नयाँ-पुराना धेरै पार्टीहरु आफै भित्रको विवादमा रुमल्लिइरहेको बेला श्रम संस्कृति पार्टीले अपनाएको आक्रमक शैलीले गरेको संकेत

Dec 08, 2025 03:35 PM mero lagani



पुराना र नयाँ भनिएका धेरै पार्टीहरु आफै-आफैमा रुमल्लिइरहेको बेला जेनजी विद्रोहपछि गठन भएको श्रम संस्कृति पार्टीले भने आक्रामकरुपमा संगठन विस्तार र चुनावको प्रचार प्रसारमा लागेको छ  ।

त्यसैक्रममा सोमबार काठमाडाैं उपत्यकामा शक्ति प्रदर्शन गरेको छ । भरखरै गठन भएको पार्टीको प्रदर्शन भए पनि उस्को आक्रामक प्रचार अभियान र संगठन विस्तारले नयाँ-पुराना सबै पार्टीहरुलाई झस्काईदिएको छ ।

पुराना भनिएका पार्टीहरुमध्ये नेकपा एमाले र नेपाली कांग्रेस महाधिवेशनको माहौलमा छन् । एमालेको महाधिवेशन यसैसाता हुँदैछ भने नेपाली कांग्रेसले पनि पुस अन्तिम साता महाधिवेशन गर्ने घोषणा गरेको छ । महाधिवेशनको तयारी र जेनजी आन्दोलनले गुमाएको शाखलाई फिर्ता गर्ने भन्दै एमालेले केही समय पहिलेदेखि नै देशव्यापीरुपमा संगठनलाई चलायनमान बनाएको छ र महाधिवेशनपछि नयाँ जोशका साथ चुनावको तयारीमा लाग्ने नेताहरुले बताएका छन् । जबकी खुलारुपमा भने एमालेले अझै पनि फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन नै नहुने र संसद पुनर्स्थापना हुने दावी गर्दै आएको छ । आफू पछि पछि नेपाली कांग्रेसले पनि संसद पुनर्स्थापनाको लागि सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि खासगरि अध्यक्ष केपी शर्मा ओली पक्षीय एमाले नेतृत्व पङित उत्साहित छ ।

पार्टी नेताहरु प्रतिनिधि सभा पुनर्स्थापना नभएर सर्वाेच्च अदालतले चुनावकै पक्षमा फैसला दिएमा त्यसलाई पनि स्वीकार गरेर आफूहरु चुनावी अभियानमा लाग्ने बताउँछन् । तर, जेनजी आन्दोलनको मुख्य निशानामा परेको एमालेमा महाधिवेशनको क्रममा भइरहेको गुटको विवाद र झडपहरुले आउँदो चुनावमा व्यापकरुपमा अन्तरघात हुन सक्ने र त्यसले पार्टीको अवस्था थप कमजोर हुन सक्ने चिन्ता कतिपय नेता कार्यकर्तामा देखिएको छ ।

विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको अवस्था पनि एमालेको जस्तै छ । उस्ले एकातर्फ प्रतिनिधि सभा पुनर्स्थापनाको लागि सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ भने अर्काेतर्फ लामो रस्साकस्सीपछि पुस अन्तिमसाता महाधिवेशन गर्ने गरि मिति तोकेको छ । तर, कांग्रेसकै कतिपय नेताहरु महाधिवेशन हुने कुरामै आश्वस्त हुन सकेका छैनन् । महाधिवेशन तोकिए मितिमा भए पनि, नभए पनि चुनावमा त्यसको प्रभाव पर्ने र पार्टी भित्रको अन्तर कलहले व्यापकरुपमा अन्तरघात हुन सक्ने आशंकाले पार्टीका नेता कार्यकर्ताहरुमा एक प्रकारको भय सृजना गरेको छ ।

झण्डै एक दर्जन पार्टीहरु मिलेर बनेको नयाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देशव्यापीरुपमा ‘एकता सभा’ गरिरहेको छ । तर, पार्टीहरु एकताको नाममा उक्त पार्टीमा जोडिएका पार्टीहरुबाट विद्रोह गरेर कैंयौं नयाँ पार्टीहरु गठन भएका छन् भने कतिपय नेता कार्यकर्ता मूल घर भन्दै एमालेमा फर्किरहेका छन् । यस्ले गर्दा उक्त पार्टीको लागि पनि प्रतिनिधि सभाको चुनाव सहज छैन भन्ने देखिन्छ, जुनकुरा उक्त पार्टीका नेता कार्यकर्ताहरु पनि स्वीकार गर्छन् ।

