बजार साइडवेजमा चल्दै गर्दा पनि केही कम्पनीका लगानीकर्ताले भने मज्जाले पैसा बनाइरहेका छन्। विशेषगरी पछिल्लो समय मात्रै सुचीकृत भएका कम्पनीहरुमा मात्रै लगानीकर्ता लागेका छन् जसले गर्दा हरेक दिनको टप गेनर र टप टर्नओभरमा नयाँ कम्पनीहरु नै पर्ने गरका छन् ।
सोमबारको शेयर बजार ५.५४ अंकले घटेर २६३५ विन्दुमा नेप्से बन्द भयो । बजार बन्द हुँदा पनि एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड सर्किट लेभलमा कारोबार भयो । एसवाई प्यानेल १० प्रतिशतले बढ्दा सोमबार मात्रै १२५.८० रुपैयाँ बढेर १३८३.८० पैसामा कारोबार बन्द भएको छ । सोमबार मात्रै एसवाई प्यानलको ३ लाख १८ हजार ४११ कित्ता शेयर कारोबार हुँदा ४२ करोड २२ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो रकम सोमबारको कारोबारमा सबैभन्दा धेरै रकमको कारोबार हो ।
त्यस्तै श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको पनि १० प्रतिशतले शेयर मूल्य बढदा अघिल्लो कारोबार दिन भन्दा १ सय १ रुपैयाँ ३० पैसाले मूल्य बढेर ११ सय १४ रुपैयाँ ३० पैसा पुगेको छ ।
टप गेनरमा एसवाई प्यानल र श्रीनगर मात्रै होेइन, बुंगल हाइड्रोपावर, झापा इनर्जी र सान्भि पावर गरेर टप १० गेनरमध्ये ६ वटा कम्पनी नयाँ आइपीओ आएकै कम्पनी परेका छन् ।
त्यसैगरी ओम मेगाश्री फर्मासिटिकल्स, बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, प्योर इनर्जी, विकास हाइड्रोपावरको शेयर समेत ३ प्रतिशतभन्दा बढीले बढेका छन् ।
धेरै रकमको शेयर कारोबारमा समेत एसवाई प्यानलसँगै श्रीनगर एग्रीटेक, सान्भि इनर्जी, बन्दीपुर केबुलकार र सागर डिष्टिलरी परेका छन् ।
लगानीकर्ताले राष्ट्र बैक र धितोपत्र बोर्डमा गएर मागेका सम्पूर्ण मागहरु पुरा भए पनि शेयर बजारले लय समाप्त सकेको छैन । पूर्व गभर्नर महाप्रसाद अधिकारीले लगाएको मार्जिन कर्जाको कडाई पूर्ववत अवस्थामा आइसकेको अवस्था छ भने अहिले ऋणको व्याज दर समेत एकल अंकमा छ । व्याज दर एकल अंकमा तथा कुनै पनि नीतिगत अड्चन सबै क्लियर हुँदा पनि शेयर बजार नबढ्नुमा लगानीकर्ताले आत्मविश्वासको कमी भनेका छन् । तिनीहरुले बजारमा सबै पक्ष शेयर बजारमैत्री भए पनि जेनजी आन्दोलनमा भएको विध्वंशले लगानीकर्ता डराएको अवस्थामा रहेको तथा चुनाव उन्मुख राजनीतिले गर्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् त्यसकारण लगानीकर्ताहरु धेरै ‘सप्लाई’ नआउने नयाँ कम्पनीहरुतर्फ आकर्षित भएको लगानीकर्ता सुन्दर रायमाझीले बताए । सेबोनको व्यवस्था अनुसार नयाँ आइपीओ आएका कम्पनी सबैसँग १० कित्ता मात्रै हुन्छ । १० कित्ता शेयर धेरैसँग छरिएर रहने हुँदा ठूलो ‘सप्लाई’ तुरुन्त आउँदैन किनभने सेकेन्डरीमा किनेका लगानीकर्ताले धेरै शेयर एक्युमुलेट गर्न पाएका हुँदैनन । बजारमा धेरै छर्न बाँकी शेयरमा लगानीकर्ता आकर्षित हुँदा भर्खरै आइपीओ आएकै कम्पनी मात्रै बढेको उनले बताए ।
पुस मसान्त भनेको ऋणको व्याज बुझाउने महिना पनि हो । साधारणतया पुस मसान्तमा व्याज बुझाउनुपर्दा बजार झर्ने गर्दछ । प्राय लगानीकर्ताले शेयर बेचेर भए पनि ऋणको व्याज बुझाउनुपर्ने पैसाको जोहो गर्ने गर्दछ तर सोमबार शेयर बेचे पनि मसान्त अगाडि लगानीकर्ताले रकम प्राप्त नगर्ने हुँदा मसान्तको प्रेसर पनि नभएको एक लगानीकर्ताले बताए । उनका अनुसार चुनाव हुने निश्चितता भएसँगै बजार पनि बढ्दो जान सक्ने उनले आँकलन गरे ।