एजेण्डाको थुप्रोको बीचमा दुई उद्योगीबीचको भिडन्तले पर्सा-१ मा चुनावी होड रोचक बन्दै

Feb 21, 2026 06:16 PM mero lagani



फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर-१ बाट ३० जना उम्मेदवार छन् ।

ती मध्ये नेकपा एमालेबाट पूर्वमन्त्री प्रदीप यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, नेपाली कांग्रेसबाट अनिल कुमार रूंगटा, जनता समाजवादी पार्टी (जसपा)बाट रामनरेश प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धि प्रसाद पन्त (हरि) उम्मेदवार छन् । चुनावमा कस्ले जित्ला ? अहिले नै अनुमान गर्न गाह्रो छ । तर, तीमध्ये रुंगटा र पन्तको प्रतिस्पर्धाले भने पर्सा-१ लाई विशेष महत्वको बनाइदिएको छ ।

त्यसको पछाडिको खास कारण हो-उनीहरु दुवै जना उद्योगी हुनु । ४६ वर्षीय पन्त सर्लाहीमा जन्मिए पनि लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै व्यावसायिक गतिविधिमा संलग्न छन् । वीरगन्जमा उनका क्लासिक होटल र कन्ट्री इन होटल नामक दुईवटा होटल सञ्चालनमा छन् । उनी होटल तथा पर्यटन व्यवसायी हुन् । होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका अध्यक्ष रहिसकेका पन्त उद्योग वाणिज्य संघलगायतका व्यवसायीक संघसंस्थामा सक्रिय छन् । पन्त पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

उता, रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन उद्योग मुख्यतः स्टिल र पाइप उत्पादनमा सक्रिय छ । साथै, सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष रुंगटा एमएस वायर नेट उत्पादन तथा आपूर्ति गर्ने जगदम्बा मेटल क्राफ्ट्सका मालिक समेत हुन्।

व्यवसायिक रूपमा उनको परिवार विशाल हार्डवेयर, विशाल सप्लायर्स र स्टील वुड इन्टरप्राइजेजसँग आबद्ध छ । स्टील वुड नेपालभर आइरन र स्टील आपूर्तिमा संलग्न रहेको छ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा संघीय समाजवादीका प्रदीप यादवसँग ४ हजार ६५१ मतको अन्तरले पराजित भएका थिए । उक्त चुनावमा प्रदीप यादवले २१ हजार १३२ मत ल्याउँदा रुंगटाले १६ हजार ४८१ मत प्राप्त गरेका थिए । यादव अहिले नेकपा एमालेबाट उम्मेदवार छन् ।

२०७९ को निर्वाचनमा उनी २२ हजार ५ सय ३७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनको समयमा उनी जसपा नेपालमा थिए। जसपा नेपालसँग चुनावी तालमेल गरेका कारण एमालेले त्यति बेला उम्मेदवार उठाएको थिएन। २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जनता समाजवादी पार्टीमा गएका थिए।

बीरगञ्ज महानगरपालिकाका वडा नं. २, ४, ५, ७, ८, ११–१६, १८, २०–२३, ३०–३२ समावेश रहेको यो निर्वाचन क्षेत्रको मुख्य चुनावी एजेण्डा र प्राथमिकता सडक र यातायात, बिजुली र स्वस्थ्य खानेपानी, सहज उच्च शिक्षा, कृषि उत्पादन आदी हुन् ।

यो क्षेत्रको ठूलो भाग बीरगन्ज महानगरभित्र पर्ने भएकाले मुख्य सडक, व्यापारिक मार्ग र सिमानासँग जोडिएका भए पनि भित्री टोलरबस्तीका सडकमा वर्षायाममा हिलो, ढल निकास समस्या र मर्मत अभाव देखिन्छ। त्यस्तै शहरी क्षेत्रमा बिजुली पहुँच राम्रो भए पनि लोड व्यवस्थापन र तार व्यवस्थापन चुनौतीपूर्ण देखिदैँ आएको छ । अधिकांश वडामा भूमिगत खानेपानीको स्रोत भए पनि शुद्ध खानेपानी र ढल व्यवस्थापन दीर्घकालीन समस्या रहँदै आएको छ । त्यस्तै गुणस्तरिय प्राविधिक शिक्षालयहरु र अस्पतालहरु छैनन् । त्यसैले स्थानीयवासी उच्च शिक्षाको लागि या त काठमाडाैं या त भारत जानु पर्ने अवस्था छ भने उपचारको लागि अधिकांश स्थानीय वासिन्दा भारतीय अस्पतालहरुमा निर्भर छन् ।

बीरगञ्ज नेपालकै मुख्य औद्योगिक तथा व्यापारिक नाकामध्ये एक हो, त्यसैले यहाँ ठूला तथा साना तथा मध्यम उद्योग, भन्सार, ढुवानी, थोक–खुद्रा व्यापार निकै फस्टाएको छ । तर, सबै प्रकारका उद्योगीहरु अनेकौं समस्याबाट पीडित छन् ।

त्यस्तै शहरी क्षेत्र भए पनि यहाँ प्रशस्त धान, गहुँ, तरकारी उत्पादन हुन्छ। तर शहरीकरणका कारण कृषि जमिन घट्दै गएको चिन्ता छ। त्यस्तै युवा रोजगारीदेखि, फोहोर व्यवस्थापन, ढल निकाससम्मका समस्याहरु छन् । र, सबै उम्मेद्वारहरुले तिनै समस्याहरुलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । तर, दीर्घकालीनरुपमा समस्या समाधान कस्ले कसरी गर्छ ? त्यसको भरपर्दाे स्रोत दिन कुनै पनि उम्मेदवारले सकेका छैनन् । त्यसैले गर्दा मतदाता अन्योलमा देखिएका छन् । यो क्षेत्रमा ८९,६३८ मतदाता रहेका छन् ।