हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा विशेष पूजा–आराधना गरी सम्पन्न गरिएको हो।
माधवनारायण व्रत बस्ने व्रतालुले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्री प्रयोग गरी पूजा गर्ने परम्परा रहेको छ। साथै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्ने, शङ्ख जल ग्रहणपछि कसैलाई नछुने र जुत्ता नलगाउने धार्मिक मान्यता छ।
स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा उल्लेखित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने कामसमेत यस वर्षको लागि समाप्त गरिएको छ।