भ्रष्टाचार नियन्त्रणलगायतका माग पुरा गर्नेतर्फ कुनै पहल नगरिएको भन्दै आफूहरुले सत्याग्रह शुरु गर्न लागेको जानकारी उक्त समुह स्रोतले दिएको छ । मंसिर ७ गते आन्दोलन गर्ने घोषणा गरेपछि सरकारको सहमतिमा आन्दोलन फिर्ता लिएको दुर्गा प्रसाईं नेतृत्व राष्ट्र र राष्ट्रियता बचाउ अभियानले समेत सत्याग्रहलाई अघोषित तर सक्रियरुपमा साथ दिन लागेको बताइएको छ ।
‘सत्याग्रह कतिसम्म जान्छ भन्ने एकिन छैन । त्यसैले शुरुमा उहाँहरुले अप्रत्यक्ष र अघोषितरुपमा रुपमा साथ दिनुहुन्छ । अवस्था हेरेर पछि पछि खुलारुपमा साथ दिने परिस्थिति आए त्यहीअनुसार हुन्छ,’ समुहका एक सदस्यले भने ।
उनकाअनुसार सत्याग्रह मंसिर २५ गतेदेखि शुरु गर्ने मोटामोटी सहमति भए पनि एकिन मिति भने एक-दुई दिन भित्रै घोषणा गरिनेछ ।
‘मिति तय भइसकेको छैन, भरेभोलिसम्म तय हुन्छ’, समूहकै एक अभियन्ताले भने, ‘अहिलेको लागि २५ गतेदेखि सुरु गर्ने कि भन्ने मोटामोटी कुरा भएको छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको आधारभुत माग समेत सम्बोधन गर्न नसकेको आरोप लगाउँदै आएको उक्त समूहले फागुन २१ गते हुने भनिएको चुनाव असम्भव रहेको दावी गर्दै आएको छ । यस्तो दावी गरेकै कारण सरकारले आफूहरुलाई ‘बाइपास’ गर्न खोजेको मिराज समूहको बुझाई छ । सरकारलाई घुँडा टेकाउनको लागि भए पनि उनीहरुले सत्याग्रह सुरु गर्न लागेको बताइन्छ ।