तर, नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुराबासीले भने विगतमा जस्तै यस पटक भोट नहाल्ने भएका छन् । खासमा उनीहरुले भोट नहाल्न लागेका होइनन्, भोट हाल्न नपाउने भएका हुन् । ती क्षेत्रमा बस्ने नेपालीले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र नबनाएकोले भोट हाल्न नपाउने स्थानीय प्रशासनले जानकारी दिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलकाअनुसार पछिल्लो समय नेपाली नागरिकता र अन्य सरकारी परिचयपत्र लिएको कुनै रेकर्ड नै जिल्ला प्रशासन कार्यालयमा भेटिएको छैन । स्थानीय मानिसहरूको लागि सदरमुकाम खलङ्गा आउनु भन्दा भारतको धार्चुला जान सहज रहेको र नेपाली नागरिकता नभए पनि जीवन निर्वाह हुने भएकोले उनीहरुले सरकारी कागजपत्र बनाउन वेवास्ता गर्ने गरेका छन् । त्यसमाथि नेपाली नागरिकता भएका नेपालीहरुलाई भारतीय प्रशासनले दुख दिने गरेकोले पनि उनीहरु डराएको हुन सक्ने आशंका गरिएको छ ।
नेपालले दाबी गर्दै आएको यो क्षेत्र भारतीय नियन्त्रणमा छ । त्यहाँका स्थानीयबासीलाई भारतले आफ्नो देशको नागरिकता र रासन कार्ड लिएको जानकारहरू बताउँछन् ।
ब्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामी भारतले ती क्षेत्रमा अन्य नेपालीहरुलाई जान अवरोध गर्ने गरेको बताउँछन् । उनकाअनुसार अन्य भेगका नेपालीहरुलाई भारतले छाङ्गरू, टिङ्करभन्दा माथि जान दिँदैन । नेपाली नियन्त्रणमै रहेको छाङ्गरू टिङ्कर पुग्न पनि भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता रहेको धामी सुनाउँछन्।
स्थानीयबासीका अनुसार आफन्त भेटघाट र धार्मिक पूजा पाठमा जान स्थानीयबासिन्दालाई भारतीय सुरक्षा निकायले अनुमति दिने गरेको उनीहरु बताउँछन् ।
स्मरण रहोस कालापानी क्षेत्रबाट सबैभन्दा नजिक पर्ने दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा छाङ्गरू र टिङ्कर दुई वटा बस्ती छन् । ती दुवै बस्तीमा निर्वाचन आयोगले एक एक वटा मतदान केन्द्र तोकेको थियो । तर त्यस क्षेत्रका बासिन्दा चिसो याममा जिल्ला सदरमुकाम खलङ्गामा बस्ने भएकाले उनीहरूका लागि अस्थायी मतदान केन्द्र पनि खलङ्गामै सार्ने निर्णय भएको आयोगका अधिकारीले जानकारी दिएका छन् ।
२०७९ को निर्वाचनमा ७ हजार मतदाता रहेको व्यास गाउँपालिका यसपटक कुल ९ हजार ६६८ मतदाता रहेका छन् । ९२ हजार मतदाता रहेको दार्चुलामामा १४३ वटा मतदानस्थल तोकिएका छन्।