फागुन २१ गते हुँदै गरेको प्रतिनिधि चुनावको लागि मनोनयन दर्ता भएको छ । चुनावको समयमा अर्थतन्त्र सहित शेयर बजार पनि चलायमान हुने विश्वास लगानीकर्ताहरुको छ । चुनाव हुने भएपछि दोस्रो बजारमा पनि चहलपहल बढ्न थालेको छ । चुनावी चहलपहल बढ्न थाले पछि शेयर बजार पनि तात्न थालेको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए । तीनै फुल्लेलसँग सुधा देवकोटाले गरेको कुराकानीः
मुलुकमा चुनावी माहोल बढ्दो अवस्थामा छ । शेयर बजारले पनि बढ्न सुरु गरेको छ । यो माहोललाई तपाईले कसरी हेर्नु भएको छ ?
राजनीतिमा देखिन थालेको विकृतीको विरोधमा जेनजी आन्दोलन भयो । धेरै जनधनको क्षति भयो । तर राजनीतिको लागि नयाँ बाटो देखायो । पुराना दलहरु रुपान्तर र परिवर्तन भए । नयाँ दलहरु सूसुचित भए र चुनावी माहोलमा होमिएका छन् । नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्न थालेको छ । लामो समयदेखि बजारले राजनीति स्थितरता पर्खेर बसेको थियो। सम्भवत विस्तारै राजनीतिमा स्थिरता आउने सम्भावना देखिएको छ । त्यसैले बजारको आगामी यात्रा उत्साहजनक हुने अनुमान गर्न सकिन्छ ।
लामो समयदेखि चुनावी प्रतिक्षामा शेयर बजार थियो । अबको बजारलाई कस्तो देख्न सक्छौं ?
हरेक चुनावमा बजार बढ्ने गरेको देख्न सकिन्छ । चुनावको समयमा तुलनात्मक रुपमा अर्थतन्त्र चलायमान हन्छ । त्यसको सकारात्मक प्रभाव पर्ने गरेको देखिन्छ । लामो समयदेखि शेयर बजार बढ्न सकेको थिएन । राजनीति बिग्रेको थियो । विगत लामो समयदेखि अर्थतन्त्र सुस्त अवस्थामा छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्ला दिनहरुको अर्थतन्त्रमा सुधार आएको देखाउन थालेको छ ।
बैंक प्रणालीमा तरलता प्रसस्त छ । ब्याज घट्दो छ । बैंकहरुले आधार दरमा नै शेयर धितो कर्जा उपलब्ध गराएका छन् । यस्तो अवस्थामा चुनाव हुने नहुनेको दुबिधाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका थिए । आगामी चुनावको लागि मनोनयन दर्ता भइसकेको छ । अब चुनावको विषयलाई लिएर शंका उपशंका गर्नु पर्ने अवस्था छैन । सोही अनुसार लगानीकर्ताहरुले लगानी बढाउन थालेको दैनिक बढ्दो अवस्थामा रहेको करोबार रकमले देखाएको छ । लगानीकर्ताहरुमा पनि उत्साह छ । अबको बजार बढ्नु पर्छ ।
चुनाव पछि पनि प्रष्ट रुपमा एउटा पार्टीको बहुमत आएन भने शेयर बजार के होला ?
शेयर बजारको सूचक अर्थतन्त्रको अवस्था अनुसार नै उतारचढाब हुनु पर्ने हो । तर बिडम्बना नेपालको शेयर बजार राजनीतिसँगै सती गइरहेको छ । शेयर बजारलाई राजनीतिले भन्दा अर्थतन्त्रले डोर्याउनु पर्ने थियो । अन्य स्थिर सरकार भएका अन्य देशहरुमा शेयर बजारको विकास भएको पाइन्छ । हाम्रो नेपालमा पटके सरकार भएको कारणले पनि धेरै दुःख भएको छ । सोही कारण नेपाली जनताले चुनावको समयमा बुद्धि पुर्याएर स्थिर सरकार हुने गरी मतदान गरेमा बजारमा पर्ने गरेको राजनीतिक प्रभाव कम हुनेछ । राजनीतिको प्रभाव शेयर बजारमा नपराेस।

चुनावको समयमा शेयर बजार बढ्छ भन्नुमा के कस्ता तर्कहरु छन्? यो समयमा हुने अफवाहले बजारमा कस्तो भूमिका निर्वाह गर्छ ?
