केही दिन अघिसम्म आफ्नो परिवार र साथीभाई बाहेक अरुले नचिन्ने मोहम्मद दीपक यतिबेला भारतको सम्भवतः सबैभन्दा चर्चित पात्र बनेका छन्, जस्को विषयमा सामाजिक संजालदेखि संसदसम्म हंगामा भैरहेको छ । उनको बारेमा सोधखोज नगर्ने भारतीयहरु कमै मात्र देखिएका छन् ।
घटना करिब २ साता अघि २६ जनवरीको हो । नेपालको पश्चिमी सीमासँग जोडिएको भारतीय राज्य उत्तराखण्डको कोटद्वारमा दीपकले संचालन गरेको बाबा स्कूल ड्रेस एन्ड म्याचिङ सेन्टरमा एकाएक कट्टरपन्थी हिन्दू समूह बजरङ्ग दलका केही कार्यकर्ता आए र उनीहरुले ‘मुस्लिम भएर बाबा शब्द जोडेर पसलको नाम किन राखेको भन्दै’ पसलको नाम परिवर्तन गर्न दवाव दिए । खास गरी हिन्दू समुदायमा धार्मिक गुरुहरूलाई बाबा भनेर बोलाउने गरिन्छ। सँगसँगै आफ्ना बुवालाई पनि बाबा भनिन्छ । त्यही कारण देखाएर बजरङ्ग दलका कार्यकर्ताहरूले कोटद्वारमा बाबा भनेर स्थानीय हनुमानको मन्दिर सिद्धबाली बाबालाई मात्रै चिनिने तर्क गरे। उनीहरूले उक्त नाम मुस्लिम व्यक्तिको पसलमा राख्न नमिल्ने जिकिर गरे ।
हिन्दू र मुस्लिम नामको अनौठो संयोजन भएको मोहम्मद दीपकको नाम सुनेरै आश्चर्यमा परेका तर बजरंग दलका कार्यकर्ता त्यसदिन त्यहाँबाट हिंडे । तर, केही दिनपछि १५० जनाभन्दा धेरै बजरङ दलका समर्थकहरू फेरि आएर दीपकको पसल र नजिकै रहेको उनको जिमखानाबाहिर प्रदर्शन गर्न थाले ।
पसलको नाम परिवर्तन नगरे ‘जे पनि हुन सक्ने’ भन्दै चेतावनी दिए । दीपकले ‘लोकतान्त्रिक भारतमा शब्दमा कसैको अधिकार नहुने’ भन्दै त्यसको कडा प्रतिकार गरे । उनले भारत धार्मिक सहिष्णु देश हो र सबै धर्मको उत्तिकै अधिकार छ भन्ने देखाउनको लागि आफ्नो नाम मोहम्मद दीपक राखेको र पसलको नाममा बाबा शब्द राख्नुको कारण पनि त्यही नै भएको दावी गरे ।
खास घटना यति मात्रै हो ।
तर, घटना त्यतिमा मात्र सिमित रहेन । विवाद यति बढ्यो कि त्यसले संसदमा हंगामा मच्चायो । सामाजिक संजाललाई ततायो र अझै त्यो स्थिति कायम छ । इन्स्टाग्राममा उनका फलोअर ह्वात्तै बढेका छन् । ‘म हिन्दू होइन, म मुस्लिम होइन, म शिख होइन, म क्रिश्चिअन पनि होइन। सबैभन्दा पहिले त म मानवजाति हुँ।’ जनवरी २९मा उनले पोष्ट गरेको भिडिओ ५० लाख भन्दा धेरैले हेरेका छन्।
फेसबुकमा पनि त्यस्तै अवस्था छ । उनलाई पछ्याउने, उनका पोष्टहरु शेयर गर्दै समर्थन गर्ने र विरोध गर्नेहरु हवात्तै बढेका छन् ।
आफूलाई निरन्तर धम्की आएपछि दीपक अहमदले दिएको उजुरीको आधारमा प्रहरीले केही व्यक्तिहरू विरुद्ध मुद्दा चलाएको छ। दुई जना हिन्दू अभियानकर्मीको उजुरीपछि दीपकविरुद्ध पनि मुद्दा चलाइएको छ।
त्यो प्रदर्शन र प्रहरीको कदम भारतका धेरै सञ्चारमाध्यमका ‘हेडलाइन’ बने । भारतीय संसद लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले दीपकलाई भारतको नायक भन्दै प्रशंसा गरे । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले ‘घृणाको बजारमा दीपकले माया फैलाइरहेको’ भन्दै देशमा धेरै ‘दीपकहरू’ चाहिएको उल्लेख गरेका छन्।
उनले दीपकको सुरक्षाको विषयमा चिन्ता व्यक्त गर्दै संसदमै आवाज उठाए । त्यसपछि यस विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच चर्काे वाद विवाद नै भयो ।
कांग्रेस पार्टीका सांसद जोन ब्रिटाससहितका नेताहरुको एउटा टोली नै दीपकको घर गएर भेटघाट गर्यो र धार्मिक अतिवादीहरु विरुद्ध उनले उठाएको सानो तर निकै महत्वपूर्ण प्रयासको लागि आभार व्यक्त गर्यो ।
भारतीय पत्रिका इन्डिअन एक्सप्रेसले उनको समर्थनमा एउटा लामो लेख नै लेखेको छ । लेखमा भनिएको छ—घृणा र असहिष्णुताले अतिक्रमण गरेको समाजमा दीपकका शब्द औषधिका सुईजसरी आए । ती शब्दले हामीलाई ुवास्तविक भारतुको बोध गराए । जहाँ सबै जनालाई बाँच्ने अधिकार छ, आफ्नो मर्जीअनुसार सास फेर्ने सुविधा छ र आफ्नो पसलको नाम आफूलाई आकर्षक राखेको राख्न पाउने छुट छ ।
उता, आलोचकहरूले आफ्नो आस्थाप्रति गद्दारी गरेको भन्दै दीपकलाई सामाजिक सञ्जालमा अपमानजनक सन्देशहरू पठाएका छन्। उनलाई कतिपयले ज्यान मार्ने धम्कीसमेत दिएका छन्। गत बुधवार उनले एक्समा यस्तै एक धम्कीपूर्ण फोन कलको रेकर्डिङ पोस्ट गरेका थिए।
‘बजरङ्ग दलले तिमीलाई यत्तिकै छोड्न हुँदैन थियो ‘ म तिमीलाई छिट्टै पाठ पढाउने छु’ फोन गर्ने व्यक्तिले उनलाई भन्छन्।
दीपकका अनुसार यस्ता विषयले उनको परिवारमा भने चिन्ता र डर थपेको छ।
‘म अहिले ठूलो मानसिक दबावमा छु’ उनले भनेका छन् ।
कुनै समय मानिसहरूले भरिने गरेको उनको जिमखाना अहिले रित्तो हुन थालेको छ। यसले उनलाई आर्थिक चिन्ता पनि थपेको छ।
दीपक आर्थिक सङ्कटमा पर्न लागेको खबर फैलिएसँगै भारतका अन्य ठाउँका मानिसहरू पनि उनको जिमको ग्राहक बन्न थालेका छन् । उनलाई सहयोग गर्न तयार हुनेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ ।
धम्की र चिन्ताबीच पनि दीपक आफ्नो बुझाइमा दृढ छन्। भविष्यमा यस्तै अवस्था आयो भने पनि आफू गलत कुराको विरुद्धमा उभिने उनले बताए।