निगमका अनुसार इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातका लागि देशैभरका उद्योगीहरूलाई मासिक ४९ हजार ५०० मेट्रिक टनको कोटा उपलब्ध गराइँदै आएको छ जसअनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४ मे.टन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मे.टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मे.टन ग्यास आयात भई आम उपभोक्ता माझ बिक्री वितरण भइसकेको छ। यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको निगमले उल्लेख गरेको छ।
हाल बजारमा केही एकाध उद्योगको ग्यास सिलिण्डरमा मात्र अभाव देखिएको र ती उद्योगलाई आपूर्ति सहज बनाई बजार सामान्यीकरण गर्न निर्देशन दिइसकिएको निगमले जानकारी दिएको छ। यसले गर्दा केही समयभित्रै आपूर्ति अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास निगमले लिएको छ ।
बजारमा एल.पी.जी.को हालको अवस्था र आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै निगमले फेब्रुअरी २०२६ का लागि साविकको परिमाणमा २ हजार मेट्रिक टन थप गरी आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ पठाइसकेको छ। यसका साथै निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र ग्यासको अनावश्यक भण्डार नगर्न समेत अनुरोध गरेको छ ।
