विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

Dec 08, 2025 09:19 PM merolagani



सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न गर्न आदेश दिएको छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । त्यतिबेला शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरिएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट पदावधी छँदै हटाइएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

शाक्यले १३ कात्तिकमा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । उनले प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सिलवाललगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।