हाइड्रोपावरमै फर्केका हुन त लगानीकर्ता ?

Feb 05, 2026 06:50 PM MeroLagani



नेप्सेमा बिहीबारको कारोबारमा हाइड्रोपावर क्षेत्र प्रमुख आकर्षण बनेको छ। समग्र सूचकांक २७.१९ अंकले बढ्दै २,७०८.७० मा बन्द हुँदा जलविद्युत् उपसूचकांक मात्र ५८.५० अंकले उक्लिएर ३,५८१.४३ मा पुगेको छ, जसले १.६६ प्रतिशतको वृद्धि देखायो। यसले बजारमा ऊर्जा क्षेत्रको योगदान निर्णायक रहेको स्पष्ट संकेत गरेको छ।

युनियन हाइड्रोपावर,राधी विद्युत कम्पनी, आँखुखोला जलविद्युत कम्पनी जस्ता जलविद्युत् कम्पनीहरूले उच्च कारोबार रकम र शेयर संख्यामा अग्रता लिएका छन्। युनियन हाइड्रोपावरले रु. ५८.७७ करोडभन्दा बढीको कारोबार गर्दै बजारलाई तानेको छ भने राधी विद्युत र आँखुखोला हाइड्रोपावर पनि क्रमशः रु. ५७.५० करोड र रु. ३५.६५ करोडको कारोबारमा सक्रिय रहे। यससँगै रिडी पावर र शिवश्री हाइड्रोपावर जस्ता कम्पनीहरूले पनि उल्लेखनीय कारोबार संख्यामा योगदान दिएका छन्।

बिहीबारको बजारमा कुल कारोबार रकम ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने ३५.५७ लाखभन्दा बढी शेयर किनबेच भएका छन्। २०१ कम्पनीको मूल्य बढ्दा ५५ कम्पनी घटेका छन् र ४ कम्पनी अपरिवर्तित रहे। यसले बजारमा लगानीकर्ताको मनोबल उच्च रहेको देखाउँछ। कुल कारोबारमा ५६.३१ प्रतिशत कारोबार हाइड्रोपावर क्षेत्रका कम्पनीहरुको मात्रै भयो । हाइड्रोपावर समूहको ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हाइड्रोपावर समूहपछि दोस्रो धेरै कारोबार हुने समूहमा उत्पादन तथा प्रशोधन समूहका कम्पनीको कुल कारोबारमा ८.४३ प्रतिशत कारोबार भयो । उत्पादन तथा प्रशोधन समूहका कम्पनीको ९७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

केही समय अघिसम्म जेनजी स्टक भनिएका भर्खरै आइपीओ आएका कम्पनीहरुमा चार्म देखिए पनि अहिले स्टकको बजार मूल्य खासै नघटे पनि साइडवेजमा देखिन थालेका छन् तर बजारमा सक्रिय लगानीकर्ताहरुले कहिले कुन समूह कहिले कुन समुह चलाउँदै गर्दा बिहीबारबाट भने प्रत्यक्ष रुपमा हाइड्रोपावर समूहमा प्रवेश गरेको देखिएको छ । बिहीबारको कारोबार शीर्षस्थ १० मूल्य बढेका कम्पनीमा ८ वटा हाइड्रोपावर समुहकै परेका छन् भने धेरै मूल्यको शेयर कारोबारमा पनि ५ वटा कम्पनी हाइड्रापावरकै छन् । धेरै कित्ताको शेयर कारोबार भएका १० कम्पनीमा पनि ९ वटा कम्पनी हाइड्रोपावर समूहकै छन् भने सबैभन्दा धेरै पटक शेयर कारोबार भएका १० कम्पनीमा समेत ७ वटा कम्पनी हाइड्रोपावर समूहकै परेका छन्। लगानीकर्ताहरुका अनुसार पछिल्लो समय बैंकको व्याज दर हरेक महिना घट्दो दरमा रहेका छन् । अहिले धमाधम दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भइरहेका छन् । हाइड्रोपावर कम्पनीमा ऋणको अंश धेरै हुन्छ । ऋणको व्याज दर सस्तो हुँदा त्यसको असर कम्पनीको वित्तीय विवरण प्रकाशित गर्दा सकारात्मक प्रभाव देखिने गर्दछ । त्यसको लाभ उठाउन पनि अहिले बजारका कारोबारीहरुले हाइड्रोपावरको शेयर उठाउन थालेका लगानीकर्ताहरु बताउँछन्।

क्षेत्रगत सूचकांकमा पनि सकारात्मक प्रभाव देखियो। बैंकिङ उपसूचकांक ०.५६ प्रतिशतले बढेर १,३७२.२२ मा पुगेको छ भने विकास बैंक ०.९३ प्रतिशतले बढेर ५,८१८.६९ मा पुगेको छ। वित्त, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा सबैमा वृद्धि देखिएको छ। विशेषगरी निर्जीवन बीमा र अन्य सूचकांक दुवै १.९८ प्रतिशतले बढेका छन्। यसले बजारमा बीमा क्षेत्रको योगदान पनि उल्लेखनीय रहेको देखाउँछ। तर, व्यापार सूचकांक भने ०.४८ प्रतिशतले घटेर ३,७९१.०६ मा पुगेको छ।

उच्च वृद्धि देखाउने कम्पनीहरूमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र रिडी पावर रहेका छन्, जसले करिब १० प्रतिशतसम्मको लाभ हासिल गरे। तर, सुपर मादी हाइड्रोपावर, मेगा म्युचुएल फन्ड–१ र मायाखोला हाइड्रोपावर जस्ता कम्पनीहरूमा उल्लेखनीय गिरावट देखियो। कारोबार संख्यामा एसवाई प्यानल नेपाल अगाडि रह्यो भने एचएलआई लार्ज क्याप फन्डको सबैभन्दा बढी शेयर कारोबार गर्यो।

विश्लेषकहरूका अनुसार हाइड्रोपावर क्षेत्रमा देखिएको चहलपहलले लगानीकर्ताको मनोबल बढाएको छ। ऊर्जा क्षेत्रमा दीर्घकालीन सम्भावना, सरकारी नीतिगत समर्थन र निजी क्षेत्रको सक्रियता यस समूहलाई अझै बलियो बनाइरहेको छ। ९७ वटा कम्पनी सुचीकृत भएको हाइड्रोपावर कम्पनीहरु चलायमान हुँदा त्यसले नेप्से परिसूचकलाई नै तलमाथि पार्ने सामथ्र्य राख्दछ । हाइड्रोपावर समूहमा हाइ क्यापदेखि मिड क्याप, लो क्याप सबै खालका कम्पनीहरु समावेश भएको हुँदा पछिल्लो समय यो समूह सदावहार चर्चामा आइरहने समूह बनेको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।