केन्द्रीय बैंकको सहज नीति, न्यून ब्याजदर र पर्याप्त तरलताको अवस्था रहँदा रहँदै बजार बढ्न नसक्नुमा जानकारहरू आश्चर्यमा छन् । लगानीकर्ताहरूले बजारको वास्तविक अवस्था र सम्भावनालाई आत्मसाथ गर्नुभन्दा कसैले भनेको आधारमा लगानी गर्ने परिपाटी बन्दा बजारमा आत्मविश्वासको कमी भएको विश्लेषण गरिएको छ ।

अहिलेको अवस्थामा मार्जिन प्रकृतिको शेयर धितो कर्जा सर्वाधिक गएको छ । केन्द्रीय बैंकका अनुसार असोजसम्म एक खर्ब ४४ अर्ब ९५ रुपैयाँ करोड रुपैयाँको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ । मार्जिन कर्जा बढ्ने क्रम जारी छ । न्यून ब्याज दर भएकाले मार्जिन कर्जा बढेको छ । यद्यपि बजारमा सकारात्मक प्रभाव भने पर्न नसकेको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जङ्ग जिसीले बताए ।
अहिलेको बजारमा विवेकशील भएर गरिएको लगानीबाट लगानीकर्ता कहिले पछुताउनु नपर्ने जिसीको दाबी छ । हिजोको दिनमा बजार बिगार्यो भनेका नीतिहरू सहज भएका छन् । बैंकबाट प्राप्त हुने ब्याज कम छ । सस्तो ब्याजमा कर्जा उपलब्ध छ । अहिलेको बजारमा कम लगानीबाट पनि उच्च प्रतिफल प्राप्त गर्न सकिने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्नका लागि सहज बाटो बनाई दिएको छ । यसले बजारमा बिस्तारै बैंकको लगानी बढ्ने छ । यस्ता नीतिगत सहजताले बजारमा लगानीकर्ताको मनोबल बढाउने विश्वास गरिएको छ ।
लगानीका लागि अनुकूल आर्थिक वातावरण बनेको छ । जसले बजारलाई स्वाभाविक रूपमा माथि लैजानु पर्ने हो । अहिले लगानीकर्ताहरू अफवाहमा विश्वास गरेर लगानीको रणनीति बनाउँदै छन्। सोही कारण लगानीकर्ताहरू बजारको सम्भावना र आधारभूत बलिया पक्ष नकार्दै छन् । पछिल्लो समयमा बजार नबढ्नुमा लगानीकर्ता नै दोषी रहेको जिसीको बुझाई छ ।
कम्पनीको वास्तविक अवस्था भन्दा अफवाहमा कारोबार गर्ने प्रवृत्ति बढ्दो छ । सोही कारण लगानीकर्ताको मनोबल कमजोर भएको छ । बजारमा कम्पनीको अवस्था अनुसारको मूल्य पाएका छैनन् । बजारमा राम्रो प्रतिफल वितरण गरेका कम्पनीहरूमा लगानीकर्ता ध्यान पुगेको छैन । अफवाह र हल्लाको भरमा कमजोर कम्पनी उचाल्न खोजिएको छ । सोही कारण बजारले दिगो गति लिन नसकेको अनुभवी लगानीकर्ता उपेन्द्र पाठकको बुझाई छ ।
कमजोर नेटवर्थ भएका कम्पनीहरूको मूल्य कृत्रिम रूपमा उचालिएको छ । लगानीकर्ता वास्तविकता बुझ्नुको सट्टा अरूले भनेको आधारमा कारोबार गरेका छन् । लगानीकर्ताले दोस्रो बजारमा हुने जोखिमलाई मध्यनजर नगरी कारोबार गरेका छन् । न्यून नेटवर्थ भएका कम्पनीको मूल्य दुई हजार माथि कारोबार हुँदा सम्भावना देख्ने लगानीकर्ताले राम्रो प्रतिफल दिने कम्पनीलाई नकारी राखेको देखिन्छ । बजार घट्दा लगानीकर्ताहरू त्रसित भएर शेयर बेच्छन्, र जब बजार अत्यधिक बढ्छ, तब तिनै लगानीकर्ता अन्धाधुन्ध खरिद गर्न तर्फ लाग्छन्। आफ्नो लगानीको सुरक्षा लगानीकर्ता स्वयमले गर्नुपर्ने पाठकको बुझाई छ । विवेकी लगानीकर्ताले सम्भावना र जोखिमलाई सन्तुलनमा राख्छन् । लगानीकर्ताले कारोबार गर्दा विवेक नपुर्याउदा आधारभूत पक्ष नकारेका हुन् ।
अहिले बजार बढ्न नसक्नुमा राजनीतिलाई धेरै दोषी ठहर्याएको देखिन्छ । बजारले राजनीतिक अस्थिरतालाई नकारिसकेको छ । वर्तमान अवस्थामा ठुला राजनीतिक दलहरू आन्तरिक रूपमा चुनावको तयारीमा लागेको जिसीको बुझाई छ । राजनीतिक कारणले बजारलाई गम्भीर रूपमा प्रभाव पार्ने सम्भावना कम छ । बजारलाई चलायमान बनाउने जिम्मा लगानीकर्ताको व्यवहारमा निर्भर रहेको उनको बुझाई छ । हाल बजारमा लगानीकर्ताको मनोबलको सङ्कट छ । लगानीकर्ताले हल्ला र नकारात्मक कुरालाई छाडेर कम्पनीको आन्तरिक अवस्था केलाएर कारोबार नगरेसम्म यो बजारको सुधार हुन कठिन हुने लगानीकर्ताहरूको बुझाई छ