हकप्रदको पाइप लाइनबाट एकाएक किन गायब भयो साहस ऊर्जा ? यस्तो छ कारण

Feb 11, 2026 05:48 PM merolagani



हिजो मात्रै शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको साहस ऊर्जा लिमिटेड आज बोर्डको ‘पाइपलाइन’ सूचीबाट एकाएक गायब भएको छ। 

बोर्डले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कमा साहस ऊर्जाको नाम समावेश भए पनि बुधवारको अद्यावधिक सूचीमा यो कम्पनी नदेखिएपछि लगानीकर्तामाझ अन्योल सिर्जना भएको छ।

कम्पनीको नाम पाइप लाइनबाट हट्नुको पछाडि प्राविधिक कारण नभई आवश्यक कागजातको अभाव रहेको पाइएको छ। धितोपत्र बोर्डका एक अधिकारीका अनुसार साहस ऊर्जाले बोर्डमा निवेदन दिँदा प्रक्रियागत रूपमा आवश्यक पर्ने एउटा महत्त्वपूर्ण कागजात समावेश नगरेको पाइएपछि सूचीबाट हटाइएको हो।

“जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिनुअघि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ,” बोर्डका ती अधिकारीले भने, “साहस ऊर्जाको आवेदन फाइल अध्ययन गर्दा विद्युत् नियमन आयोगको उक्त पूर्व स्वीकृति पत्र समावेश भएको भेटिएन। प्रक्रिया नपुगी पाइप लाइनमा राख्न नमिल्ने भएपछि अहिलेलाई सूचीबाट हटाइएको हो।” बोर्डका अनुसार कम्पनीले आयोगबाट स्वीकृत पत्र ल्याएर पेस गर्ने बित्तिकै पुनः पाइप लाइनको सूचीमा समावेश गरिनेछ। यो केवल प्रक्रियागत त्रुटि सच्याउनका लागि गरिएको कदम मात्र भएको र कम्पनीको आवेदन नै खारेज भने नभएको बोर्डको प्रस्टोक्ति छ।

 

साहस ऊर्जाले १:१ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पूँजी सङ्कलन गर्ने लक्ष्यका साथ निवेदन दिएको थियो। यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

साहस ऊर्जासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि १:१ कै अनुपातमा १ करोड ७९ लाख ८१ हजार २११ कित्ता हकप्रदका लागि निवेदन दिएको छ, जुन अहिले पनि बोर्डको पाइप लाइनमा यथावत् छ। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।