तुलनात्मक रुपमा अन्य समयमा भन्दा चुनावकाे समयमा शेयर बजार चलायमान हुन्छ । विगतमा पनि चुनावको समयमा शेयर बजार बढेको देखिन्छ । यो समयमा तरलता धेरै परिचालन भएको हुन्छ । यो समयमा लुकेर रहेका पैसा पनि चलायमान हुन्छ भनिन्छ । बजारलाई अहिलेको आवश्यक पैसाको हो ।
शेयर बजारमा र चुनावमा अफवाहरुलाई धेरै द्रुत रुपमा फैलाइन्छ । यस्तो बेला लगानीकर्ता होस वा नागरिकहरु सचेत भएर लगानीका रणनीति लिनु पर्ने हुन्छ । राजनीतिमा पनि मतदाताहरुले अफवाहको विश्वास नगरी मतदान गर्दा सहि पात्र आउँछ । यस्तो विषयमा हामीले सचेत भर अगाडि बढ्नु पर्छ । नियामक निकायले पनि अफवाहलाई नियन्त्रण गर्नु पर्छ ।
यो चुनावको मौकामा कस्तो लगानी बजारमा बढेको हुन्छ ?
विगतका कारोबारको शैली र अहिलेको लगानी प्रकृया फरक छ । विगतमा दीगो सोचका साथ बजारमा लगानी हुने गरेको थियो । तर पछिल्ला कारोबार प्रवृतिलाई हेर्दा बजारमा अल्पकालिन लगानीकर्ताहरु हाबी भएका छन् । त्यस्ता लगानीकर्ताहरुले छोटो समयमा स्मार्ट रुपमा पैसा बनाई राखेका छन् । यस्तो लगानीमा पुराना तथा नयाँ युवा पुस्ताहरु पनि छन ।
ठूला तथा स्थिर लगानीकर्ताहरु पर्ख र हेरको रणनीति लिएको जस्तो देखिएको छ । राजनीतिले कस्तो रुप लिने हो भन्नेमा लगानीकर्ताहरु ढुक्क हुन नसक्दा दीगो लगानी बजारमा आएको छैन । पूँजी बजार प्रति उत्साहित भएको पाइन्छ । अब आउने सरकारले दीगो लगानी आउने वातावरण बनाउनु पर्छ ।
राजनीतिक दुष्टिकोणबाट हेर्दा परिपक्क राजनीति पार्टीहरु शेयर बजार प्रति खासै सकारात्मक भएको पाइदैन । अझै पनि राजनीति स्थिरताबाट शेयर बजारको सुधार हुन्छ भन्ने कसरी विश्वास गर्न सकिन्छ ?
तपाईले राम्रो कुरा उठाउनु भयो । हामीले बिगत, बर्तमान र भविष्यलाई पनि तुलनात्मक अध्ययन गर्न जरुरी छ । विगतमा अर्थशास्त्री तर शेयर बजारको विषयमा नकारात्मक धारणा राख्नेहरुले गर्दा लगानीकर्ताहरुले धेरै नोक्सानी व्यहोर्नु परेको छ । लगानीकर्तालाई निरुत्साहित गर्न बजारलाई जुवा घरको संज्ञा दिनेहरु पनि सरकारमा आए । अर्थतन्त्रलाई राम्रोसँग नबुझेको मान्छेले सरकार चलाउन सक्दैन । अब बन्ने सरकारमा अर्थतन्त्र बुझेका व्यक्तिहरु आउनेछन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।
राजनीतिक दलले चलाएकाे सरकार भन्दा यो अन्तरिम सरकारबाट पूँजी बजार सुधारको कामले गति लिएको लगानीकर्ताले महसुस गरेका छन् । यसलाई तपाई के भन्नु हुन्छ ?
हो, अहिलेको सरकारले बजार सुधारको काममा जोड दिएकाे पाइन्छ । यो अन्तरिम सरकारका अर्थमन्त्रीको रामेश्वर खनालले शेयर बजारको सुधारको कामलाई द्रुतता दिनुभएको पाइन्छ । धेरै नीतिगत सुधार भएका छन् । पूँजी बजार सुझाव कार्यदल गठन गरी सुझाव लिएर कार्यान्वयन भएका छन् । उहाँले नयाँ स्टक एक्सचेञ्जको कुरालाई अगाडि बढाउन सक्नु भएन । नेप्सेको नै पुनर्संरचना गर्ने लाग्नु भएको थियो । पुनर्संरचनाको लागि समिति गठन भएको थियो । समितिले सरकारलाई प्रतिवेदन बुझाईसकेको छ । चुनाव भएसँगै यो सरकारको समय सकिनेछ । छिटो पुनर्संरचना भएमा बजारको विकास राम्रोसँग हुने थियो भन्ने विश्वास छ ।