तर,आज (मंगलबार) बजार खुल्ने बित्तिकै केही सकारात्मक सङ्केत देखिए पनि दिनभरको उतारचढावपछि अन्ततः घटेर बन्द भयो। यस बिचमा कारोबार रकम (भोल्युम) मा आएको ऐतिहासिक उछालले आगामी दिनमा बजार कुन दिशामा जाला भन्नेमा लगानीकर्ताहरूमा चासो र चिन्ता बढेको छ।
निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार नेप्से बजार खुल्ने बित्तिकै तीव्र रूपमा बढ्न थाल्यो। सुरुवाती केही क्षणमै बजार ४ प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भयो। यो ब्रेकपछि बजार पुनः खुल्दा पनि बढ्ने क्रम रोकिएन र फेरि ५ प्रतिशतले बढेपछि अर्को सर्किट हल्ट भयो। अन्ततः तेस्रो पटक बजार खुल्दा ६ प्रतिशतले बढेपछि पुरै दिनका लागि कारोबार स्थगित गरियो। यसले निर्वाचन परिणामपछि लगानीकर्ताहरूमा ठुलो सकारात्मक भावना आएको सङ्केत गर्यो। यसरी बजार बढ्नुमा राजनीतिक स्थिरताको अपेक्षा, नयाँ सरकारले अर्थतन्त्र सुधारका कदम चाल्ने विश्वास र विगतमा बजारमा आएको गिरावटपछि अब 'बटम आउट' भयो भन्ने मनोविज्ञानले काम गर्यो। यद्यपि, धेरै लगानीकर्ताहरूले यो तीव्र वृद्धिको लाभ लिन पाएनन्। किनकि बजार छोटो समयमै बन्द भयो।
तर आज (मंगलबार) प्रि-ओपन सेसनमा नेप्से करिब ३५.९३ अंकले बढेर सकारात्मक सुरुवात गर्यो। तर, नियमित कारोबार सुरु भएदेखि नै बजार घट्दो क्रममा लाग्यो। दिनभर बजारमा उतारचढाव रह्यो, कहिले बढ्ने त कहिले घट्ने क्रम चलिरह्यो। अन्ततः, बजार ३२.०८ अंकले घटेरै बन्द भयो। सोमबारको तीव्र वृद्धिपछि आजको गिरावटले लगानीकर्ताहरूलाई केही निराशा बनाएको छ। किनकि लगानीकर्ताहरू अझै केही दिन बजार बढ्नु पर्छ भन्ने अपेक्षामा थिए। सोही कारण उनीहरू थोरै निराश हुन पुगेका हुन्।

यद्यपि, आजको कारोबारमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको कारोबार रकम (भोल्युम) मा आएको कीर्तिमानी उछाल हो। गएको जुलाई २० तारिख अर्थात् गत साउन ५ गते २१ अर्ब ४५ करोडको कारोबार भएको थियो। त्यसयता आज यति ठुलो रकमको शेयर कारोबार भएको छ। यसले के देखाउँछ भने सोमबार कारोबार गर्न नपाएका लगानीकर्ताहरू आज सक्रिय भएका छन्। तीव्र गतिमा बढ्न नसके पनि बजारमा ठुलो मात्रामा शेयर किनबेच भएको छ। जसले लगानीकर्ताहरूको सक्रिय सहभागिता र बजारमा पैसाको प्रवाह बढेको सङ्केत गर्दछ।
नेप्से चार्टको विश्लेषण गर्दा, नेप्सेले लामो समयदेखि २६०० देखि २७०० को बिन्दुमा 'रेजिस्टेस' सामना गरिरहेको थियो। सोमबारको उछालले यो रेजिस्टेंसलाई तोड्न सफल भयो। जुन प्राविधिक रूपमा एक सकारात्मक सङ्केत थियो। चार्टमा गत अगस्टको उच्च बिन्दु ३००० भन्दा माथि र जुलाईको उच्च बिन्दु २९५० वरपरको 'रेजिस्टेंस' क्षेत्रलाई हालसालैको वृद्धिले छोएको छ। तर फेरि आजको गिरावटले यो क्षेत्रमा केही दबाब देखिएको छ।
चार्टमा 'क्यान्डलस्टिक' प्याटर्न हेर्दा, सोमबारको ठुलो हरियो क्यान्डलले खरिद चाप अत्यधिक भएको देखाउँछ। तर, आजको रातो क्यान्डलले बजारमा 'सेलिंग प्रेसर' (बिक्री दबाब) बढेको सङ्केत गर्दछ। 'भोल्युम बार' मा आएको ठुलो वृद्धिले आज धेरै शेयर किनबेच भएको देखाउँछ। जुन सामान्यतया बजारको 'ट्रेन्ड रिभर्सल' मा पनि देखिन्छ। यदि बजार घट्दो क्रममा छ र ठुलो भोल्युममा कारोबार हुन्छ भने यसले 'बटम आउट' को सङ्केत दिन्छ। तर यदि बजार बढ्दो क्रममा छ र ठुलो भोल्युममा गिरावट आउँछ भने यसले 'टप आउट' को सङ्केत दिन्छ। यस सन्दर्भमा, सोमबारको वृद्धि र आजको गिरावट तथा उच्च भोल्युमले बजारको दिशाबारे अहिले नै स्पष्ट सङ्केत गरिसकेको छैन। अझै पनि बजार कता जान्छ ? भन्ने अन्योल कै अवस्था सिर्जना गरेर बजार बन्द भएको छ।
आजको गिरावटलाई सामान्य 'करेक्सन'को रूपमा लिएर बजार पुनः बढ्ने क्रममा फर्कन सक्छ। विशेष गरी, यदि बजारले २८०० को बिन्दुलाई सपोर्टको रूपमा कायम राख्न सफल भयो भने आगामी दिनमा बजारले थप उचाइ लिने सम्भावना धेरै छ। उच्च भोल्युममा भएको आजको कारोबारले नयाँ लगानीकर्ताहरू प्रवेश गरेको वा पुराना लगानीकर्ताहरूले थप लगानी गरेको सङ्केत गर्दछ। जसले भविष्यमा बजारलाई माथि धकेल्न सक्छ। निर्वाचनपछिको राजनीतिक स्थिरताको अपेक्षाले लगानीकर्ताहरूमा थोरै भए पनि दीर्घकालीन विश्वास जगाएको छ।
तर सोमबारको तीव्र वृद्धि 'शॉर्ट-टर्म गेन'को लागि मात्र थियो र आजको गिरावट 'प्रफिट-बुकिङ'को परिणाम हो भन्ने तर्क गर्नेहरू पनि छन्। त्यस्तो अवस्थामा बजारले २८०० को सपोर्ट बिन्दुलाई तोडेर तल झर्छ थाल्यो भने, यसले थप गिरावटको सङ्केत गर्ने छ। समग्रमा निर्वाचनपछिको शेयर बजारले लगानीकर्ताहरूमा ठुलो अपेक्षा जगाएको छ। सोमबारको सर्किट हल्ट हुने गरी आएको उछालले सकारात्मक सङ्केत दिए पनि आजको गिरावट र कीर्तिमानी कारोबार रकमले बजारको दिशाबारे अन्योल सिर्जना गरेको छ। जुन अन्योल आगामी दिनको कारोबारले चिर्दै जाने छ।