गभर्नर र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता, सुशासन र भ्रष्टाचार निदानका विषयमा छलफल

Jan 12, 2026 03:55 PM merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसन प्रमुख जोनाथन पाम्पोलिनाबीच आज एक महत्त्वपूर्ण भेटवार्ता भएको छ। 

'गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक' (सुशासन र भ्रष्टाचार निदान) मिसनका लागि नेपाल आएका पाम्पोलिना र गभर्नर पौडेलबीच राष्ट्र बैंकमा प्रारम्भिक बैठक सम्पन्न भएको हो ।

बैठकका क्रममा आईएमएफले सञ्चालन गर्न लागेको 'गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक' का मुख्य उद्देश्यहरू र यसको कार्यक्षेत्रका बारेमा विस्तृत छलफल भएको छ । मिसन प्रमुख पाम्पोलिनाले यस निदानले नेपालको वित्तीय सुशासन, पारदर्शिता र संस्थागत संरचनामा रहेका चुनौतीहरूको पहिचान गरी सुधारका लागि आवश्यक मार्गचित्र तयार पार्नेबारे जानकारी दिएका थिए ।

भेटका अवसरमा गभर्नर प्रा.डा. पौडेलले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रलाई थप पारदर्शी र सुशासित बनाउन राष्ट्र बैंक सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे। उनले आईएमएफको यस किसिमको प्राविधिक विश्लेषणले नेपालको नीतिगत सुधार र भ्रष्टाचार नियन्त्रणका प्रयासहरूलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।

आईएमएफको यो मिशनले विशेष गरी सार्वजनिक वित्त व्यवस्थापन, वित्तीय क्षेत्रको नियमन, र भ्रष्टाचार विरोधी कानुनी संरचनाको सुदृढीकरणमा केन्द्रित रहेर अध्ययन गर्ने बताइएको छ। यस अध्ययनबाट प्राप्त सुझावहरूले नेपालको दीर्घकालीन आर्थिक स्थिरता र वैदेशिक लगानीको वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।