आफूहरुको जीउज्यानको रक्षा गर्न हारगुहार गरेपछि इजरायल सरकारले उनीहरुलाई ‘पुर्खाको जन्मस्थलमा’बसाई सराई गर्न अनुमति दिएको हो । त्यसको लागि इजरायल सरकारले ५२ करोड ८० लाख सेकेल (इजरायली मुद्रा) अर्थात झण्डै दुई करोड ८८ लाख डलर खर्च गर्ने भएको छ । उनीहरु इजरायल फर्केपछि त्यो विश्वकै सबैभन्दा वृहत ‘पुनर्मिलन’ हुने दावी गरिएको छ ।

यहुदी धर्मावलम्बी भित्रको बेने मेनाशे समुदाय भारतको उत्तरपूर्वी राज्यहरू मणिपुर र मिजोरममा इसापुर्व ५ सय शताब्दीभन्दा अघि देखि नै बसोबास गर्दै आएको पाइन्छ । बेनी मेनाशे जनजातिको विश्वास छ कि २७०० वर्ष पहिले जब नव-असीरियन साम्राज्यले उत्तरी इजरायलमाथि विजय प्राप्त गर्यो, उनीहरूलाई त्यहाँबाट निष्कासित गरिएपछि सुरक्षित बसोबास स्थल खोज्दै भारत आएका थिए । उनीहरुले आफ्ना पूर्वज इजरायलबाट आएको दावी गर्छन्, उनीहरुको संस्कार र संस्कृति पनि इजरायलका यहुदीहरुसँग मेल खान्छ ।
मिजोरम र मणिपुरका आदिबासी समुदाय नै भएपनि आफूहरु यहुदी भएकै कारण समस्यामा पर्ने गरेको दावी उनीहरुले गर्दै आएका थिए ।
मणिपुर र मिजोरममा चल्दै आएको जातीय हिंसाको मुख्य शिकार नै आफूहरु हुँदै आएको यहुदी समुदायका अगुवाहरुको भनाइ छ । त्यस्तै यहुदी भएकै कारण आफूहरुलाई सरकारी जागिरमासमेत भेदभाव गर्ने गरिएको गुनासो पनि उनीहरुले गर्दै आइरहेका छन् ।
वर्षाैदेखि त्यस्तो गुनासो गर्दै आएपछि इजरायल सरकारले उनीहरुलाई घर फर्काउनको लागि सहमति दिएको हो । त्यसको लागि उत्तरी इजरायलको गालील क्षेत्रमा बसोबास गराउने गरि सरकारले तयारी गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २०२६ देखि २०३० को अवधिमा ती सबैलाई इजरायलमा स्थानन्तरण गरिने घोषणा गरेका छन् । साथै उनले उनीहरुलाई तत्कालै इजरायलको नागरिकता दिइने र रोजगारीको सुनिश्चितता पनि गरिने बताएका छन् ।