बढ्दो ऊर्जा मूल्य र ढुवानीमा संकट, मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रलाई कसरी पुर्‍याउन सक्छ क्षति ?

Mar 08, 2026 04:40 PM merolagani



विश्लेषण: हन्ना जियादी र जोन लिउ (सीएनएन, लन्डन)

विगत एक वर्षदेखि व्यापारिक अवरोध र भन्सार शुल्कको मार खेपिरहेको विश्वव्यापी अर्थतन्त्रका लागि मध्यपूर्वमा जारी द्वन्द्व एउटा ठुलो परीक्षा साबित हुने देखिन्छ।

यस क्षेत्रमा पछिल्लो अशान्ति सुरु भएको एक हप्ता पनि नबित्दै विश्व व्यापारका मुख्य धमनीहरूमा दबाबका सङ्केतहरू देखिन थालेका छन्। भारतका बन्दरगाहहरूमा बासमती चामलको निर्यात रोकिनुदेखि कृषि उत्पादनका लागि अत्यावश्यक मलको मूल्यमा भएको वृद्धिले यसको गम्भीरता पुष्टि गर्छ। यदि यो युद्ध लम्बिएर ऊर्जाको मूल्य उच्च रहिरह्यो भने यसले विश्वभर मुद्रास्फीति (महँगी) बढाउनेछ। फलस्वरूप, बैंकहरूले ब्याजदर घटाउन पाउने छैनन्, जसको प्रत्यक्ष मार ऋण लिने उपभोक्ताहरूमा पर्नेछ। अर्कोतर्फ, कार्गो जहाजहरूमाथिको खतराले आपूर्ति शृङ्खला अवरुद्ध पार्दा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अझै बढ्ने जोखिम छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अधिकारीहरूका अनुसार, मध्यपूर्वमा बढ्दो तनावले आर्थिक वृद्धि र मुद्रास्फीति जस्ता सूचकहरूमा ठुलो प्रभाव पार्न सक्छ। यद्यपि, यसको गम्भीरता युद्ध कति समयसम्म लम्बिनेछ भन्ने कुरामा निर्भर गर्दछ।

इजरायल र इरानबिचको तनाव बढ्नुअघि आइएमएफले यस वर्ष विश्वव्यापी अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो। कोषले हालसम्म आफ्नो दृष्टिकोण परिवर्तन नगरे पनि परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ। उसले व्यापारमा अवरोध, ऊर्जाको मूल्यमा उछाल र वित्तीय बजारमा अस्थिरता हुनसक्ने चेतावनी दिएको छ।

ऊर्जाको मूल्य: सङ्कटको मुख्य कडी

विश्व अर्थतन्त्रमा यो द्वन्द्वको सबैभन्दा ठुलो प्रभाव ऊर्जाको मूल्यमार्फत पर्न सक्छ। आपूर्तिका कारण यसै हप्ता तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क 'ब्रेन्ट क्रूड' को मूल्य विगत १८ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यहाँ सबैभन्दा ठुलो जोखिम 'स्ट्रेट अफ होर्मुज' बन्द हुनु हो। यो जलमार्ग मध्यपूर्वको तेल र प्राकृतिक ग्यास विश्व बजारमा पुर्‍याउने एक मात्र प्रमुख बाटो हो। इरान र ओमानको बीचमा रहेको यो साँघुरो जलमार्गबाट दैनिक विश्वव्यापी तेल र ग्यास उत्पादनको झण्डै २० प्रतिशत हिस्सा ढुवानी हुने गर्छ।

गोल्डम्यान स्याक्सका अनुसार, यदि यो मार्ग दुई महिनासम्म अवरुद्ध भएमा प्राकृतिक ग्यासको मूल्य युद्धअघिको तुलनामा दोब्बर हुन सक्छ। युरोपमा यसको असर अझ बढी देखिन सक्छ। बेरेनबर्ग बैंकका अनुसार यदि द्वन्द्व महिनौँसम्म जारी रहे युरोपेली संघको मुद्रास्फीति एक प्रतिशतले बढ्न सक्छ भने आर्थिक वृद्धि दरमा आधा प्रतिशतले गिरावट आउन सक्छ। 

