पाल्पा सिमेन्टको पहिलो दिनमै मागभन्दा बढी आवेदन, सुपर खुदीको ७ गुणा र विजया लघुवित्तको ५७ गुणा बढी आवेदन

Jan 09, 2026 06:37 PM merolagani



धितोपत्र बजारमा आज तीन वटा फरक कम्पनीहरूको शेयर निष्कासन प्रक्रियामा महत्त्वपूर्ण फेरबदल भएको छ। आजबाट पाल्पा सिमेन्टको शेयर निष्कासन सुरु भएको छ भने सुपर खुदी हाइड्रोपावरको शेयर भर्ने आज अन्तिम दिन हो। त्यस्तै, विजया लघुवित्तको एफपिओ निष्कासन हिजो नै बन्द भइसकेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पाल्पा सिमेन्टले आज (पुस २५) देखि ५ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ। निष्कासनको पहिलो दिन नै यसमा उत्साहजनक आकर्षण देखिएको छ। आज साँझ ५:४८ बजेसम्मको तथ्याङ्क अनुसार ३२ हजार ९ सय ६८ जना आवेदकबाट ५ लाख ७७ हजार १ सय २० कित्ताका लागि आवेदन परेको छ। यो माग गरिएको कित्ताको तुलनामा १.०३ गुणा बढी हो। यो निष्कासन आगामी माघ १ गतेसम्म खुला रहनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासित  सुपर खुदी हाइड्रोपावरको   १ लाख ५५ हजार कित्ता सेयर भर्ने आज अन्तिम दिन रहेको थियो। यस कम्पनीमा मागभन्दा उल्लेख्य बढी आवेदन परेको छ। ७५ हजार ५ सय २५ जना आवेदकले कुल ११ लाख ३१ हजार ७ सय ३० कित्ताका लागि आवेदन दिएका छन्। यो माग गरिएको १ लाख ५५ हजार कित्ताको तुलनामा ७.३ गुणा बढी हो।


विजया लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेको ४ लाख ६६ हजार ८ सय १७ कित्ता एफपिओ भर्ने म्याद हिजो (पुस २४ गते) नै सकिएको छ। अन्तिम तथ्याङ्क अनुसार यसमा २३ लाख ४ सय ५० जना आवेदकले २ करोड ६६ लाख ८० हजार १६० कित्ताका लागि आवेदन दिएका छन्। यो माग गरिएको कित्ताको तुलनामा ५७.१५ गुणा बढी हो। कम्पनीको एफपिओ निष्कासन हिजोबाटै समाप्त भइसकेकोले अब लगानीकर्ताहरू बाँडफाँडको पर्खाइमा रहेका छन्।

यी तीन वटै निष्कासनमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ, जसले पूँजी बजारमा नयाँ कम्पनीहरूप्रतिको विश्वासलाई थप पुष्टि गरेको छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।