पुरानो भनिएको राप्रपादेखि २०७९ को आम निर्वाचनबाट उदाएको र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था पनि एमाले-कांग्रेस र नेकपा भन्दा फरक देखिदैंन । राप्रपामा लामो समयदेखिको अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल समशेर राणाबीचको विवाद कहिले उग्ररुपमा त कहिले भित्रभित्रै आगाे दन्किइरहेको छ ।

नयाँ भनिएको रास्वपा पनि अन्तरद्धन्दमा फसिरहेको छ । सहकारी ठगी प्रकरणमा जेलमा रहेका रवि लामिछानेको विषयमै पार्टी भित्र विवाद देखिदैं आएको छ । त्यहीक्रममा सुमना श्रेष्ठ र सन्तोष परियार जस्ता चर्चित नेताहरुले पार्टी परित्याग गरिसकेका छन् भने प्रदेश र जिल्ला तहका पनि थुप्रै नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरिसकेका छन् र त्यो क्रम चलिरहेको छ । गत आम निर्वाचनमा खासै कुनै प्रभाव देखाउन नसकेको विवेकशील साझा पार्टीलाई गाभेर पार्टी छोड्ने नेता कार्यकर्ताहरुको ‘भरपाई’ गरिरहेको उक्त पार्टीका नेता कार्यकर्ताहरुले दावी गरिरहेका छन् ।

तर, ‘सहकारी ठग’को आरोप र त्यही आरोपमा जेल परेका सभापति लामिछानेको मुद्दाको असर आम चुनावमा कति पर्छ, त्यसको आंकलन स्वंय पार्टी नेताहरुले पनि गर्न सकिरहेका छैनन् । त्यहीकारण पार्टीले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि उज्यालो नेपाल र श्रम संस्कृति पार्टीसम्म एकता र सहकार्यको लागि प्रयास गरिरहेको छ । तर, एकले अर्काको अस्तित्व स्वीकार नगर्दा त्यो प्रयास सफल हुन सकेको छैन र सफल हुने सम्भावना पनि कम हुँदै गएको बताइएको छ ।

व्यापक तयारी पछि गठन भएको भनिएको उर्जा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले श्रम संस्कृति पार्टीदेखि रास्वपालगायतका विभिन्न पार्टीसंग एकिकरण र सहकार्यको लागि प्रयास गरिरहेको छ । तर, अहिलेसम्म दलित अभियन्ता मानिने खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल’संग मात्र चुनावी सहकार्यको सहमति गरेको छ । अन्य पार्टीहरुसंग पटक पटकको एकता र सहकार्यको लागि गरिएको प्रयास सफल हुन सकेको छैन । बरु यही बीचमा श्रम संस्कृति पार्टीसंगको सम्वन्ध तिक्ततामा बदलिएको छ । उक्त पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपालका ‘डिफ्याक्टो लिडर’ मानिने उर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा आफ्नो पाटींका कार्यक्रमहरु विथोल्ने प्रयास भैरहेको आरोप लगाउँदै आइरहेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टी भित्रै पनि विवाद सृजना भएको छ । त्यसैक्रममा हेटौंडामा सर्वसाधारणको घर भत्काइएको भन्दै केन्द्रिय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएर पार्टी भित्रको विवादलाई सतहमा ल्याइदिएकी छन् ।

यसरी हेर्दा नयाँ पुराना कैंयौ पार्टीहरु कुनै न कुनै विवाद र झमेलामा परिरहेको र नयाँ भनिएका धेरै पार्टीहरुले संगठन विस्तारको लागि देखिने गरि कुनै अभियान संचालन गरिरहेको देखिैंदैन । यस्तो अवस्थामा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने उस्को ‘आधारभूमी’ मानिएको कोशी प्रदेशमा आक्रामक सभाहरु आयोजना गर्दै संगठन विस्तार गरेपछि काठमाडाैंमा प्रवेश गरेको छ र अब उक्त पार्टी देशका पश्चिम भागमा संगठन विस्तारमा लाग्ने नेताहरु बताउँछन् ।

तोकिएको मितिमा चुनाव भएमा अझै करिब साढे २ महिना भित्र हुने चुनावको अवधिसम्म उक्त पार्टीले देशभरमा कति संगठन विस्तार गर्ला र कति मतदातालाई आफूतर्फ आकर्षित गरेर चुनावी अंक गणितमा कति प्रभाव पार्ला ? त्यो अहिले नै भन्न सकिदैन । तर, उक्त पार्टीका नेता कार्यकर्ताहरुको आक्रामकता र संगठन परिचालनको शैली हेर्दा धेरैको ‘केही त गर्छ कि क्या हो’ भन्ने आशंका उत्पन्न गराउन सफल भएको छ । सोमबारको काठमाडाैंकाे र्याली र सभाले पनि उक्त पार्टी प्रतिको आकर्षणलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।