चुनाव र सांसदको कार्यशैली, अहिलेका ‘नानीमैयाहरु’ले उहिलेकी ‘नानीमैया’सँग सिक्नु पर्ने पक्ष

Mar 10, 2026 10:49 AM mero lagani



बाबुराम ढकाल

मैले जीवनमा दुई पटक नानी मैंया दाहाललाई भेटें । त्यो पनि कुनै योजना वा कामको लागि होइन, संयोगवस मात्रै ।

पहिलो पटक भेट्दा नै मैले आफ्नो छुच्चो स्वभावको परिचय दिँदै प्याट्ट सोधेको थिए- तपाई नेपालको विकृत राजनीतिको एउटा मिथक जस्तो बन्नु भएको छ, कस्तो लाग्छ ?

उनले पनि आफ्नै शैलीमा जवाफ दिएकी थिइन्- 'जनताको समस्या समाधानको लागि गरेर मन्त्री र उच्च तहका कर्मचारीहरुसँग हाकाहाकी कुरा गर्ने भएकोले उनीहरुले मेरो त्यस्तो छवि बनाइदिए । कुनै लोभ लालचमा नपरी जनताको समस्या समाधानको लागि सक्रिय रहने भूँई मान्छेहरुलाई सिंहदरबार भित्र बाहिरका ‘इलिटहरुले’ बदनाम गर्ने अरु कुनै निहुँ नपाएपछि यस्तै यस्तै वाहियात आरोप लगाएर बदनाम गर्छन् । नेपालमा कुरा काट्ने जमात कहाँ कम छ र ? तर म कति पनि सहन्नथेँ । कतिलाई त पिटपाट गरेरै ठीक पारेकी थिए । त्यसैले मानिसहरु मसँग डराउँथे ।'


पञ्चायतकालका शक्तिशाली नेता जोगमेहर श्रेष्ठलाई २०३८ सालको निर्वाचनमा पराजित गरेपछि नानीमैयाको चर्चा देश विदेशमा फैलिएको थियो ।

कतिपयले उनलाई पञ्चायतलाई सबक सिकाउन पञ्चायतइतर राजनीतिक शक्तिहरुले चुनावमा उठाइएको ‘उटपट्याङ’ पात्रको रूपमा समेत चित्रण गर्ने गरेका थिए । औपचारिक होस वा अनौपचारिक कार्यक्रमहरु हुन्, भूमिका नबाँधी सिधै बोल्ने र आफूले उठाएका जनताका समस्या समाधान नभए ‘अराजनीतिक भाषा’मा उच्च पदस्तहरुलाई धम्की दिने उनको शैली आशिका तामाङलगायतका अहिले चुनाव जितेका कतिपय पात्रहरुसँग ठ्वाक्क मेल खान्छ । सांसदकोरुपमा आशिका (र,आशिकाहरु)ले कस्तो काम गर्लान्, अहिले नै भन्न सकिदैन । तर, नेपाली राजनीतिमा आशिका तामाङहरुलाई नानीमैया दाहालहरुको उत्तराधिकारीभन्दा फरक पर्दैन ।

नानीमैंया विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च भइन् । त्यतिवेला मणिराम चालिसे प्रधानपञ्च थिए । उपप्रधानपञ्च भए पनि उनी प्रधानपञ्च भन्दा सक्रिय थिइन । जनताका हरेक समस्यालाई आफ्नै समस्या ठानेर समाधानको लागि दौडिन्थिन ।

उपप्रधानपञ्च भएपछि पनि उनले थुप्रै सुधारका काम गरिन् । एक माना तेल र नुनका लागि साल्ट ट्रेडिङमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गरिन् । उनको दबाबपछि बल्ल नुन सामान सर्वसुलभ पाइन थालेको थियो ।

यो त एउटा उदाहरण हो, यस्ता धेरै छन् । जस्तो कि कपनको एउटी गरिबकी छोरीको बलात्कारपछि बच्चा जन्मियो । तर, गुपचुप राख्न खोजे । मिलाउन खोजे पछि उनले आफै उजुरी दिइन । तर, चाहिँदा नचाहिँदा प्रश्न सोधेर बारम्बार न्यायाधीशले उल्टै गरिब केटीलाई हप्काए । त्यही दिन उनले आफूले बोकेको छाताले ती न्यायाधीशलाई हानिदिइन । त्यसपछि त्यही दिन न्यायाधीशले न्वारान पनि गर्नु, मानाचामल पनि दिनु, अंश पनि दिनु भनेर मुद्दा जिताइदिए । ती केटीले न्याय पाइन ।

नानीमैंयाले यस्ता धेरै काम गरिन् । जसले जनताको बीचमा लोकप्रिय बनायो । तर ‘इलिट’हरुको बीचमा उनी अराजक पात्रको स्थापित भइन् । खिसिट्युरीको पात्र बनिन् ।

‘मानिसलाई आफ्नो हैसियतभन्दा माथिको पद र पैसाको भोकले विगार्ने हो । म आफ्नो हैसियत के हो भन्नेमा जहिले पनि प्रष्ट रहें, त्यसैले पटक पटक मन्त्री बन्ने प्रस्ताव आउँदा म मन्त्री बन्न जन्मेकै होइन भन्दै अस्वीकार गरिदिएँ,’ झण्डै डेढ दशकअघि कृषि मन्त्रालयमा भएको भेटमा उनले भनेकी थिइन् ।

