विश्व बजारमा सुन र चाँदीको मूल्यमा आएको अभूतपूर्व वृद्धिका कारण यी पदकहरूको वित्तीय मूल्य निकै बढेको हो। स्कीइङ, आइस हक्की, फिगर स्केटिङ र कर्लिङजस्ता खेलका विश्वका शीर्ष खेलाडीहरूका लागि यस पटक ७०० भन्दा बढी स्वर्ण, रजत र कांस्य पदकहरू तयार पारिएको छ। एउटा खेलाडीका लागि पदकको भावनात्मक मूल्य अमूल्य भए तापनि, बजार मूल्यका हिसाबले यी पदकहरू यसअघिका सबै रेकर्ड तोड्ने खालका छन्।
फ्याक्टसेटको तथ्याङ्क अनुसार, सन् २०२४ जुलाईमा भएको पेरिस ओलम्पिकयता सुनको मूल्य करिब १०७ प्रतिशत र चाँदीको मूल्य करिब २०० प्रतिशतले बढेको छ। धातुको यही मूल्यलाई आधार मान्दा अहिले एउटा स्वर्ण पदकको मूल्य करिब २,३०० डलर (करिब ३ लाख ३३ हजार ५०० नेपाली रुपैयाँ) पुगेको छ। यो पेरिस ओलम्पिकको तुलनामा दोब्बरभन्दा बढी हो। त्यस्तै, दोस्रो स्थान हासिल गर्नेले पाउने रजत पदकको मूल्य करिब १,४०० डलर (करिब २ लाख ३ हजार नेपाली रुपैयाँ) कायम भएको छ। जुन दुई वर्षअघिको तुलनामा तीन गुणा बढी हो। (१ अमेरिकी डलर = १४५ नेपाली रुपैयाँको विनिमय दरका आधारमा)। मुख्यतया केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनु र विश्वव्यापी राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुनाले मूल्य बढेको विज्ञहरूको भनाइ छ।
स्वर्ण पदकमा कति हुन्छ सुन ?
ओलम्पिकको स्वर्ण पदक नाम जस्तै पूर्ण रूपमा सुनको हुँदैन। इटालियन टकसाल (Italian State Mint) ले पुनर्नवीनीकरण गरिएको धातुबाट यी पदकहरू तयार पारेको हो।आयोजकका अनुसार एउटा स्वर्ण पदकको कुल तौल ५०६ ग्राम हुन्छ। जसमा मात्र ६ ग्राम शुद्ध सुन प्रयोग गरिएको हुन्छ। पदकको बाँकी भाग चाँदीले बनेको हुन्छ। अर्कोतर्फ, कांस्य पदक भने मुख्यतया तामाबाट बनेको हुन्छ। ४२० ग्राम तौल भएको एउटा कांस्य पदकको बजार मूल्य मात्र ५.६० डलर (करिब ८१२ नेपाली रुपैयाँ) जति मात्र पर्न आउँछ।
लन्डनस्थित लिलामी घर 'बाल्डविन' का अनुसार सन् १९१२ मा स्वीडेनको स्टक होममा भएको ओलम्पिकपछि स्वर्ण पदक पूर्ण रूपमा शुद्ध सुनबाट बनाउन छोडिएको हो। १९१२ का ती पदकहरू मात्र २६ ग्रामका थिए। जसको मूल्य तत्कालीन समयमा २० डलरभन्दा कम थियो । आजको मुद्रास्फीति र डलरको भाउ अनुसार समायोजन गर्ने हो भने त्यसको मूल्य करिब ५३० डलर (७६ हजार ८५० नेपाली रुपैयाँ) को नजिक पुग्छ।

ऐतिहासिक र भावनात्मक मूल्य बढी
बजारमा धातुको मूल्य जतिसुकै भए पनि सङ्कलनकर्ताहरूका लागि ओलम्पिक पदकको मूल्य लाखौँमा हुने गर्छ। बाल्डविनका प्राचीन सिक्का विज्ञ डोमिनिक चोर्नीका अनुसार सन् २०१५ मा सन् १९१२ को एउटा ओलम्पिक स्वर्ण पदक २६,००० डलर (करिब ३७ लाख ७० हजार नेपाली रुपैयाँ) मा बिक्री भएको थियो। त्यस्तै, सन् १९२० को एन्टवर्प ओलम्पिकको एउटा कांस्य पदक ८७५ डलर (करिब १ लाख २६ हजार ८७५ नेपाली रुपैयाँ) मा लिलामी भएको थियो। चोर्नी भन्छन्, "कांस्य पदकको धातुको मूल्य खासै नभए पनि विश्वको सबैभन्दा ठुलो खेल मेलासँग जोडिएको इतिहासका कारण यसको माग उच्च हुन्छ।" यद्यपि, धेरैजसो ओलम्पियनहरूले आफ्ना पदकहरू कहिल्यै बेच्दैनन् किनकि उनीहरूका लागि यो मेडल वर्षौंको कडा मेहनत र गौरवको प्रतीक हो।
आगामी ओलम्पिक अझ महँगो हुने प्रक्षेपण
हालको भू-राजनीतिक अनिश्चितता र विभिन्न देशहरूको बढ्दो ऋणका कारण बहुमूल्य धातुहरूको माग अझै बढ्ने देखिन्छ। स्याक्सो बैंकका कमोडिटी रणनीति प्रमुख ओले हान्सेनका अनुसार सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ग्रीष्मकालीन ओलम्पिकका पदकहरू अहिलेको तुलनामा अझ महँगो हुने सम्भावना छ।
सीएनएनका लागि हन्ना जियादीले तयार पारेको रिपोर्ट