कांग्रेस फुट्योः अब के होला ?

Jan 14, 2026 06:22 PM mero lagani



रात रहे अग्राख पलाए भन्ने उखान प्रमाणित भएन भने नेपाली कांग्रेस औपचारिकरुपमै विभाजन भएको छ । 

पार्टीको संस्थापन पक्षले महामन्त्रीद्धय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षको लागि निस्कासन गरेपछि कांग्रेस विभाजन औपचारितातर्फ अगाडि बढेको छ ।

अब भृकुटी मण्डपमा चलिरहेको विशेष महाधिवेशनले भोलीसम्ममा नयाँ नेतृत्व घोषणा गरेपछि कांग्रेस झण्डै २ दशकको अवधिमा दोस्रो पटक विभाजन हुनेछ । संयोग नै मान्नु पर्छ दुवै पटक कांग्रेस विभाजनको मुख्य पात्र शेरबहादुर देउवा नै बनेका छन् । उतिबेला आफ्नो माग संस्थापनले पुरा नगरेको भन्दै पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका देउवा अहिले महामन्त्रीहरुलाई निस्कासन गरेर विभाजनको कारक बनेका छन् ।

विभाजन पछि अब कुन आधिकारिक पार्टी होला ? पार्टीका झण्डा र चुनाव चिन्ह रुख कुन पक्षले प्राप्त गर्ला ? त्यो अहिले नै ठोकुवा गरेर भन्न सकिदैन । सम्भवतः आधिकारिकताको माग गर्दै दुवै पक्ष निर्वाचन आयोग र अदालत जानेछन् र त्यहाँबाट फैसला आएपछि बल्ल यो ‘सस्पेन्स’ सकिनेछ ।

 

त्योभन्दा अगाडि कांग्रेस विभाजन पछि आधिकारिकताको लडाईमा कांग्रेस भित्रका तठस्थ बसेकाहरु के गर्लान् ? गगन विश्व प्रति साहानुभूति राख्दै उनीहरुले आव्हान गरेको दोस्रो विशेष महाधिवेशनमा सहभागि थुप्रै महाधिवेशन प्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा रहेकाहरु पनि छन् । अब विभाजन भैसकेपछि तिनीहरुले अहिले झैं साथ दिइरहलान् कि गुट परिवर्तन गरेर देउवातिर फर्केलान् ? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने विशेष महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भएका चन्द्र भण्डारी र सुनिल शर्मालगायतका नेताहरुले पार्टी विभाजनको निर्णयमा आफूहरु सहमत नहुने बताइसकेका छन् । उता गगन र विश्व प्रकाश तथा मन्सुरमाथिको कारवाही प्रति आपत्ती जनाउंदै रामहरी खतिवडाले पनि बैठक बहिस्कार गरेका छन् ।

खास गरि शेखर कोइराला र संशाक कोइराला पक्षिय नेता कार्यकर्ताहरु कुन कांग्रेसतर्फ लाग्छन् ? त्यसले कांग्रेसको आधिकारिकतामा गम्भिर अर्थ राख्न सक्छ ।

त्यस्तै साम दाम दण्ड भेद प्रयोग गरेर सत्ता टिकाउने मामलामा शेरबहादुर देउवा नेपाली राजनीतिकै ‘शिरोमणी’ मानिन्छन् । उनले र उनको पक्षले आधिकारिकताको लडाईमा महाधिवेशन प्रतिनिधिहरुलाई धाक, धम्की र लोभ लालच देखाएर प्रभावित गर्दैनन् भन्न सकिदैन । त्यस्तोबाट प्रभावित नहुने महाधिवेशन प्रतिनिधिहरु कति होलान् ? त्यसले कांग्रेसको आधिकारिकताको लडाईलाई धेरै हदसम्म प्रभावित गर्नेछ ।

देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस विभाजन भएपछि त्यसको असर केवल उक्त पार्टीका नेता कार्यकर्तामा मात्र पर्ने छैन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ ।

गगन विश्वको समुहले निकै पहिलेदेखि नेपाली कांंग्रेसले अरु कुनै पार्टीसंग तालमेल नगरि आफ्नै बल वुँदामा चुनाव लड्नु पर्ने बताउंदै आएका छन् । तर, अहिलेसम्म पार्टी नेतृत्वमा हावि रहेको देउवा समुहले भने निरन्तर एमाले, माओवादीलगायतका पार्टीहरुसंग चुनावमा तालमेल गर्दै आएका छन् । कांग्रेसको विशेष महाधिवेशनमा गगन विश्व पक्षले उठाएको मुख्य आवाज नै त्यही हो । अब नेपाली कांग्रेस विभाजन भएपछि सांच्चै नै उनीहरुले आफ्नै बलवुँदामा चुनाव लड्लान् ? त्यो अवस्थामा पार्टीको अवस्था के होला ? भन्ने सर्वत्र चासोको विषय बनेको छ । साथै उनीहरुको अन्य पार्टीसंगको सम्वन्धको विषयलाई लिएर पनि सर्वत्र चासोको विषय बनेको छ ।

गगन विश्वको नेतृत्वमा रहने कांग्रेसले अन्य पार्टीसंग सहकार्य गर्ने, नगर्ने टुंगो नभए पनि देउवा खेमाले भने एमालेलगायतका अन्य दलहरुसंग मिलेरै चुनाव लड्ने कुरामा विवाद छैन ।

कांग्रेस विभाजनको असर देशभरि नै एकसाथ पर्ने छ । किनकी देशभरिकै स्थानीय तह, प्रदेशहरुमा कांग्रेसको संगठन प्रभावकारीरुपमा छ । केन्द्रमा आम चुनाव नजिकिइरहेकोले दुवै खेमाले कसरी चुनाव लड्लान र परिणाम कस्तो ल्याउलान् भन्ने आशंका उठेको छ भने कांग्रेस विभाजन पछि प्रदेश सरकारहरुको भविश्य के होला ? भन्ने प्रश्न उठिरहेको छ ।

किनकी अहिले बाग्मती, गण्डकी र सुदूर पश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा एमाले सहितको सरकार छ भने कोशी, लुम्बिनी र कर्णालीमा कांग्रेस सम्मिलित एमाले नेतृत्वको सरकार छ, पार्टी विभाजन पछि प्रदेश सांसदहरुसमेत विभाजित हुने र त्यसको असर प्रदेश सरकारहरुको भविश्यमाथिसमेत पर्ने निश्चित छ ।

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।