मानिस जन्मदै उसकाे हैसियत स्पष्ट हुन्छ भन्ने उनको एउटा गज्जबको मान्यता र तर्क थियो । उनले भनेकी थिइन्-कतिपय मान्छे वर्षाैंसम्म वडा अध्यक्ष हुन्छ त्यहाँ भन्दा माथि जाँदैन, उ त्यसैमा हुन्छ । कतिपय मान्छे पटक पटक प्रधानपञ्च (अहिलेको सन्दर्भमा पालिका अध्यक्ष) हुन्छ र उ त्यसैमा रमाइरहेको हुन्छ, उ त्यहाँ भन्दा माथि जादैन । त्यस्तै कतिपय मान्छे धेरै वर्ष सांसद हुन्छ तर मन्त्री हुँदैन । र, पनि रमाइरहेको हुन्छ । मान्छेले आफ्नो हैसियतभन्दा माथिको पद नताकेपछि भ्रष्ट बन्नबाट पनि जोगिन्छ, जनताको माया पाउनबाट पनि बन्चित हुँदैन । ‘त्यहीकुरा बुझेकोले म मन्त्री बन्ने प्रयास गरिन्, आएका प्रस्ताव पनि स्वीकार गरिन र जीवनभर जनताको नेता बनिरहें,’ उनले भनेकी थिइन् ।

नानीमैया संसदमा कसरी कुरा उठाउँथिन् भन्ने कुरा २०४० सालको राष्ट्रिय पंचायत बैठकमा उनले बाचन गरेको यो कविताले देखाउँछः

झल्लरे भोटो, त्यही पनि छोटो, मैलो अघोर
चार हाते खाडी, पटुकी बाँधी लौरी टेकेर
घाममा जान्छौँ, घाममा सुत्छौँ, डढाई शरीर 
यो विश्व ब्रह्माण्ड तिमी नै रछौ, बिचरा गरिब
घर छैन छाप्रो रुखमुनि बस्छौ, के खान्छौ ए भाइ  ?
कसले गर्छ माया र दया गरिबलाई ?

यही कविताबाचनसहित आफूले निरन्तररुपमा दबाब दिएपछि सरकारले नयाँ भुमिसुधार व्यवस्था लागू गरेको उनले दावी गरेकी थिइन ।

नानीमैंया दाहाल अहिले छैनन् । उनी वितेको झण्डै २ वर्ष भएको छ । तर, उनलाई काठमाडाैंका बासिन्दाहरुले मात्र होइन, नेपाली राजनीतिको बारेमा चासो राख्ने कसैले पनि विर्सन सकेको छैन, सम्भवतः अझै लामो समय कसैले विर्सन सक्दैन ।

अहिले ‘नानीमैंया स्टाइल’मा भूँई मान्छेहरुसँग काम गरेकी आशिका तामाङले चुनाव जितेकी छन् । भूईं मान्छेहरुका आवाज उठाउँदै सामाजिक संजालमा लोकप्रिय रहेकी उनले राजेन्द्र पाण्डेजस्तो राजनीतिका घाघडान नेतालाई सहजै पराजित गरिदिएकी छन् । सांसदकोरुपमा उनले कस्तो काम गर्लिन् ? त्यो अहिले नै भन्न सकिदैन ।

एउटा कुरा भने स्पष्टै छ ‘नानीमैंया शैली’मा उदाएकी उनी (र,उनी जस्तै अन्य केही पात्रहरु) नानीमैंयाकै शैलीलाई पछ्याउँदै जनताका समस्यालाई नै सर्वाेपरि कर्तव्य ठानेर काम गरिरहिन् भने उनी वास्तविकरुपमा जनताको प्रतिनिधि हुनेछन् । अन्यथा नानीमैंयाले भनेझैं मन्त्री बन्ने चक्करमा, अरु सेवा सुविधाको चक्करमा लागिन भने उनी वास्तविकरुपमा नानीमैंया दाहालको उत्तराधिकारी होइन, राजनीतिको चटके पात्र (जुन अहिले उनको छवि छ)को रुपमा मात्र स्मरण गरिनेछन् र अर्काे चुनावमा उनी अहिले जसरी जितेकी छन्, त्यो भन्दा नराम्रोसँग पराजित हुनेछन् र उनी (र, उनी जस्तै अन्य पात्रहरु) इतिहासका जोकरको रुपमा सिमित हुनेछन् ।

नेपालमा मन्त्री र सांसद त कति भए कति ? तर, साढे ४ दशक पछि पनि नानीमैंया दाहाल नेपाली राजनीतिक वृतले जवर्जस्त सम्झनु पर्ने नाम किन बनिरहेको छ ? यत्तिकुरा बुझे अहिलेका ‘नानीमैंया’हरु राजनीतिमा सफल हुनेछन्, अन्यथा कुरो गर्यो, कुरैको दुख भने जस्तो बिडम्बना दोहोरिनेछ ।

 

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।