आज आइतबार बिदाको दिन पनि भारतमा शेयर बजार खुल्यो ? के बजेटका लागि 'स्पेसल सेसन' चलाइन्छ भन्ने तपाईलाई थाहा थियो ?

Feb 01, 2026 02:23 PM merolagani



सुवास निरौला 
 

नेपाली लगानीकर्ताका लागि शेयर बजार सामान्यतया साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) खुल्ने र शुक्रवार–शनिवार बन्द हुने नियमित तालिका हो। त्यसै गरि भारतमा पाँच दिन नै खुल्ला हुन्छ। तर सोमबारदेखि बिहीबारसम्म। शनिबार–आइतबार त्यहा बन्द  हुन्छ।&

सार्वजनिक बिदा वा सप्ताहान्तमा त बजार खुल्ने कल्पनासम्म गरिँदैन। तर, छिमेकी मुलुक भारतमा भने आज एउटा यस्तो अनौठो र नौलो अभ्यास देखिएको छ। जसले नेपाली बजारका सरोकारवालाहरूलाई अचम्मित तुल्याउन सक्छ। आज फेब्रुअरी १, आइतबार—भारतमा साप्ताहिक सार्वजनिक बिदाको दिन हो। तर, त्यहाँका प्रमुख स्टक एक्सचेन्जहरू (एनएसी र बिएससी) आज पूर्ण समयका लागि खुला रहने छन्। साप्ताहिक बिदामा पनि बजार खुला हुनुको एउटै कारण भनेको— भारतको केन्द्रीय बजेट २०२६/२७।

साप्ताहिक बिदामा बजार खुला: एक विशिष्ट भारतीय अभ्यास

नेपालमा जेठ १५ गते बजेट भाषण हुँदा यदि उक्त दिन शनिवार पर्यो भने नेप्से पूर्ण रूपमा बन्द रहन्छ। बजेटको प्रभाव हेर्न लगानीकर्ताले भोलिपल्ट अर्थात् आइतबार कुर्नै पर्छ। तर, भारतमा भने बजेटलाई यति धेरै महत्त्व दिइन्छ कि त्यसका लागि 'स्पेसल ट्रेडिङ सेसन' (विशेष कारोबार सत्र) नै सञ्चालन गरिन्छ। आज आइतबार भए पनि भारतीय समय अनुसार बिहान ९:१५ बजे बजार खुल्यो र अन्य सामान्य कार्य दिनमा झैँ दिउँसो ३:३० बजेसम्म नै कारोबार चल्ने छ।

नेपाली लगानीकर्ताका लागि यो सूचना रोचक हुन सक्छ कि यो कुनै १–२ घण्टाको 'साङ्केतिक' कारोबार मात्र होइन, बरु साढे ६ घण्टा लामो पूर्ण सत्र हो। यसरी बिदाको दिन बजार खोल्नुको मुख्य उद्देश्य बजेटमा हुने ठुला घोषणा र करका दरहरूमा आउने परिवर्तनलाई लगानीकर्ताले 'रियल टाइम' अर्थात् सोही समयमा प्रतिक्रिया दिन पाउन् भन्ने हो। यदि आइतबार बजार बन्द गरेर सोमबार मात्र खोलिएको भए, दुई दिनको अन्तरालमा सूचनाहरू थुप्रिने र सोमबार बजार खुल्दा अत्यधिक 'प्यानिक' वा उतारचढाब आएर साना लगानीकर्ता मारमा पर्न सक्ने जोखिम रहन्छ। त्यसैले, बजारलाई स्थिर राख्न र मूल्य निर्धारणलाई सहज बनाउन भारतमा यो 'स्पेसल सेसन' चलाउने गरिन्छ।

यो अभ्यास विश्वका धेरै विकसित मुलुकहरूमा पनि पाइँदैन। अमेरिकाको वाल स्ट्रिट होस् वा बेलायतको लन्डन स्टक एक्सचेन्ज, उनीहरू आफ्नो बिदाको तालिकामा निकै कठोर हुन्छन्। तर, भारतले भने सन् २०१५ र २०२१ मा पनि बजेटको दिन सप्ताहान्त पर्दा यसरी नै बजार खुला राखेर एक फरक उदाहरण प्रस्तुत गरेको थियो। यसले भारतीय नियामक निकाय सेबी लगानीकर्तालाई सूचनाको तत्काल प्रतिक्रिया दिने वातावरण बनाउन कति गम्भीर छ भन्ने देखाउँछ।

बजेटपछिको उत्साह निराशामा: किन भयो बजारमा पहिरो?

