माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति असार महिनाको तुलनामा २३.३ प्रतिशतले बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा नेपालको विदेशी मुद्रा सञ्चिति २६ अर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । यो सञ्चित रकमले २१.३ महिनाको वस्तु आयात तथा १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड डलर पुगेको छ । २०८२ असार मसान्तमा नेपालसँग १९ अर्ब ५० करोड डलर थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २९ खर्ब २६ अर्ब रहेको छ भने बाँकी बैंक तथा वित्तीय संस्थासँग रहेको छ । राष्ट्र बैंकले कुल विदेशी मुद्रा सञ्चितिमा २१.५ प्रतिशत भारतीय मुद्रा मात्रै सञ्चित गर्ने गरेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
सात महिनासम्म रेमिट्यान्समा देखिएको वृद्धिसँगै मुद्रा सञ्चितिमा समेत वृद्धि देखिएको छ । विश्लेषकहरुका अनुसार मध्यपूर्वमा देखिएको चुनौतीपूर्ण अवस्थाले गर्दा आगामी दिनमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आउने अवस्था रहेको छ। अत्यधिक वैदेशिक रोजगारमा रहेका कामदारहरु नेपाल फर्किन आतुर देखिएका कारण आगामी दिनमा रेमिट्यान्समा गिरावटसँगै मुद्रा सञ्चितिमा देखिएको वृद्धि दरमा समेत ब्रेक लाग्ने विश्लेषकहरु बताउँछन् ।