हो। गएको तीन महिनामा मात्रै बैंक वित्तीय संस्थाले चार अर्ब २४ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन्।