क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
योजनाको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ १८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटि ३रेटिङ्ग प्रदान गरेको छ।