बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल

Feb 26, 2026 01:53 PM merolagani



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन्। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीवार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

उनले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गरे । उनले नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डहरु परम्परागत नीतिका कारण अझै सञ्चालन भइरहेको उल्लेख गरे ।

पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए । उनकाअनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यवसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ ।

उनले भने, ‘कतिपय हाम्रा नियमक निकायहरु नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डले परम्परागत हिसावले बनाईएको नितिका कारण चलिरहेका छन् । सोही कारण बैंक तथा वित्तीय क्षेत्रले जुन हिसावले आफ्नो व्यवसाय बढाउन सक्ने हो त्यो अनुसार भएको छैन । फाईनान्सियल रुपमा क्षमतावान हुँदाहुँदै पनि कतिपय पुराना नीतिका कारण जति व्यवसायिक गतिविधि बढाउन सकिन्थ्यो त्योअनुसार नसकेको अवस्था छ । हामी क्षमताको हिसावले सक्षम छौँ भने नेपालमा मात्रै यसको दायर बनाउनुपर्छ भन्ने छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसको नियमन राम्रो गर्नुपर्छ । यसले नेपालको अर्थतन्त्रमा नै योगदान हुने भएकोले सोहीअनुसार कानून बनाउनुपर्छ । बीमा कम्पनीहरुलाई नियामक निकायले हेर्ने एउटै दृष्टिकोण छ, त्यस्तो हुनु हुँदैन । चाहे बीमा प्रवर्द्धकका सञ्चालन अवथा बैंक तथा वित्तीय संस्थाका सञ्चालन भनौँ, यिनीहरु सबैले नाफा मात्रै खान खोज्छन्, यिनीहरुमा गलत मनशाय छ भन्ने देखिन्छ, त्यो कदापी होइन । कुनै एक जना व्यक्तिले बदमासी गर्यो भने त्यो एक व्यक्तिले गरेको व्यक्तिगत बदमासीलाई सही हिसावले बढाउन लागेको व्यवसायिक संस्था वा उनीहरुले बढाउन लागेको गतिविधि छ, त्यसमा पनि लगेर जोडिदिने चलन छ । त्यो गलत छ । नेपालभन्दा बाहिर व्यवसायिक गतिविधि बढाउनको लागि पनि नीतिहरु परिवर्तन गरेर बीमा कम्पनीहरुलाई विदेशमा गतिविधि बढाउने वातावरण तयार पार्न आवश्यक छ । यसमा बीमा प्राधिकरण काम गर्नेछ भन्ने विश्वास पनि लिएको छु । आर्थिक गतिविधि बढाउन सकियो भने त्यसले रोजगारी सिर्जना गर्न, राजश्वमा वृद्धि गर्न ठूलो योगदान हुन्छ ।’

अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानून तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहोर्याए । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीवार आफ्नै नवनिर्मित भवनको उद्घाटन गरी सेवा सुभारम्भ गरेको छ ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।