चाँदीको मूल्यमा देखिएको यो पछिल्लो अस्थिरताले यसलाई 'गेम स्टप' जस्ता मीम स्टकहरूसँग तुलना गर्न प्रेरित गरेको छ। सन् २०२१ मा भिडियो-गेम रिटेलर गेमस्टपको शेयरमा 'रेडिट'का खुद्रा व्यापारीहरू सामूहिक रूपमा ओइरिएपछि यो एक विश्वव्यापी घटना बनेको थियो। त्यति बेला गेमस्टपको शेयर परम्परागत मूल्याङ्कन मोडेलहरूले पुष्टि गर्न सक्ने सीमाभन्दा धेरै माथि उक्लिएको थियो। अहिले चाँदीको बजारमा पनि ठ्याक्कै त्यस्तै प्रवृत्ति दोहोरिएको विश्लेषण गरिँदै छ।
मीम स्टकका विशेषता र चाँदीको चाल
साधारणतया 'मीम स्टक' हरूका केही मुख्य विशेषताहरू हुन्छन्। यसमा मूल्यको चाल अत्यन्तै तीव्र र प्रायः 'प्याराबोलिक' हुन्छ। यस्ता व्यापारमा खुद्रा लगानीकर्ताहरूको भारी सहभागिता रहन्छ र सामाजिक सञ्जालमा भाइरल हुने कथाहरूले बजारलाई डोर्याउँछन्। कतिपय अवस्थामा यस्ता कथाहरूले बजारका आधारभूत कुराहरूलाई पूर्ण रूपमा ओझेलमा पारिदिन्छन्। यस्तो बजारमा लगानी (तरलता) जति छिटो भित्रिन्छ, त्यति नै छिटो बाहिरिने खतरा पनि रहन्छ।
बुल एण्ड बेयर्डका बजार रणनीतिकार माइकल एन्टोनेलीले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत चाँदी र गेमस्टपको यो समानतालाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। उनले गत हप्ता एक पोस्ट गर्दै प्रश्न गरेका थिए, "सिल्भर गेम स्टप भन्दा कसरी फरक छ? के यो अहिले मीम होइन ?"
सीएनबीसीसँग कुरा गर्दै एन्टोनेलीले धातुको मूल्य अहिले यस्तो स्तरमा पुगेको बताए जहाँ खुद्रा व्यापारीहरू बथानको रूपमा आकर्षित भइरहेका छन्। चाँदीको औद्योगिक र उपभोक्ता प्रयोगहरू भए तापनि, सामान्यतया यसको मूल्य तीन महिनाको अवधिमा १०० प्रतिशतभन्दा बढीले परिवर्तन हुँदैन। एन्टोनेलीका अनुसार अहिलेको मूल्य वृद्धि पूर्ण रूपमा वास्तविक बजारसँग विच्छेद भएको छ र यो केवल खुद्रा लगानीकर्ताहरूको प्रवाहका आधारमा 'ठाडो' रूपमा अघि बढिरहेको छ।

तथ्याङ्कमा चाँदीको उछाल
हालै बजार अनुसन्धान फर्म 'भान्डाट्र्याक'ले सार्वजनिक गरेको तथ्याङ्कले चाँदीमा खुद्रा लगानीकर्ताहरूको आकर्षणलाई पुष्टि गर्दछ। तथ्याङ्क अनुसार, गत जनवरी २६ मा मात्रै व्यक्तिगत लगानीकर्ताहरूले चाँदीको मूल्य पछ्याउने लोकप्रिय एक्सचेन्ज-ट्रेडेड कोष (ETF),मा करिब १७१ मिलियन डलर शुद्ध लगानी गरेका छन् ।
यो लगानीको परिमाण सन् २०२१ को चर्चित 'सिल्भर स्क्विज'को समयमा रेकर्ड गरिएको अघिल्लो उच्च विन्दुको तुलनामा झण्डै दोब्बर हो। यसले के देखाउँछ भने सन् २०२६ मा चाँदीप्रति खुद्रा लगानीकर्ताहरूको रुचि इतिहासकै उच्च स्तरमा पुगेको छ।
