आपूर्ति सहज हुँदाहुँदै खाना पकाउने ग्यासको अभाव किन छ ? यसो भन्छन् उपभोक्ताकर्मीहरु

Feb 09, 2026 10:58 AM Merolagani



पछिल्लो दुई सातादेखि सुरु भएको खाना पकाउने ग्यासको अभाव अहिलेसम्म हट्न नसकेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित विभागले समेत खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज भएको र मागभन्दा बढी नै ग्यास बुलेट आइरहेको बताए पनि आम उपभोक्ताले भने अहिले पनि ग्यासको अभाव झेल्नुपरेको छ ।

निगम र विभागका कर्मचारीहरु पनि ग्यासको आपूर्ति सहज भएकाले त्यसकाे अभाव नभएको बताइरहे पनि आम उपभोक्ताले भने अहिलेसम्म सहज रुपमा ग्यास पाउन सकेका छैनन् । सिमित व्यापारी र साना डिपोहरुले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर आफुखुसी मूल्यमा बेच्दा आम उपभोक्ता मर्कामा परेका हुन् ।

अहिले अधिकांश डिपोहरुमा खाली सिलिन्डरको लाइन छ । खाली सिलिन्डर बुझाएको हप्तौंहुँदा पनि आम ग्राहकले ग्यास पाउन सकेका छैनन् । ग्यास बिक्रेता तथा डिपोहरुले खाली सिलिन्ड लिनै मान्दैनन् र भरिएको नयाँ सिलिन्डरलाई भने चर्को मूल्यमा बेच्ने गरेका छन् ।

खाली सिलिन्डर बुझाएको नपाएपछि नयाँ सिलिन्डरलाई नै ५ हजार रुपैयाँ बुझाएर ल्याउनुपरेको घट्टेकुलोकी गीता कँडेलले बताइन् । ‘बजारमा अहिले पनि ग्यासको अभाव छ । व्यापारीहरुले ग्यास नआएको भन्दै फर्काइदिन्छन्,’उनले भनिन्, ‘खाली सिलिन्डर साटिँदैन् । सिलिन्डिरसहित नयाँ किन्दा ५ हजार असुल्छन् ।’

यसअघि सिलिन्डरसहित भरि ग्यासको मात्रै ४ हजार रुपैयाँमा पाइने गरेको भए पनि पछिल्लो दिनमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी आफुखुसी मूल्यमा ग्यास बेच्ने गरेको उपभोक्ताको गुनासो छ । साना डिपो र बिक्रेताहरुले ग्यास लुकाउने र कृत्रिम अभाव सिर्जना गरी नाफा खाएर बेच्ने गर्दा अहिले पनि आम उपभोक्ताले सहज रुपमा ग्यास पाउन नसकेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले खाना पकाउने ग्यासको आपूर्ति सहज भइसकेको र साना व्यापारीले लुकाएर बेच्दा अहिले पनि अभाव नै रहेको बताए ।

‘अहिले खाना पकाउने ग्यासको आपूर्ति सहज भइसकेको छ । हामीले अध्ययन गर्दा पनि बरु मागभन्दा बढी नै ग्यास आएको पायौं,’ उनले भने, ‘स–साना ग्यास डिपोहरुले कृत्रिम अभाव सिर्जना गरे, कतिपयले लुकाएर अरु ग्यास नपाएकाहरुलाई महंगोमा बेच्दा समस्या भएको हो ।’

बजारमा ग्यास अभाव नहोस् भनेर नेपाल आयल निगमले मागभन्दा बढी नै ग्यास आयात गरेको जनाएको छ । सन् २०२६ जनवरीमा मात्रै निगमले ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात गरी बिक्री गरेको जनाएको छ । त्यस्तै आसन्न निर्वाचनलाई लक्षित गरी निगमले थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने समेत जनाइरहेको छ ।

त्यसकारण, अहिले बजारमा हल्ला फिजिएजस्तो गरी ग्यास आपूर्तिमा भने कुनै समस्या नरहेको वाणिज्य विभागले जनाएको छ ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।