बिहीबार बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकै दिन २० हजार ५०० रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य १७ हजार ४०० रुपैयाँले बढेको छ । गत माघ ९ गते शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ १६ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार ४०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।
गत माघ ११ गते ३ लाख ३ हजार ८०० रुपैयाँ, माघ १२ मा ३ लाख ९ हजार, माघ १३ गते ३ लाख ९ हजार ३०० र माघ १४ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
केही दिनअघि बढेको सुनको मूल्य अचानक शुक्रबार घटेको सुन व्यवसायीले बताएका छन् । उनीहरुको अनुसार, अब केही दिन सुनको मूल्य घट्ने संकेत देखिएको हो । ‘निरन्तर बढिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन २० हजार ५०० रुपैयाँले घट्यो । अबका केही दिन घट्नै नै संकेत देखिन्छ ।’ महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताए ।
उनका अनुसार, मूल्य बढेकाले त्यति धेरै सुनको माग आएको छैन् । आम उपभोक्ताले पनि सुनको मूल्य किन्न नै नसक्ने गरी बढेको बताएका छन् । हाल दैनिक बजारमा १६ किलो सुनको खपत भइरहेको उनले बताए ।