विभागले बुधवार गरेको अनुगमनका क्रममा सबैभन्दा बढी जरिवाना काठमाडौँ र ललितपुरका तीन वटा प्लास्टिक उद्योगलाई गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ बमोजिम आवश्यक मापदण्ड पूरा नगरेको र कसुर गरेको पाइएपछि काठमाडौँ महानगरपालिका–१६ स्थित प्रशन्ना प्लास्टिक उद्योग र श्री विन्दवासिनी प्लास्टिक उद्योग तथा ललितपुर महानगरपालिका–२ स्थित राधाकृष्ण प्लास्टिक उद्योगलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो। यी उद्योगहरूलाई ऐनको दफा ३९ (१) (ख) बमोजिम तत्कालै जरिवाना गरी आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ।
यसै गरी, विभागले काठमाडौँको इन्द्रचोकमा रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। जरिवानाका अतिरिक्त विभागले वातावरण र उपभोक्ता हितलाई ध्यानमा राख्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोलाहरूको बिक्री वितरणमा समेत कडाइ गरेको छ। अनुगमनका क्रममा मेरो नेपाल इन्टरप्राइजेज,आर आर स्टोर, एस.के इन्टरप्राइजेज, कमलामाई स्टोर, सुमित प्लास्टिक पसल, पूर्ण ट्रेडिङ इन्टरनेशनल, बस्नेत प्लास्टिक स्टोर, चण्डीका प्रिन्ट प्याक र लकेश्वर प्लास्टिक प्रोडक्सनलाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाहरू बिक्री वितरण नगर्न कडा निर्देशन दिइएको छ। यस्तै, धुलिखेलमा रहेको राधाकृष्ण बिस्कुट इन्डस्ट्रिजलाई भने विभागले सुधारका लागि सामान्य निर्देशन दिएको छ। विभागले स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।