तर, यो उत्साह धेरै दिन टिक्न सकेन र माघ १९ गते आइपुग्दा सुनको मूल्यमा अकल्पनीय गिरावट आएर प्रति तोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ। यसरी हेर्दा माघ १५ गतेको उच्च मूल्यमा सुन खरिद गरेका वा मौज्दात राखेका नेपाली उपभोक्ताले मात्र चार दिनको अन्तरालमा प्रति तोला ५२ हजार ७ सय रुपैयाँ गुमाउनु परेको हो। यो नेपाली सुन बजारको इतिहासमा सम्भवतः सबैभन्दा छोटो समयमा भएको सबैभन्दा ठूलो मूल्य गिरावट हो।

सुनसँगै चाँदीको बजारमा पनि उस्तै खालको निरासा छाएको छ। माघ १५ गते प्रति तोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज माघ १९ गते ५ हजार २ सय रुपैयाँमा सीमित भएको छ। यसले गर्दा चाँदीका लगानीकर्ताले प्रति तोला २ हजार ३ सय ५ रुपैयाँ घाटा बेहोर्नु परेको छ।
नेपाली बजारको यो गिरावट केवल स्थानीय कारणले मात्र नभई अन्तर्राष्ट्रिय बजारमा आएको भीषण पहिरोको प्रत्यक्ष असर हो। अन्तर्राष्ट्रिय बजारमा केही समय अघि सुनको मूल्य प्रति औस ५ हजार ६ सय २६ डलरको ऐतिहासिक उचाइमा पुगेको थियो। तर, अहिले प्राप्त पछिल्लो रियल टाइम तथ्याङ्क अनुसार सुनको मूल्य घटेर ४ हजार ५ सय ५१ डलरको हाराहारीमा झरेको छ। यसको अर्थ अन्तर्राष्ट्रिय लगानीकर्ताले प्रति औस सुनमा मात्र १ हजार १ सय २५ डलरभन्दा बढी गुमाएका छन्। यो गिरावटले विश्वभरका मोडिकटी बजारमा खैलाबैला मच्चाएको छ।
चाँदीको अवस्था त झन् भयावह देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रति औस १२१.७८५ डलर पुगेको चाँदी अहिले ७३.६९९५ डलरमा कारोबार भइरहेको छ। यसरी अन्तर्राष्ट्रिय लगानीकर्ताले प्रति औस चाँदीमा ४८ डलरभन्दा बढी गुमाएका छन्। जुन प्रतिशतको हिसाबले निकै ठूलो गिरावट हो।
बजारमा अचानक आएको यो भारी गिरावट पछाडि केही गम्भीर कारणहरू औँल्याइको छ। सबैभन्दा प्रमुख कारणको रूपमा 'प्रोफिट बुकिङ' लाई लिइएको छ। जब सुन र चाँदीको मूल्य अकल्पनीय रूपमा माथि गयो। तब ठूला अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक र हेज फन्डहरूले आफ्नो नाफा सुरक्षित गर्न एकसाथ ठूलो परिमाणमा सुन बेच्न सुरु गरे। बजारमा आपूर्तिको चाप बढ्ने बित्तिकै मूल्यमा दबाब पर्नु स्वाभाविक थियो। यसका साथै, अमेरिकी डलरको सूचकाङ्कमा देखिएको मजबुतीले पनि सुनलाई कमजोर बनाएको छ। डलर बलियो हुँदा लगानीकर्ताले सुन जस्ता सुरक्षित मानिने धातुहरू बेचेर डलर वा ट्रेजरी बन्डतिर लगानी मोड्ने गर्छन्, जसले गर्दा सुनको मूल्यमा ह्रास आउँछ।
C7#
सुनलाई प्रायः अनिश्चितताको समयमा 'सेफ हेभन' वा सुरक्षित आश्रय स्थल मानिन्छ। तर जब बजारमा अत्यधिक मूल्य बढ्छ। तब त्यो 'बबल' वा पानीको फोका जस्तो बन्छ। जुन कुनै पनि बेला फुट्न सक्छ। अहिले देखिएको यो गिरावटलाई विज्ञहरूले 'मार्केट करेक्सन' को रूपमा पनि व्याख्या गरेका छन्। लामो समयदेखि मूल्य केवल माथि मात्र गइरहेको थियो। बजारलाई सन्तुलनमा ल्याउन यस्तो गिरावट अनिवार्य मानिन्थ्यो। यद्यपि यसको गति र परिमाण धेरैको अनुमानभन्दा बाहिर रह्यो।
नेपाली सन्दर्भमा कुरा गर्दा, यो मूल्य गिरावटले गहना व्यवसायीहरूका लागि यो समय चुनौतीपूर्ण छ। किनकि स्टकमा रहेको सुनको मूल्य घट्दा उनीहरूको पूँजीगत सम्पत्तिमा ह्रास आएको छ। अहिलेको रियल टाइम तथ्याङ्कले बजार अझै अस्थिर रहेको सङ्केत गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको यो 'सेल-अफ' को लहर कहिलेसम्म चल्छ र मूल्य कुन विन्दुमा पुगेर स्थिर हुन्छ भन्ने कुरा अझै अन्योलमै छ। केही दिनमै अर्बौं गुमाएका लगानीकर्ताहरू अब बजारले कहिले पुनः लय समात्ला भनेर पर्खिरहेका छन्।