बजार घटाउन प्रमुख योगदान कसको?

Feb 09, 2026 06:19 PM MeroLagani



नेपालको समग्र शेयर बजार परिसूचक नेप्से सोमबार २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा आयाे । बजार घट्दा पनि हाइड्रोपावर समूहका २ वटा कम्पनीहरु खानीखोला हाइड्रोपावर र रिडी पावर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने । लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनीलगायतका हाइड्रोपावर समूहका कम्पनीहरु ४ प्रतिशतभन्दा बढीले बढे ।

हाइड्रोपावर समूहका कम्पनीहरु धेरै शेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष स्थानमा रहँदा सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा पनि हाइड्रोपावर समूहकै कम्पनीहरु परे । सोमबार सबैभन्दा धेरै मायाखोला हाइड्रोपावर ५.४० प्रतिशतले घट्याे भने त्यसलाई पछ्याउँदै माबिलुङ इनर्जी ४.९३ प्रतिशतले घट्याे । त्यस्तै सुपरमाई हाइड्रोपावर ४.४८ प्रतिशत र हिमस्टार ऊर्जा ४.२० प्रतिशतले घटन पुगे । टप गेनर १० कम्पनीमध्ये ८ वटा, टप लुजरका १० मध्ये ४ वटा हाइड्रोपावर समूहकै कम्पनी परे । त्यस्तै टप टर्नओभरको शीर्ष १० मध्ये ९ वटा, टप भोल्युम र टप ट्रान्जेक्सनको शीर्ष १० मध्ये ८ वटा कम्पनी पनि हाइड्रोपावर समूहकै परेका छन् ।

नेप्सेको शीर्षस्थ धेरै कमाउने, धेरै गुमाउने, धेरै रकमको कारोबार गर्ने, धेरै कित्ता कारोबार गर्ने र धेरै पटक कारोबार गर्ने कम्पनीमा हाइड्रोपावर समूहको कम्पनीहरु परे पनि सोमबार नेप्सेमा घटाउनमा सबैभन्दा ठूलो योगदान भने नेपाल रिइन्स्योरेन्स कम्पनी सम्मिलित रहेको अन्य समूहको रहेको छ । मेरो लगानीको डाटा एनालाइटिक्सका अनुसार नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये सोमबार नेप्से घटाउन सबैभन्दा ठूलो योगदानकर्ता भने अन्य समूह रहेको छ । उक्त समूहले २६.०५ अंकको नेप्से घटाईमध्ये ५.३९ अंकको योगदान गरेको छ । त्यस्तै वाणिज्य बैंक समूहको ४.४८ अंकले उत्पादन तथा प्रशोधनको २.३३ अंक योगदान रहेको छ । नेप्सेमा सबैभन्दा धेरै कम्पनी सूचीकृत हाइड्रोपावर समूहको योगदान भने सोमबारको नेप्से घटाईमा २.३१ अंक मात्रै योगदान रहेको छ । त्यस्तै जीवन बीमाको २.२७, निर्जीवन बीमाको १.८०, लगानी समूहको १.७८, विकास बैंकको १.७१, लघुवित्तको १.३४, होटल तथा पर्यटनको १.२० र फाइनान्स समूहको १.१० अंक योगदान रहेको छ ।

सोमबार बजार घटाउनमा सबैभन्दा धेरै योगदान कम्पनीतर्फ नेपाल रिइन्स्योरेन्स कम्पनीको रहेको छ । मेरो लगानी डाटा एनालाइटिक्सका अनुसार नेपाल रिइन्स्योरेन्सले मात्रै ३.५५ अंकको योगदान गरेको छ । सोमबार नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य ४४.९० रुपैयाँले घटेर १२७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अन्य कम्पनीको योगदान भने १ अंक भन्दा कम छ । नेपाल टेलिकम, एसवाई प्यानल नेपाल, बन्दीपुर केबुलकार, नागरिक लगानी कोष, एनआरएन, सिद्धार्थ बैंक, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको योगदान सोमबारको नेप्से घटाईमा प्रमुख रहेका छन् ।

नेप्से परिसूचकको गणना विधि बजार पुँजीकरणमा आधारित छ । बजार पुँजीकरणका आधारमा ठूला कम्पनीहरुको अधिकतम घटाई र बढाईले नेप्से परिसूचकमा प्रत्यक्ष असर पर्ने गरेको छ । नेपाल रिइन्स्योरेन्सको सोमबारको मूल्य अनुसार बजार पुँजीकरण १ खर्ब ७१ करोड ३२ लाख रुपैयाँ छ । ४४ खर्ब ८७ अर्ब रुपैयाँको बजार पुँजीकरणमा भएको नेप्सेमा झन्डै पौने २ खर्ब बजार पुँजीकरण भएको नेपाल रिइन्स्योरेन्सको ३.४० प्रतिशतको घटाईले नेप्सेको घटाईमा मुख्य योगदान दिने गरेको हो ।

बजार पुँजीकरणको हिसाबले नेप्सेमा सबैभन्दा ठूलो कम्पनी बिशाल बजार कम्पनी लिमिटेड हो । पछिल्लो समय नेप्से परिसूचक बढाउन वा घटाउन बजार अपरेटरहरुले बिशाल बजार कम्पनी, नेपाल रिइन्स्योरेन्स, नेपाल टेलिकम, अप्पर तामाकोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक जस्ता बिशाल पुँजीकरण भएका कम्पनी चलाउने गरेका छन् । बजारमा अधिकांश कम्पनी घटे पनि यी अत्यधिक बजार पुँजीकरण भएका कम्पनी सकारात्मक भएमा नेप्से परिसूचक नै सकारात्मक तथा बजारमा धेरै कम्पनी बढ्ने तर यस्ता बजार पुँजीकरण धेरै भएका कम्पनी घट्दा पनि नेप्से पुँजीकरण नै ऋणात्मक लयमा जाने गरेको छ ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।