उनले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे । उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए । उनले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए ।

उनले भने, ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौं । हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई संगठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भुमिकामा छौं । हामीले हरेक परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ । अहिले जुन ढंगले हाम्रो संविधानमाथि आक्रक्रमण भएको छ । संविधानलाई घाइते तुल्याइएको छ । अनधिकृत रुपमा संसद विघटन गरिएको छ । र सदनभन्दा बाहिरबाट जुन ढंगको सरकार गठन गरिएको छ । यो सबै प्रतिगामी क्रियाकलाहरुका सम्बन्धमा हामी संगठित रुपमा जनताका माझमा जाने। जनतालाई आन्दोलित गर्ने र निर्णायक आन्दोलनको बलमा हामीले प्रतिनिधि सभाको पुनःस्थापना गर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । हामीले यसबीचमा धेरै महत्वपूर्ण छलफल पनि गरेका छौं ।’
उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए ।