अब धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा

Mar 16, 2026 02:11 PM Merolagani



काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ ।

फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०८२ फागुन ९ गतेको मन्त्रीपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए। महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए । उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो । पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको उनले जानकारी दिए । उनकाअनुसार नौ वटा उपकरण भने पहिला नै जडान गरिएका थिए । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘मन्त्रीपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयानुसार फागुन १० गतेदेखि यहाँका पार्किङको व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले लिएको हो । शुरुका दिनमा यहाँ धेरै कुराहरु व्यवस्थित थिएनन्, हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यीथापन गर्यौँ । फायर एक्स्टिङ्विग्सर थिएन, प्रज्वलनशील पदार्थ हुनसक्ने ठाउँमा, सवारी साधन हुने ठाउँमा फायर एक्स्टिङ्विग्सरको आवश्यकता अपरिहार्य थियो । यो तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विग्सर जडान गरेका छौँ । त्यो भन्दा पहिलो ९ वटा गतवर्ष नै जडान गरिएका थिए । सिसिटिभी क्यामेराहरु भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरु हामी थप गर्दै जानेछौँ ।’

उनकाअनुसार धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने उनले जानकारी दिए । उनकाअनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ । सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिए । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ । उनले सवारीको अत्याधिक चाप भएको अवस्थामा भने उक्त तलामा पनि सवारीसधान पार्किङ गर्ने गरिएको उनले जानकारी दिए ।

उनकाअनुसार अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको छ । महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरकाअनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।

उनले भने, ‘यहाँ पार्किङको लागी बि १, बि २ र बि ३ भनेर नामाकरण गरिएको छ । बि १ भनेको सबैभन्दा माथिल्लो तला हो, त्यसमा ४ पाङ्ग्रे १२७ थानको क्षमता छ । त्यो दैनिक प्याक हुन्छ, दोस्रो तल्लालाई बि २ भन्छौ हामी । बि २ मा सात सय थान मोटरसाईकल राख्ने क्षमता छ, त्यो पनि दैनिक प्याक हुन्छ । बेसमेन्टको सबैभन्दा तल्लो तल्ला बि ३ त्यहाँ एयर सर्कुलेसनका केही समस्याहरु भएको कारण सबैको पहुँच त्यहाँ छैन । त्यसलाई पनि संचालन गर्नको लागी हामीले माथी नपुगेको अवस्थामा अस्थायी रुपमा हामीले व्यवस्थापन गर्ने गरेका छौँ । त्यहाँ १३५ वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । आवश्यकता अनुसार ठाउँठाउँमा अपाङ्गमैत्री सवारीसाधनहरुको पनि व्यवस्थापन गर्ने गरिएको छ । अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ संचालनमा ल्याएको हो । त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा ।’

नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । हाल पार्किङ क्षेत्रमा दिनभरी सवारी पार्किङ गरेर राख्ने प्रवृत्ति देखापरेको प्रमुख जोशीले जानकारी दिए । उनकाअनुसार बिहान पार्किङ गरेर बेलुका मात्र निकाल्ने प्रवृत्ति देखिएको छ । यसले सवारी पार्किङमा केही समस्या देखिएको उनको भनाई छ । आगामी दिनमा यसलाई सुधार गर्दै थप प्रभावकारी व्यवस्थापन गरिने उनले जानकारी दिए ।

उनले भने, ‘हामीले निःशुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन । नगरप्रहरी विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन् । आवश्यकताका आधारमा कहिले कहीँ सवारीसाधन लिन नआउने, अबेर आउँदाखेरी ९-१० बजेसम्म पनि हामी पर्खिने गरेका छौँ । हाम्रो समय भनेको बिहान ८ बजे खुलेर बेलुका ५ बजे बन्द हुने हो । बेलुका ५ बजेपछि सवारी निकाल्ने मात्रै हो, पार्किङ लागि ईन हुँदैन, एक्जिट मात्रै हो । यहाँको पार्किङको उद्देश्य मोविलिटी गराईराख्ने हो तर हाल त्यस्तो देखिएको छैन । यो कुरालाई हामी आगामी दिनमा परिमार्जन गरेर लैजान्छौँ । अहिले बिहान आउने सवारी राख्ने र बेलुका निकालेर लैजाने धेरै देखिएको छ । त्यसले गर्दा सबैको पहुँचमा परेको छैन । यद्यपि यहाँ सवारीसधान पार्किङ गर्न नपाएर फर्किन परेको अवस्था छैन । हामीले व्यवस्थापन गरेका छौँ ।’

उनले सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैँले लिनुपर्ने बताए । साथै सवारीसाधन पार्किङ गर्दा अरुलाई असहज नहुनेगरी गरिदिन पनि आग्रह गरे ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।