आइतबारको बिदा नै माया गरेर बजार पसेका लगानीकर्ताका लागि भने आजको दिन सुखद रहेन। बजेट भाषण सुरु हुनुअघि बजारमा सामान्य उत्साह देखिए पनि अर्थमन्त्री निर्मला सीतारमणले शेयर बजारसँग सम्बन्धित कर वृद्धिको घोषणा गरेसँगै बजारमा एकाएक पहिरो गयो। सरकारले 'सिक्योरिटीज ट्रान्जेक्सन ट्याक्स' (STT) लाई साबिकको ०.०२ प्रतिशतबाट बढाएर ०.०५ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। शेयर खरिद–बिक्री गर्दा लाग्ने यो करमा भएको १५० प्रतिशतको वृद्धिले लगानीकर्ताहरूलाई स्तब्ध बनायो।

कर वृद्धिको घोषणा लगत्तै बजारमा तीव्र बिक्री चाप  देखियो। बजेट भाषण सकिँदासम्म सेन्सेक्स करिब १६०० अंकले घटेर ८०,६०० को बिन्दुमा झरेको छ भने निफ्टी ५५० अंक भन्दा बढीले गिरावट हुँदै २४,८०० को स्तर मुनि पुगेको छ। यो गिरावट यति तीव्र थियो कि सेन्सेक्सका ३० प्रमुख शेयरहरूमध्ये २८ वटा कम्पनीको मूल्य घट्यो। सरकारी स्वामित्वका बैंकहरूमा सबैभन्दा बढी ४ प्रतिशतसम्मको गिरावट आयो। भारतीय स्टेट बैंक, एनटीपीसी  र बीईएल  जस्ता ठुला कम्पनीका शेयरहरूमा ठुलो नोक्सानी देखिएको छ।

बजार घट्नुको अर्को कारण बजेटमा पूँजीगत लाभकर सम्बन्धी लगानीकर्ताका अपेक्षाहरू पूरा नहुनु पनि हो। मेटल, मिडिया, सूचना प्रविधि (IT), र रियल इस्टेट जस्ता सबै सेक्टरल इन्डेक्सहरू राताम्मे हुनुले बजेटले बजारको मनोविज्ञानलाई तत्कालका लागि सकारात्मक बनाउन नसकेको प्रस्ट हुन्छ। ऐतिहासिक रूपमा पनि भारतमा बजेटको दिन बजार घट्ने एउटा प्रवृत्ति नै रहेको देखिन्छ। पछिल्ला पाँच वर्षको तथ्याङ्क हेर्दा ४ पटकसम्म बजार घटेर बन्द भएको छ।

निष्कर्षमा, आजको दिन भारतीय शेयर बजारका लागि दुई वटा कारणले स्मरणीय रह्यो। पहिलो, आइतबारको बिदामा पनि पूर्ण समय बजार खुला राखेर गरिएको 'स्पेसल सेसन' र दोस्रो, बजेटमा गरिएको कर वृद्धिको घोषणाले ल्याएको १६०० अंकको ठुलो गिरावट। नेपाली लगानीकर्ताका लागि यो घटना एउटा पाठ पनि हुन सक्छ कि कसरी नीतिगत परिवर्तनले बजारमा तत्कालै ठुलो हलचल ल्याउन सक्छ र कसरी नियामकले बिदाको दिन पनि लगानीकर्ताको सुविधाका लागि विशेष व्यवस्था गर्न सक्छ। आगामी सोमबार बजार खुल्दा यो गिरावटको असर थप कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।