मंगलबारको बजारमा स्पट चाँदीको मूल्य करिब ५ प्रतिशतले बढेर प्रति औंस ८३.३७ डलर पुगेको देखिएको छ। त्यसैगरी, न्यूयोर्कमा चाँदीको फ्युचर्स ९ प्रतिशतभन्दा बढीले बढेर प्रति औंस ८४ डलरको तहमा पुगेको छ। पछिल्लो एक महिनाको तथ्याङ्क हेर्ने हो भने चाँदीले दुवै दिशामा ५ प्रतिशत वा सोभन्दा बढीको उतारचढाव १० पटक रेकर्ड गरिसकेको छ। यसले बजार कति अस्थिर छ भन्ने कुरालाई झल्काउँछ ।
खुद्रा विक्रेताको 'नयाँ खेलौना' र रेडिटको भूमिका
भान्डाका विश्लेषक अश्विन भाक्रेका अनुसार, "चाँदी भर्खरै खुद्रा विक्रेताहरूको नयाँ मन पर्ने खेलौना बनेको छ।" यो उत्साह विशेष गरी सामाजिक सञ्जाल प्लेटफर्म 'रेडिट' मा प्रस्ट देखिन्छ। सन् २०२१ मा गेमस्टपको घटनामा रेडिटले केन्द्रीय भूमिका खेलेको थियो, जहाँ 'वालस्ट्रीटबेट्स' समुदायले खुद्रा खरिदलाई व्यवस्थित बनाएका थिए ।
अहिले रेडिटकै 'सिल्भरबग्स' फोरममा यस्तै गतिविधि देखिएको छ। यो एउटा यस्तो समुदाय हो जहाँ प्रयोगकर्ताहरूले आफूले किनेका भौतिक चाँदीका तस्बिरहरू राख्छन्, मूल्यका लक्ष्यहरूमा बहस गर्छन् र विभिन्न 'मीम' हरू साझा गर्छन्। हालै चाँदीको मूल्यमा गिरावट आएपछि त्यहाँ पोस्ट गरिएका सामग्रीहरू मीम-स्टक संस्कृतिको प्रतीक बनेका छन्।
उदाहरणका लागि, शुक्रवारको बिक्री पछि रेडिट प्रयोगकर्ता 'Jstaakz' ले लेखेका छन्, "आज डिप (घटेको मूल्य) मा किनेँ ! डायमण्ड ह्यान्ड्स ।" यहाँ 'डायमण्ड ह्यान्ड्स' एउटा यस्तो मीम-स्टक शब्द हो जसले तीव्र घाटा वा चरम अस्थिरताका बाबजुद पनि सम्पत्ति नबेच्ने खुद्रा व्यापारीहरूको दृढ सङ्कल्प वा अवज्ञालाई सङ्केत गर्दछ। त्यस्तै, सोमबार अर्का एक प्रयोगकर्ताले आफूले गत जुनमा ४८ डलर प्रति औंसमा किनेको चाँदी राख्ने कि बेच्ने भन्नेबारे सल्लाह मागेका थिए। यी सबै गतिविधिले एन्टोनेलीको भनाइलाई पुष्टि गर्छन् कि "सिल्भर २०२६ मा गेम स्टप मात्र हो ।"
आत्म-सन्तुष्टिको उन्माद र जोखिम
कतिपय विश्लेषकहरूका लागि चाँदीको यो व्यवहारले एउटा परिचित तर खतरनाक सीमा पार गरेको छ । स्टोनएक्सकी बजार खुफिया प्रमुख रोना ओ’कोनेलले चाँदीको मूल्य दिगो हुन नसक्ने स्तरबाट अलग भइसकेको चेतावनी दिएकी छन्।
ओ’कोनेलका अनुसार, "चाँदी अत्यधिक मूल्य वान भएको थियो र यो अहिले आत्म-तृप्तिको उन्मादमा छ। यद्यपि चाँदी ऐतिहासिक रूपमा नै अस्थिर धातु हो र यसको इतिहास मूल्य दुर्घटनाका धेरै उदाहरणहरूले भरिएको छ।" उनले चाँदीको वर्तमान अवस्थालाई ग्रीक पौराणिक पात्र 'इकारस' सँग तुलना गरेकी छन्, जो धेरै माथि उड्न खोज्दा सूर्यको तापले मैनको पखेटा पग्लिएर खसेका थिए । उनले थपिन्, "अहिले चाँदी इकारस जस्तै व्यवहार गरिरहेको छ र यो तुलनालाई विस्तार गर्ने हो भने अन्य खरिदकर्ताहरू नराम्ररी जल्ने बलियो जोखिम छ।"
