यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट- काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।
विदाई क्षण भावुक हुँदै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने- ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो । यसले बुध्द एयरको बजार बिस्तार तथा शाख बढाउन दुबैमा ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत- सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए ।
एटीआर कम्पनीका सिनियर भाईस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने- ‘एटीआर कम्पनीले डिजाईन र निर्माण गरेको यो विमान योग्य हातहरु एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो । यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि विदाई गरेको थियो । बुद्ध एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।