सर्किट ब्रेकर खुकुलो पार्ने ‘निर्देशन’ को हल्ला निराधार, नियामक निकाय सेबोन र नेप्सेद्वारा खण्डन

Mar 11, 2026 05:33 PM merolagani



पछिल्लो समय शेयर बजारमा सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष र प्रभावकारी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको भन्दै चलेको हल्ला निराधार देखिएको छ। 

समाचार स्रोतहरूले बोर्डले नेप्सेलाई सर्किट सम्बन्धी व्यवस्था पुनरावलोकन गरी सुधारका विकल्पसहित प्रस्ताव तयार गर्न निर्देशन दिएको दाबी गरेपनि, नेप्से र सेबोन दुवैका उच्च अधिकारीहरूले त्यस्तो कुनै औपचारिक निर्देशन नगएको र नआएको स्पष्ट पारेका छन्। यसले बजारमा फैलिएको भ्रमलाई चिर्दै वास्तविक अवस्थाबारे जानकारी दिएको छ।

हालै प्रतिनिधि सभा निर्वाचनपछि खुलेको शेयर बजारमा देखिएको तीव्र उत्साह र पहिलो कारोबारमै ६ प्रतिशतको सर्किट लागेर कारोबार पूर्ण रूपमा बन्द भएपछि सर्किट ब्रेकर प्रणालीबारे चर्को बहस सुरु भएको थियो। सोमबार नेप्सेमा जम्मा १ मिनेट ४५ सेकेन्ड मात्र वास्तविक कारोबार हुन सकेको थियो। यसले गर्दा लगानीकर्तामा बजार खोल्ने समय अपर्याप्त भएको र सर्किट ब्रेकर प्रणाली खुकुलो बनाउनुपर्ने माग बढेको थियो।

यही पृष्ठभूमिमा, सेबोनले सर्किट ब्रेकर खुकुलो बनाउन नेप्सेलाई निर्देशन दिएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचारहरू प्रकाशित भएका थिए। तर, जब यस विषयमा पुष्टि गर्न खोजियो, तब नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले त्यस्तो कुनै निर्देशन नआएको स्पष्ट पारेका छन्। पराजुलीले, “त्यस विषयमा छलफल भएको हुन सक्छ। तर निर्देशन नै त अहिलेसम्म आएको छैन,” भन्दै हल्लाको खण्डन गरे। उनले सर्किट ब्रेकरसम्बन्धी व्यवस्था खुकुलो बनाउन नेप्सेले नै नियम परिवर्तनको लागि सिफारिस गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो कुनै सिफारिस नगरिएको पनि उनले बताए।

यता नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीले पनि निर्देशन दिएको विषय स्वीकार गरेनन्। ती अधिकारीका अनुसार, सेबोन अध्यक्षले एक सञ्चार माध्यमलाई सर्किट ब्रेकर खुकुलो बनाउने आशयको प्रतिक्रिया दिएको भए पनि, त्यसलाई औपचारिक निर्देशनका रूपमा लिन नमिल्ने बताए। उनका अनुसार, बोर्डले दोस्रो बजारमा इन्ट्रा डे, सर्ट सेललगायतका केही नयाँ डेरिभेटिभ प्रडक्ट कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भनेर बोर्डका अधिकारी रुपेश केसीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ। सोही समितिमा यस्ता विषयमा छलफल भएको हुन सक्ने उनको अनुमान छ। तर निर्देशन नै दिएको अवस्था भने नरहेको ती अधिकारीको दाबी छ।

यसरी नियामक निकाय र धितोपत्र बजार सञ्चालक दुवैले सर्किट ब्रेकर खुकुलो बनाउने बारे कुनै औपचारिक निर्देशन नआएको पुष्टि गरेका छन्। यसले बजारमा फैलिएको ‘निर्देशन’ सम्बन्धी हल्ला केवल मिथ्या सूचना भएको प्रमाणित गर्छ।  यद्यपि, बजारमा देखिएको उच्च खरिद चाप र लगानीकर्ताको मनोबलले सर्किट ब्रेकर प्रणालीको प्रभावकारिता र समयसापेक्षतामाथि भने बहस कायमै राखेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।