एमजीका नयाँ दुई एसयूभी सार्वजनिक हुँदै, नेपालका सडकमा कहिलेसम्म गुड्लान ?

Feb 21, 2026 10:59 AM merolagani



यस वर्ष भारतीय बजारमा नयाँ दुईवटा मोडेलका एसयूभी सार्वजनिक हुने भएका छन् । जेएसडब्लू एमजी मोटर कम्पनी इन्डियाका अनुसार, एमजी म्याजेस्टर र वुलिङ्ग स्टारलाइट ५६० मोडेलमा आधारित प्लग इन हाइब्रीड गाडी सार्वजनिक हुने भएका हुन् ।

आगामी सन् २०२६ अप्रिलसम्म भारतीय बजारमा बिक्रीका लागि उपलव्ध हुने कम्पनीको दाबी छ । अहिले भारतीय बजारमा कम्पनीले लन्च हुन लागेका ती गाडीको प्रि–बुकिङ समेत खुलाइसकेको छ । कम्पनीकाअनुसार, गाडी खरिद गर्ने ग्राहकले ४१ हजार रुपैयाँ रकम टोकन बराबर खरिद गरेर एमजी म्याजेस्टर गाडी प्रिबुकिङ गर्न सकिने व्यवस्था गरेको छ ।

अपरोडका लागि निकै उपयोगी मानिने यो गाडी २.० लिटर टर्बोचार्जड डिजेल इन्जिनद्धारा सञ्चालित छ । यसमा ८ स्पीडको टर्क कन्भटर स्वचालित गियरबक्ससँग जोडिएको उक्त इन्जिनले २१५ बीएचपीको अधिकतम शक्ति र ४७८ एनएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

एमजी म्याजेस्टरलाई यसको खण्डमा सवैभन्दा ठूलो गाडी भएको दाबी गरिएको छ । यसको लम्बाइ ५०४६ मिमि, चौडाई २०१६ मिमि र उचाइ १८७६ मिमि रहेको छ ।

त्यस्तैगरी, एमजी वुलिङ्ग स्टारलाइट ५६० मोडेलको गाडी पनि परिवर्तीत मोडेलमा सार्वजनिक हुन लागेको छ । एमजी म्याजेस्टर गाडी लन्च हुने मितिमै यो मोडेलको गाडी पनि लन्च हुने कम्पनीको दाबी छ ।

यो गाडी १.५ लिटर प्राकृतिक पेट्रोल इन्जिनमा उपलव्ध हुनेछ । ५ वा ७ सिटे मोडेलमा आउने यो एसयूभी महिन्द्राको एक्सयूभी सेभेनएक्सओसँग मिल्दोजुल्दो डिजाइनमा उपलव्ध हुनेछ । दुवै गाडीको प्रि–बुकिङ समेत खुला भइसकेको छ । यी दुवै गाडीहरु लन्च भएर सन् २०२६ मे महिनाभित्र भारतका विभिन्न सडकहरुमा गुड्ने अपेक्षा गरिएको छ भने सन् २०२६ भित्र नेपालमा समेत भित्रिने गरी तयारी भइरहेको कम्पनीले जनाएको छ ।