गैर आवासीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चयन भइरहँदा निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघमा चुनावी रौनक बढेको छ।
काठमाडौँमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। विगतमा दुई ध्रुवमा बाँडिएका डा. बद्री केसी र महेश श्रेष्ठ समूहबिच बृहत् एकता कायम भएसँगै डा. हेमराज शर्मा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन्।अध्यक्ष पदका अन्य प्रत्याशीहरू रोविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि शर्मालाई निर्विरोध हुने बाटो खुलेको हो। महाधिवेशनमा दुवै पक्षबिच ५०/५० प्रतिशतका आधारमा पदाधिकारी बाँडफाँट गर्ने सहमति भएको छ। नयाँ संरचनाअनुसार संघमा एक अध्यक्ष र दुई महासचिव रहनेछन् भने सहमतिकै आधारमा अन्य पदाधिकारीहरूको टुङ्गो लगाउने प्रयास भइरहेको छ।

यता निजी क्षेत्रको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा आगामी चैत २८ र २९ गते काठमाडौँमा हुँदै छ। विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। तर, आगामी कार्यकालको अध्यक्षको लाइनमा रहने 'वरिष्ठ उपाध्यक्ष' पदका लागि भने महासंघभित्र दुई धार स्पष्ट देखिएको छ।
वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष हेमराज ढकाल र व्यवसायी रामचन्द्र संघई आ–आफ्नो प्यानलसहित मैदानमा उत्रिएका छन्। ढकालले कर प्रणाली सुधार, उत्पादनमुखी उद्योगको प्रवर्द्धन र रोकिएको निर्यात अनुदान पुनः सुचारु गर्ने कुरालाई मुख्य एजेन्डा बनाएका छन्। उता, त्रिवेणी समूहका निर्देशक समेत रहेका संघईले रोजगारी सिर्जना र साना–ठुला उद्योगका समस्या समाधानलाई प्राथमिकतामा राखेका छन्। दुवै समूहले प्यानल नै बनाएर चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघमा पनि नयाँ नेतृत्व चयनका लागि चैत १७, १८ र १९ गते २६औँ साधारण सभा तथा १३औँ अधिवेशन हुँदै छ। यसअघि माघमै तय भएको अधिवेशन प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण रोकिएको थियो। राष्ट्रिय निर्वाचन सम्पन्न भएसँगै व्यवसायीहरू महासंघको चुनावमा होमिएका हुन्।
वर्तमान अध्यक्ष रवि सिंहको कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्वका लागि महासंघका सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा (एडी लामा) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। लामाले रोशन दाहाललाई वरिष्ठ उपाध्यक्ष र शिवहरि घिमिरेलाई महासचिवको उम्मेदवार बनाएर प्यानल घोषणा गरिसकेका छन्। उता पाण्डे पक्षबाट पनि मुकेश पन्त, धिरेन्द्र दाहाललगायतलाई समेटेर प्यानल बनाउने तयारी भइरहेको छ। अधिवेशनमा देशभरबाट २ हजारभन्दा बढी निर्माण व्यवसायी र करिब १ हजार २०० मतदाता सहभागी हुँदै छन्।
देशले नयाँ सरकार पाइरहेको र अर्थतन्त्रले शिथिलतालगायतका चुनौतीहरूको सामना गरिरहेको वर्तमान अवस्थामा यी तीन ठुला छाता सङ्गठनहरूको नयाँ नेतृत्वलाई निकै महत्त्वका साथ हेरिएको छ। अब आउने नयाँ सरकारसँग एफएनसीसीआई, निर्माण व्यवसायी र एनआरएनएको नयाँ नेतृत्वले कसरी समन्वय गरेर अघि बढ्छन्। त्यसैले आगामी दिनमा देशको आर्थिक सुधार, पूर्वाधार विकास र वैदेशिक लगानी आकर्षणको दिशा तय गर्ने विश्लेषकहरू बताउँछन्।