पम्पहरूमा इन्धनको मूल्य बढ्न सुरु भइसकेको छ। जर्मनी र बेलायतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ भने अमेरिकामा यो विगत ११ महिनाकै उच्च विन्दुमा पुगेको छ। इन्धनको यो वृद्धिले महँगी बढाउने र केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर कटौती गर्न कठिन बनाउने निश्चित छ।

एसियाली मुलुकहरूका लागि यो झनै चिन्ताको विषय हो। 'स्ट्रेट अफ होर्मुज' बाट जाने ८० देखि ९० प्रतिशत तेल र ग्यास एसियाली मुलुकहरू, विशेष गरी चीनमा जान्छ। दशककै कमजोर आर्थिक वृद्धिदरको लक्ष्य राखेको चीनका लागि यो युद्ध थप चुनौती बन्न सक्छ।

आपूर्ति शृङ्खलामा अवरोध र खाद्य सङ्कट

ऊर्जा बाहेक एसियाली अर्थतन्त्रहरू निर्यातमा आउने अवरोधले पनि थला पर्न सक्छन्। भारतमा यसको असर देखिन थालिसकेको छ। अखिल भारतीय चामल निर्यातकर्ता संघका अनुसार, युद्धका कारण मध्यपूर्व जाने ढुवानी मार्गहरू असुरक्षित भएपछि करिब ४ लाख मेट्रिक टन बासमती चामल बन्दरगाह र बाटोमै रोकिएको छ। भारतको कुल बासमती निर्यातको ७५ प्रतिशत हिस्सा मध्यपूर्वमै जाने गर्छ।

खाद्य सुरक्षाको दृष्टिकोणले अर्को चिन्ताको विषय 'मल' हो। विश्वमा प्रयोग हुने 'युरिया' मलको निर्यातको एक-तिहाइ हिस्सा यही 'होर्मुज' जलमार्ग हुँदै जान्छ। यरा इन्टरनेशनलका सिइओका अनुसार, विश्वको आधा खाद्य उत्पादन मलमा निर्भर छ। यसै हप्ता इजिप्टको युरियाको मूल्य ३५ प्रतिशतले बढिसकेको छ भने मल बनाउन चाहिने सल्फरको मूल्यमा पनि वृद्धि भएको छ।

हवाई कार्गो र ढुवानीमा ढिलाइ

युद्धका कारण जहाजहरूले आफ्नो मार्ग परिवर्तन गर्नुपर्दा ढुवानीमा ढिलाइ र लागतमा वृद्धि भइरहेको छ। भारतका बन्दरगाहहरूमा कन्टेनरहरूको चाप बढ्न थालेको छ। हवाई यातायात पनि अछुतो छैन। एमिरेट्स, कतार एयरवेज र इतिहाद जस्ता एयरलाइन्सले विश्वको १३ प्रतिशत हवाई कार्गो क्षमता ओगट्छन्। हवाई क्षेत्रमा लगाइएका प्रतिबन्धका कारण स्मार्टफोन, माइक्रोचिप र इलेक्ट्रोनिक्स जस्ता महँगा वस्तुहरूको आपूर्तिमा ढिलाइ हुन थालेको छ। एडिडास जस्ता ठूला कम्पनीले आफ्ना सामान ढुवानीमा ढिलाइ हुन सक्ने चेतावनी दिइसकेका छन्।

समग्रमा, मध्यपूर्वको यो द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलामा अनिश्चितता पैदा गरेको छ। ढुवानी मार्गहरू घण्टैपिच्छे परिवर्तन भइरहेका छन्, जसले गर्दा उत्पादकदेखि उपभोक्तासम्म सबैले महँगी र अभावको सामना गर्नुपर्ने जोखिम बढेको छ।

 (नयाँ दिल्लीबाट दीपक राव र बर्लिनबाट सेबास्टियन शुक्लाको सहयोगमा तयार पारिएको रिपोर्ट)




नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM

मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।