पाइलटको विदा विवादले भारतीय उड्ययन क्षेत्र अस्तव्यस्त, समस्या समाधान नगरे इन्डिगो एयरलाइन्सलाई ‘इतिहासले सम्झिने गरि कारवाही गर्ने’ चेतावनी

Dec 08, 2025 05:41 PM mero lagani



भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले ‘सरकारको आदेशअनुसार’ भन्दै लागू गरेको एउटा नियमका कारण सवा महिनादेखि भारतीय हवाइसेवा अस्तव्यस्त भएको छ ।

भारतीय विमान कम्पनीहरुले गर्ने कुल उडानको झण्डै ६५ प्रतिशत हिस्सा ओग्टने इन्डिगोले नोभेम्बर १ अगाडिसम्म दैनिक २३ सय भन्दा धेरै उडान गर्दै आएको थियो । तर, नोभेम्बर १ देखि यता दैनिक ५-६ सय उडान मात्र गर्दै आएको छ भने अरु उडान क्यान्सिल गर्दै आएको छ । यसबाट दैनिक लाखौं मानिसहरु प्रभावित भएका छन् भने राजनीतिदेखि आर्थिक क्षेत्रसम्मलाई यो घटनाले तताएको छ ।

 

सोमबार संसदको तल्लो सदन राज्यसभामा बोल्दै नागरिक उड्डयन मन्त्री राममोहन नायडुले इन्डिगोको चालक दल रोस्टरिङ र आन्तरिक योजना प्रणालीमा समस्याका कारण संकट आएको र यात्रुको विचल्ली भएको बताए । उनले एयरलायन्सले अब पनि समस्या समाधान नगरे ‘इतिहासले सम्झिने गरि कारवाही गर्ने’ दावी समेत गरेका छन् ।

कांग्रेसलगायतका विपक्षी पार्टीहरुले भने सरकारको गैह्रजिम्मेवार व्यवहारका कारण समस्या चर्किएको बताउँदै यो समस्या इन्डिगोको व्यवस्थपनको कारण नभए मोदी सरकारको नीतिहरुका कारण भएको भन्दै आपत्ती जनाइरहेका छन् ।

विवाद के हो ?

नोभेम्बर १ देखि पाइलटहरूको ड्युटी मापदण्डको पूर्ण कार्यान्वयनका कारण यो मुद्दा सुरु भएको हो । सरकारले पाइलट, क्रु मेम्बर तथा एयर होस्टेसहरुको काम गर्ने समय र सेवा सुविधाको बारेमा मापदण्ड बनाएपछि त्यो लागू नगर्ने कम्पनीको अडान र लागू गर्नु पर्ने पाइलट लगायत सम्वद्ध कर्मचारीहरुको अडानका कारण विवाद चर्किएको थियो ।

एयरलाइन्सले यो लागू भएमा व्यापक उडान रद्द गर्ने चेतावनी दिएको थियो । पाइलटहरुले एयरलाइन्सको उक्त चेतावनी विरुद्ध दिल्ली उच्च अदालतमा दिएको उजुरीमा अदालतले गत अप्रिलमा पाइलटहरुको पक्षमा फैसला गर्दै यसलाई दुई चरणमा लागू गर्नुपर्ने आदेश दिएको थियो थियो । जुलाई १ देखि साप्ताहिक विश्रामको समय ३६ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याउने लगायतका धेरै प्रावधानहरू लागू गरिएको थियो । त्यस्तै रातको समयमा पाइलटको प्रयोगमा प्रतिबन्ध लगाउने बाँकी प्रावधान नोभेम्बर १ देखि लागू हुने भएको थियो ।


पहिलेदेखि ‘ओभरलोड’ काम गरिरहेका पाइलटहरुले अदालतको आदेशअनुसार साप्ताहिकरुपमा ३६ घण्टाबाट ४८ घण्टा आराम लिन थालेपछि कम्पनीले उडान तालिका र पाइलटहरुको व्यवस्थापन मिलाउन सकिरहेको छैन । त्यसैले उस्ले आफ्ना पाइलटहरुलाई यात्रु र कम्पनीको विचल्लीलाई हेरेर आरामको समयमा कटौति गर्न अनुरोध गरिरहेको छ । तर पाइलटहरूले भने अदालतले तोकेको बराबर आरामको समय उपयोग गर्नु आफूहरुको अधिकार भएको भन्दै कम्पनीले नियतबस नै उडान समय तालिका र पाइलटहरुको व्यवस्थापन नगरेको आरोप लगाउँदै आएका छन् ।

स्मरण रहोस ४३७ वटा जहाज रहेको इन्डिगो एयरमा हाल ४१ हजार ४९ जना कर्मचारी रहेका छन् । त्यसमध्ये ५४५६ जना पाइलट र १० हजार २१२ जना क्याबिन क्रु रहेका छन् ।