वित्तीय प्रविधि प्लेटफर्म 'लसडग'का प्रमुख कार्यकारी अधिकृत टम सोस्नोफले पनि चाँदीको यो चाललाई 'जङ्गली' संज्ञा दिएका छन् । उनले भनेका छन्, "सुन र चाँदी २०२६ को मीम कमोडिटी जस्तै भएका छन्। हामीले ३० दिनभन्दा कम समयमा यस्तो चाल देखिरहेका छौँ जुन सामान्यतया धेरै वर्षमा मात्र देखिन्छ।"
सोस्नोफका अनुसार अहिलेको बजारमा ठुलो मात्रा र ठुलो अस्थिरता छ। तर यसको पछाडि कुनै ठोस लय वा कारण छैन। उनी भन्छन्, "तपाईँ जति चाहनुहुन्छ त्यति आधारभूत वा प्राविधिक कारणहरू बनाउन सक्नुहुन्छ। तर वास्तवमा यो केवल एउटा मीम स्टक व्यापार मात्र हो।" उनले हेडलाइन र सामाजिक सञ्जालबाट आकर्षित भएर बजारमा छिर्ने नयाँ सहभागीहरूलाई सावधान रहन चेतावनी दिएका छन्। फ्युचर्स वा ईटीएफ बजारमा पहिले कारोबार नगरेकाहरूका लागि यो स्तरको उतारचढाव निकै चुनौतीपूर्ण हुन सक्छ।
फरक मत र औद्योगिक मागको तर्क
यद्यपि, सबै विश्लेषकहरू चाँदीलाई केवल एउटा मीम कथाका रूपमा मात्र हेर्नुपर्छ भन्ने कुरामा सहमत छैनन्। वेदा पार्टनर्सकी प्रबन्ध साझेदार हेनरिटा ट्रेजले बहुमूल्य धातुहरूमा देखिएको यो चाल अचम्मलाग्दो रहेको बताएकी छन्। उनले बाहिरी पर्यवेक्षकको नजरबाट हेर्दा यसमा 'मीम स्टक कम्पोनेन्ट' निकै जीवित र सक्रिय रहेको स्वीकार गरिन्, जसले गेमस्टपको सम्झना गराउँछ।
अर्कोतर्फ, ओसीबीसीमा लगानी रणनीतिका प्रबन्ध निर्देशक वासु मेननले चाँदीको स्वभाव अलि फरक रहेको तर्क गरे। उनका अनुसार चाँदीले कहिलेकाहीँ मीम वस्तु जस्तो व्यवहार गरे पनि यो स्वभावैले त्यस्तो होइन। उनले चाँदीको वास्तविक मूल्यलाई सौर्य प्यानल विद्युतीय सवारी साधन र इलेकट्रोनिक्स क्षेत्रबाट हुने औद्योगिक मागले टेवा पुर्याउने बताए। यद्यपि, मेननले पनि अहिलेको तीव्र चालमा 'अनुमान'ले ठुलो भूमिका खेलेको र यस्तो तीखो सुधार चाँदीको 'डीएनए' कै हिस्सा भएको स्वीकार गरेका छन्।
इजिप्टको कायरोस्थित सुन बजार क्षेत्रमा स्थानीय मुद्राको अवमूल्यनपछि चाँदी र सुनको मूल्यमा भएको वृद्धिको प्रभाव देखिन थालेको छ। त्यहाँका विक्रेताहरूले विभिन्न मोडेल र तौलका चाँदीका बुलियनहरू देखाउँदै ग्राहक आकर्षित गरिरहेका छन्। तर विश्व बजारमा भने चाँदीको यो 'मीम' यात्रा कति दिन टिक्ला भन्ने चासो र चिन्ता अझै कायम छ।
(सीएनबीसीको सहयोगमा तयार पारिएको)