लक इन खुलेपछि नकारात्मक सर्किट लाग्ने गरेपनि कालिन्चोकको शेयर सकारात्मक सर्किट लागेर कारोबार भयो, कसरी ?

Feb 04, 2026 05:48 AM Merolagani



बाबुकृष्ण महर्जन

कालिञ्चोक दर्शन लिमिटेड KDL को संस्थापक शेयरको लक इन अवधि माघ १७ गते सकिएको थियो । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ जारी गरेका कम्पनीको संस्थापक शेयर आईपीओ बाँडफाँट गरेको मितिले ३ वर्षभित्र लक इन अवधि समाप्त हुने प्रावधान छ। 

लक इन अवधि समाप्त भएपछि सबै शेयर सर्वसाधारण शेयर सरह सोही मूल्यमा कारोबार हुने व्यवस्था छ । कालिन्चोक दर्शन लिमिटेड (केडीएल) को संस्थापक शेयरको लक इन अवधि समाप्त भएको दिन माघ १७ गते शनिबार परेको थियो । त्यसको लगत्तै आइतबारबाट कालिन्चोक दर्शनको संस्थापक शेयरको समेत सर्वसाधारणसरह कारोबार योग्य भएको थियो । साधारणतया संस्थापक शेयरको लक इन खुलेको दिनमा उच्च शेयर आपूर्तिको कारण नकारात्मक सर्किट लागेर घट्ने गर्दछ।

तर आइतबार शेयर आपूर्ति बढ्नुको सट्टा अघिल्लो कारोबार दिन भन्दा कम अर्थात ५ हजार ८ सय कित्ता मात्रै शेयर कारोबार भयो भने शेयर मूल्यमा १२.४० रुपैयाँले मात्रै गिरावट आएर ७९० रुपैयाँमा कारोबार बन्द भयो । त्यसको अघिल्लो कारोबार दिनमा ९ हजार ५ सय कित्ताको कारोबार भएको थियो । लक इन खुलेको दोस्रो दिन पनि ७ हजार ७ सय कित्ताको हाराहारीमा मात्रै शेयर कारोबार भयो जसमा शेयर मूल्य २.५ प्रतिशतले बढेर ८ सय १० रुपैयाँमा अन्तिम कारोबार भएको थियो तर मंगलबार भने कालिञ्चोकको शेयरमा सकारात्मक सर्किटसहित २५ हजार कित्ता शेयरको कारोबार भयो । सामान्य रुपमा कारोबार भइरहेको कम्पनीमा अकस्मात सर्किट लेभलमा कारोबार भए पछि लगानीकर्ताले कालिन्चोक दर्शनको शेयरबारे सोधपुछ गर्न थाले ।

एक लगानीकर्ताले ‘लक इन पिरियड’ खुलेको कालिन्चोक दर्शनको शेयरमा कसरी सर्किट लाग्यो भनेर मेरो लगानीमा फोन समेत गर्न भ्याए । वास्तवमा लक इन पिरियड खुले पनि वास्तविक संस्थापक शेयरधनीले शेयर बेच्न नपाएको कारण सोचे जस्तो शेयर सप्लाई नआएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक अशोक सिवोकाटीले बताए । उनले भने–‘सीडीएससीको डबल आइजीन लगाउने व्यवस्था पूर्ण रुपमा लागू नहुँदा संस्थापक शेयर कारोबार हुन पाएको छैन। अहिले बजारमा सर्वसाधारण शेयर बाहेक कर्मचारी र स्थानीय आयोजना प्रभावितलाई बाँडेको शेयरको मात्रै थप आपूर्ति भएको छ ।’ कालिन्चोकले जारी गरेको सूचना अनुसार संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको २१ हजार ६ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानयि वासिन्दालाई सुरक्षित गरिएको १ लाख २० हजार कित्ता गरी कुल ४९ लाख ४१ हजार ६ सय कित्ता शेयरको लक इन अवधि समाप्त भएको छ ।

त्यसमध्ये कर्मचारीलाई आरक्षित गरिएको २१ हजार ६ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई सुरक्षित गएिको १ लाख २० हजार कित्ता शेयर साधारण समूह अन्तर्गत नै लक गरिएको शेयर मात्रै कारोबार योग्य भएको कार्यकारी निर्देशक सिवाकोटीले बताए । बाँकी ४८ लाख कित्ता शेयर भने डबल आइजीनको व्यवस्था पूर्ण कार्यान्वयनमा आइसकेपछि वा सेबोनले अन्य कुनै वैकल्पिक व्यवस्था गरेपछि मात्रै कारोबार योग्य हुनेछ । कुल जारी पुँजीको ८० प्रतिशत हिस्सा रहेको मुख्य संस्थापक शेयरको लक इन पिरियड सकिए पनि नीतिगत अन्यौलताका कारण कारोबारमा आउन नसकेपछि न्यून सप्लाईको मौका उठाउँदो केही सिमित लगानीकर्ताले कम्पनीको शेयर मूल्य उचालेको हुन सक्ने एक लगानीकर्ताले बताए ।

कालिन्चोक दर्शनले आईपीओ जारी गरेपछि अहिलेसम्म लाभांशको रुपमा ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् ०.२६३२ गरी ५.२६३२ लाभांश वितरण गरेको छ । सोही साधारण सभाले बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । अहिले ५ प्रतिशत बोनस शेयर सूचीकरण भए पश्चात कम्पनीको चुक्ता पुँजी ६३ करोड रुपैयाँ हुनेछ । १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनपछि भने कम्पनीको चुक्ता पुँजी नै १ अर्ब २६ करोड रुपैयाँको हुनेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।