बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।
यस अघि अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको छ ।
सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको छ ।
बन्द सत्रमा दुई जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
‘बन्द सत्रमा दुई वटा महामन्त्रीले पेस गर्ने प्रस्ताव पास हुन्छन् । दुई प्रस्तावमा चार विषय छन्’, उनले भने, ‘ती विषयहरूमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन समेटिएका छन् ।’
उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताए ।