सूर्यकुण्डको आईपीओमा पहिलो दिनमै मागभन्दा १०.९२ गुणा बढी आवेदन

Feb 01, 2026 06:07 PM merolagani



सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा पहिलो दिनमै उत्साहजनक आकर्षण देखिएको छ। 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आज साँझ ५:०५ बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार ५ लाख ३६ हजार ८४६ जना आवेदकले कुल ६२ लाख ५४ हजार २२० कित्ताका लागि आवेदन दिइसकेका छन्। कम्पनीले सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर मात्र निष्कासन गरेकोमा पहिलो दिनको कार्यालय समय सकिँदासम्म नै मागभन्दा १०.९२ गुणा बढी आवेदन परिसकेको छ। यसरी पहिलो दिनमै मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओमा अब गोला प्रथाबाट मात्र शेयर बाँडफाँट हुने निश्चित भएको छ।

आज बिहान मेरो शेयरको प्रणालीमा देखिएको प्राविधिक त्रुटिका कारण सिर्जना भएको अन्योलका बाबजुद लगानीकर्ताहरूले यस आईपीओमा उल्लेख्य सहभागिता जनाएका हुन्। बिहान प्रतिकित्ता १०० रुपैयाँ हुनुपर्ने मूल्य झुक्किएर १० रुपैयाँ मात्र देखिँदा १ लाख ५१ हजार ८२० जनाले आवेदन दिएका थिए।

तर, बिक्री प्रबन्धक कुमारी क्यापिटलले १० रुपैयाँका दरले परेका ती सबै आवेदनहरू अमान्य भई रद्द हुने जानकारी दिएको छ। ती रद्द हुने आवेदनहरूबाहेक पनि सच्याइएको मूल्य अर्थात् १०० रुपैयाँका दरले मात्रै पहिलो दिनमै ६२ करोड ५४ लाख २२ हजार रुपैयाँ सङ्कलन हुनुले बजारमा सूर्यकुण्ड हाइड्रोप्रति लगानीकर्ताको उच्च मनोबल रहेको पुष्टि गर्दछ। १० रुपैयाँको दरमा झुक्किएर आवेदन दिएका लगानीकर्ताहरूले आफ्नो आवेदन रद्द भएको सुनिश्चित गरी पुनः १०० रुपैयाँका दरले नयाँ आवेदन दिनुपर्नेछ।

पहिलो दिनको यो तीव्र प्रतिस्पर्धालाई हेर्दा निष्कासित ५ लाख ७२ हजार ४३१ कित्ता शेयर ५७ हजार २४३ जना भाग्यशाली आवेदकले मात्र १० कित्ताका दरले हात पार्ने देखिएको छ। यो आईपीओमा आवेदन दिने म्याद आगामी माघ २१ गतेसम्म रहेको भए पनि पहिलो दिनमै मागभन्दा १० गुणा बढी आवेदन परिसकेकाले लगानीकर्ताहरू बिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। बिक्री प्रबन्धकले बिहानको प्राविधिक समस्या समाधान भइसकेकाले अब लगानीकर्ताहरूले ढुक्क भएर आवेदन दिन सक्ने बताएको छ। 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।