एकै दिन होटल इच्छा, एसियन ब्याट्रीज र हुलास आइरन थपिए सेबोनको आईपीओ पाइपलाइनमा, चालु आवमा पाए १५ कम्पनीले अनुमति

Feb 04, 2026 06:10 PM MeroLagani



फागुन २१ मा हुने चुनावकाे मिति नजिकिँदै गर्दा नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि जाने कम्पनीहरु पनि विस्तारै बढ्न थालेका छन्। बुधबार मात्रै आईपीओ सूचीमा तीन वटा कम्पनी थपिएकाे भन्दै सेबोनको पाइपलाइनमा चढाएको छ।

नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बाहुल्यता रहेको छ भनिएको छ तर पछिल्लो समय सेबोनमा आएका कम्पनीहरु भने वास्तविक क्षेत्रका कम्पनीहरु बढी छन् । बुधबार होटल तथा पर्यटन समूह अन्तर्गत होटल इच्छाले ३५ लाख कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । यो समूह अन्तर्गत अहिले १० वटा कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सेबोनमा आवेदन दिएका छन्।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह अन्तर्गत बुधबार दुई वटा कम्पनीले आवेदन दिएका छन् । एसियन ब्याट्रिज लिमिटेडले १३ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । विद्युतीय गाडी तथा घरायसी प्रयोगको ब्याट्री उत्पादन गर्ने यस कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । निर्माण सामाग्री उत्पादनकर्ता हुलास आयरन इन्डष्ट्रिले २ सय ५५ रुपैयाँ प्रिमियम मूल्यमा ९७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ । कम्पनीको रेटिङ हुने कम्पनीले इक्रा बीबीबी रेटिङ पाएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

नेपालको पूँजी बजारमा हालै सार्वजनिक भएको आईपीओ पाइपलाइनले लगानीकर्तामाझ नयाँ उत्साह र अवसरको वातावरण सिर्जना गरेको छ। विभिन्न क्षेत्रका कम्पनीहरूले अहिले करिब ५९ अर्ब रुपैयाँभन्दा बढीको आईपीओ ल्याउन तयारी गरिरहेका छन्।

यस पाइपलाइनमा होटल, पर्यटन, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, इन्स्योरेन्सदेखि अन्य क्षेत्रमा झन्डै सय वटा कम्पनीले आईपीओ ल्याउन तयारी गरेका छन्। यसले लगानीकर्तालाई विभिन्न क्षेत्रका कम्पनीमा लगानी गर्ने अवसर दिनेछ, जसले जोखिमलाई विभाजन गर्न मद्दत पुर्याउनेछ। सेबोनको पाइपलाइनमा अहिले होटल तथा पर्यटन समूहमा १० वटा, हाइड्रोपावर समूहमा ३४ वटा, लगानी समूहमा ४ वटा, उत्पादन तथा प्रशोधन समूहमा २५ वटा, लघु बीमा समूहमा ३ वटा र अन्यमा ११ वटा गरी कुल ८७ वटा कम्पनीले आवेदन दिएका छन्।

चालु आवमा नेपाल धितोपत्र बोर्डले ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ९ वटा हाइड्रोपावर कम्पनी, १ वटा विकास बैंक र एक वटा होटल तथा पर्यटन समूहका गरी १५ वटा कम्पनीलाई मात्रै आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ । लामो समय सेबोन अध्यक्षरहित हुनु तथा करिब २ महिना भन्दा बढी सेबोनमा कर्मचारीहरुको आन्दोलन कायम रहँदासमेत आईपीओ अनुमतिमा ढिलाई भएको हो ।

औद्योगिक क्षेत्रका ठूला कम्पनीहरू जस्तै जगदम्बा स्टिल्स (रु. ६ अर्ब), शौर्या सिमेन्ट (रु. ४.२२ अर्ब), मारुती सिमेन्ट (रु. ४.३७ अर्ब) लगायतका कम्पनीहरूले आईपीओ ल्याउँदा बजारमा औद्योगिक क्षेत्रको आकर्षण बढ्नेछ। त्यस्तै होटल सब्रिना (रु. ४७ करोड), स्वर्णिम होटल (रु. ३८ करोड), इच्छा होटल (रु. ३५ करोड) जस्ता परियोजनाले पर्यटन क्षेत्रमा लगानीकर्ताको विश्वास बढाउनेछन्।

हाइड्रोपावर क्षेत्रमा सिउरी न्यादी पावर लिमिटेड (रु. ३०.३६ अर्ब) जस्ता ठूला परियोजनाले ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानीको अवसर दिनेछन्। यसले देशको ऊर्जा आत्मनिर्भरता र औद्योगिक विकासलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।

नियामक निकायका लागि यो पाइपलाइन चुनौती मात्र होइन, अवसर पनि हो। यति धेरै कम्पनीहरू सार्वजनिक हुँदै गर्दा पूँजी बजार अझै गहिरो र परिपक्व बन्नेछ। लगानीकर्ताले अब एकैपटक विभिन्न क्षेत्रका कम्पनीमा लगानी गर्ने विकल्प पाउनेछन्, जसले बजारलाई दीर्घकालीन रूपमा स्थिर र आकर्षक बनाउनेछ।

यस पाइपलाइनले लगानीकर्तालाई नयाँ कम्पनीमा प्रवेश गर्ने अवसर दिने मात्र होइन, पुराना कम्पनीहरूको मूल्यांकनमा पनि सकारात्मक दबाब सिर्जना गर्नेछ। जब बजारमा नयाँ कम्पनीहरू प्रवेश गर्छन्, प्रतिस्पर्धा बढ्छ। प्रतिस्पर्धाले दक्षता र पारदर्शिता बढाउँछ, जसले अन्ततः लगानीकर्तालाई फाइदा पुर्याउँछ।

ठूला उद्योगहरूले ल्याउने आईपीओले बजारमा ठूलो पूँजी भित्र्याउनेछ, जसले औद्योगिक विस्तारलाई गति दिनेछ। सिमेन्ट, स्टिल, औषधि, ऊर्जा, होटल, पर्यटन जस्ता क्षेत्रहरूमा पूँजी भित्रिँदा रोजगारी बढ्नेछ, उत्पादन क्षमता विस्तार हुनेछ र देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ। यसले सरकारलाई पनि कर राजस्व बढाउन मद्दत गर्नेछ।

लगानीकर्ताका लागि यो पाइपलाइनले नयाँ अवसर मात्र होइन, दीर्घकालीन लाभको सम्भावना पनि ल्याएको छ। प्रिमियम दरमा आउने कम्पनीहरूले उच्च मूल्यांकन देखाए पनि यदि ती कम्पनीहरूले भविष्यमा नाफा बढाउन सके भने लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन्। यसले लगानीकर्तालाई दीर्घकालीन सोचसहित लगानी गर्न प्रेरित गर्नेछ।

पूँजी बजारमा यति ठूलो पाइपलाइन आउनु आफैंमा ऐतिहासिक घटना हो। यसले नेपाललाई क्षेत्रीय पूँजी बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ। जब यति धेरै कम्पनीहरू सार्वजनिक हुन्छन्, विदेशी लगानीकर्ताको ध्यान पनि नेपालतर्फ आकर्षित हुन सक्छ। यसले विदेशी पूँजी भित्र्याउने सम्भावना बढाउनेछ। विदेशी पूँजी भित्रिँदा देशको भुक्तानी सन्तुलनमा सुधार हुनेछ, र विदेशी मुद्रा भण्डारमा वृद्धि हुनेछ। यसले देशलाई आर्थिक रूपमा अझै सबल बनाउनेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।