पूँजी बजारमार्फत विद्युत् उत्पादनका परियोजनाहरूमा लगानी प्रवर्द्धन गर्ने, नियामक समन्वय बढाउने र नीतिगत सामञ्जस्ययता कायम गर्ने उद्देश्यले आयोजित उक्त बैठकले नेपालको जलविद्युत् क्षेत्र र शेयर बजार बिचको सम्बन्धलाई थप संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ। बैठकमा दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहेकोमा दुवै निकायका प्रमुखहरूले जोड दिएका छन्।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विद्युत् नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालसहित दुवै निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले पूँजी बजार र विद्युत् क्षेत्र बिचको सम्बन्धलाई थप प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधिहरू सम्मिलित एउटा संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा गहन छलफल गरेको छ।
उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय र विद्यमान नियम कानुनमा थप परिमार्जनका लागि ठोस उपायहरू पहिचान गर्नेछ। बैठकमा बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी. तथा आयोगका तर्फबाट सदस्यहरू डा. मधुसूदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस सहकार्यले विशेष गरी जलविद्युत् कम्पनीहरूका शेयरमा लगानी गर्ने सर्वसाधारणको सुरक्षा र बजारको स्थायित्वमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ।